‘समाचार र विचारको
साझा चौतारी’






फिल्म आर्ट हो, बेच्न राखेपछि कमर्शियल हुन्छ : प्रदीप खड्का


फिल्मीखबर, काठमाडौं, 2021/02/19

यतिबेला अभिनेता प्रदीप खड्का करिअरको उत्कर्षमा छन् । ‘प्रेमगीत’ सिरिज बाहेकका फिल्म नचले पनि उनीमाथिको विश्वासमा कमी आएको छैन । उनको नामले सिनेमा हलसम्म दर्शक तान्न सक्छ भन्ने विश्वासको भरमा निर्माताहरुले करोडौंको लगानी गरिरहेका छन् । स्टारडमसँगै अभिनयको मामलामा पनि केही हदसम्म अब्बल मानिने उनको युवापुस्तामा काइदाको क्रेज छ ।

तर, उनी लभर ब्वाईको भूमिकामा मात्रै सीमित भएका छन् । निर्माता/निर्देशकहरुले पनि उनलाई भिन्न भूमिकामा प्रस्तुत गर्ने जोखिम उठाउन चाहेका छैनन् । जसले गर्दा उनी एउटै समुहका दर्शकको घेरामा अड्किएका छन् । यो एउटा कलाकारका लागि राम्रो होइन । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रकाश’ मा भने उनी अहिलेसम्मकै भिन्न भूमिकामा प्रस्तुत हुँदैछन् ।

फिल्ममा उनी सरकारी शिक्षक बन्न संघर्ष गर्ने जुम्लाको एक निम्न वर्गिय युवकको भूमिकामा देखिँदैछन् । प्रदीपलाई कतिपयले अहिले नै यसप्रकारको फिल्म गर्ने समय नभएको सुझाव दिने गरेका छन् । यसबारेमा उनी भन्छन्, ‘यो फिल्म यस्तो वा त्यस्तो हो भनेर अनुमान गर्ने भन्दा पनि जे गर्न खोजिरहेका छौं, त्यसमा हाम्रो चित्त बुझेको छ । सबैको साथ पायौं भने त्यो सार्थक हुन्छ ।’

उनले फिल्ममा दुई धार नहुने पनि बताएका छन् । ‘फिल्म, संगीत, अभिनय सबै आर्टको फर्म हो । खाली त्यो चिजलाई लगेर बेच्दा कमर्शियल हुन्छ,’ प्रदीप थप्छन्, ‘फिल्ममा दुई धार भन्ने हुँदैन । एउटा आर्ट हुन्छ, त्यसलाई बेच्न राखेपछि व्यावसायिक हुन्छ । त्यसैले एउटै चिज हो, खाली स्टेप मात्र फरक हो । पहिला आर्ट बन्छ र त्यसलाई हामी कमर्शियल भ्यालुमा लगेर तौलिन्छौं ।’

प्रतिकृया दिनुहोस्