‘समाचार र विचारको
साझा चौतारी’






मुर्दा र मुर्दावाद


एस पि लुईटेल
कविता
मुर्दालाई किन मुर्दावाद भनेर जिस्क्याउनु ?
जतिसुकै जिस्क्याए पनि
बिउँझाउन खोजे पनि
उसको मुर्द्याइँ, मुर्दा हुनाको भाव
उसलाई अति प्रिय छ ।
तर, मुर्दालाई थाहा हुन्न
मुर्दाको साथ लागेर हिँड्ने
अरु थप मुर्दाहरु कति छन्
ती मुर्दाका चेतना कति छन्
र, मुर्दाले मुर्दालाई जोगाउन
कति चेतनाले बात मार्छ ।
मुर्दा, त्यसै पनि मुर्दावादै हुन्छ
त्यो भनिरहनु नपर्ने हो
कारण,
मुर्दाले मुर्दाको भाव बुझ्छ
मुर्दाकै पैरवी गर्छ
र, मुर्दालाई नै आफ्नो जीवनको
उदात्त देउता ठानेर
ऊ मरिहत्ते गर्छ ।
त्यसैले, यी सजीव मुर्दाहरु
मुर्दैको भावनामा बहकिएर,
उल्टो पाइला चाल्ने
अगाडि हेरेजस्तो गरेर
पछि पछि सर्ने
प्रतिगामीको नाइके
अचेत र अग्घोर मुर्दालाई
इष्टदेव ठानेर निहुरिएका छन् ।
त्यसैले, मुर्दासँग मुर्दावाद छन
जिन्दावाद भनिने आम मान्छे त
जिन्दावाद भनिनुपर्ने जनहरु त
कर्मका पसिनामा डुबेर
कोरोनाको खाडलबाट बल्ल उठेर
आफ्नो धुरीको धुवाँ हेर्दै छ
आफ्नो आङको चिसो छाम्दै छ
हो, उसको धुवाँ मेरो जिन्दावाद हो,
उसको आङको चिसो जिन्दावाद हो
उसको
भोक, प्यास, निद्रा र श्रम जिन्दावाद हो
न कि,मुर्दाको मुर्दावाद
मेरो रोचक र चाख हो,
त्यसैले भन्छु
मुर्दालाई मुर्दावाद भन्नू भन्दा
मैसँग बाँचीरहेका तमाम
धुरीका धुवाँहरु नै
मेरा खुसीका जिन्दावाद हुन् ।

प्रतिकृया दिनुहोस्