‘समाचार र विचारको
साझा चौतारी’






कोशेलीले फेरिएको लेखनाथको जीवन


गोपाल जिटी 
स्याङ्जा। कोशेली हेर्दा सानो ठुलो जस्तो पनि हुनसक्छ तर त्यसको उपयोगिताले महत्वको वोध गराउँछ । त्यही कोशेलीलाई कसरी लिने भन्ने पाउनेको हातमा भरपर्छ । आफ्नै सालीले दिएको केराको एक बोट बिरुवाले स्याङ्जाको गल्याङ ११ दिमीकका लेखनाथ भट्टराईको जीवन फेरिएको छ ।

दशवर्ष अगाडि नजिकैको गाउँ गल्कोट जिमुहा सालीको घरमा गएकाबेला लेखनाथले एक बोट केराको बिरुवा ल्याएर भैंसीगोठ नजिकै सार्नुभयो । त्यही एकबोटबाट फैलिदैंजाँदा तीन चारवर्षमा करिव चारसय बिरुवा छिमेकीहरुलाई समेत दिनुभयो लेखनाथले । फलबाट आम्दानी लिँदै र बिरुवा पनि उत्पादन गर्दैजाँदा आफुलाई केराले रुचाउँदो रहेछ भन्ने महसुस गरायो र व्यवसायिकरुपमा विस्तार गर्ने सोंच आयो । अहिले झण्डै १२ रोपनीखेतमा लेखनाथको केरा बगानले वार्षिक सातलाख भन्दा बढिको आम्दानी दिइरहेको छ । धान गहुँको तुलनामा परिश्रम कम गरे हुने र बाह्रै महिना निरन्तर आम्दानी पनि लिनपाइने भएकाले खुशी हुनुहुन्छ लेखनाथ ।

किसानको छोरो, कृषि पेशा गरेरै हुर्के बढेको हो, तर थप आय आर्जन गर्ने उद्देश्यले केहि समय निर्माणसँग सम्बन्धित ठेक्कापट्टाको काम गर्नुभएको थियो । ठेक्कापट्टाको काममा बाहिरी झण्जट बढी हुने र श्रम पनि धेरै गर्नुपर्ने भएकाले त्यो भन्दा कृषि नै सजिलो लाग्यो । पुख्र्यौली पेशा कृषिलाई सुधारेर आयमूलक केराखेतिको विस्तारसँगै यसैमा रमाउनुभएको छ लेखनाथ ।

घरको वरिपरी भएका केराले राम्रो फलदिन थालेपछि लेखनाथलाई धान रोप्ने खेतमै लगाउने विचार आयो । लटरम्म धान गहुँ फल्ने खेतमा केरा लगाउँन थाल्दा के गर्न लागेको होला भनेर अचम्मित हुने छिमेकीहरुलाई अहिले उहाँको केरा बगानले लोभ्याएको छ । सँधै एउटै खेति गर्नुभन्दा पनि फरक खेति गरेर पनि हेर्नुपर्छ भनेर आँट गरेको लेखनाथले बताउनुभयो । पहिला स्थानीय जातकै केरा लगाउनु भएका लेखनाथले काम गर्दै जाँदा अझ राम्रो फलदिने जातको खोजि गर्नुभयो र कृषि प्राविधिकको सल्लाहमा झापाली मालौ लगाउन थालेपछि उत्पादनमा अझ वृद्धि हुन थाल्यो । फलस्वरुप लेखनाथलाई थप हौसला मिल्दै आयो । पछि ह्वीलिएम हाइव्रिड जातको बिरुवा चितवनबाट ल्याएर लगाउनु भएका लेखनाथले अहिले जी नाइन जातको केरा पनि थप्नु भएको छ । केराखेति सम्बन्धी कुनै तालिम नलिनु भएका लेखनाथले आफ्नै बिचारले गर्दै आउनु भएको हो । काम गर्दैजाँदा अनुभव हुँदै आयो, बेला बेलामा लाग्ने रोग किराको उपचार पनि आफैं गर्नुहुन्छ । एकपाथी धान फल्ने क्षेत्रमा केराको एक बोटमात्र लगाउने हो भने पनि त्यसैबाट चारपाँचवटा बिरुवा निस्कन्छन् भने वार्षिक तीन हजारसम्म आम्दानी गर्न सकिने लेखनाथ बताउनुहुन्छ । आज यही पेशाबाट दुइछोरी र एक छोराको लेखाइ पढाइ सहित विवाहदानका लागि उहाँलाई कुनै समस्या भएन । गरेको खेतिलाई मायाँ गर्न सक्यौंभने उसले पनि हाम्रो मेहनत हेरेर स्यावासी र प्रोत्साहन गर्ने लेखनाथको विश्वास छ ।

केराको साथमा अरु तीन रोपनी जति खेतमा आलुपनि लगाउनु भएको छ । सहयोगीहरुसँगै काम गर्न रुचाउने साठी वर्षीय लेखनाथको परिश्रमले धेरैलाई पाठ सिकाउने अनुभूति गराउँछ । अहिले पचिस क्वीण्टलसम्म आलु उत्पादन गर्ने उहाँको लक्ष्य छ । सम्बन्धित निकायले अब गर्छु भन्नेलाई होइन, गरेकालाई अनुदान दिने गर्नुपर्छ । यसो गर्नसक्यो भनेमात्र ढाँट किसानहरु पाखा लाग्ने लेखनाथको धारणा छ । सम्बन्धित निकायसम्म कृषकहरु धाउन सक्दैनन, किनकि वास्तविक किसानलाई फुर्सदै हुँदैन । झोले किसान तथा एक छिनका लागि गर्ने फुर्सदिलाहरुले अनुदान लगायतका फाइदा लिने गरेका छन् । वास्तविक किसानहरुको खेतबारीमै पुगेर मुल्याङ्कन गर्नुपर्छ ।

जग्गा अनुसारका खेतिपाती गरेर नेपालको हावापानीमा रमाउन अति राम्रो छ । अनावस्यक खर्च तडक भडक नगरेर कृषिकर्ममा दत्तचित्त भएर लाग्ने हो भने भविष्य यहीँ छ कहिँ भौतारिनु नपर्ने लेखनाथको भनाई छ ।krishipatrika/from

प्रतिकृया दिनुहोस्