‘समाचार र विचारको
साझा चौतारी’






निश्चलले साइन गरे ‘प्रसाद २’


फिल्मीखबर, काठमाण्डौ, 2021/02/22

‘लभ डायरीज’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । स्क्रिप्टमा लामो छलफलपछि सोमवार उनले फिल्म साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् ।

दुई वर्ष अगाडि प्रदर्शन भएको दिनेश राउत निर्देशित सफल फिल्म ‘प्रसाद’ मा पनि विपिन, नम्रता र निश्चल मुख्य भूमिकामा थिए । यसको सिक्वेलमा निर्देशक परिवर्तन भए पनि कलाकार यथावत रहने भएका छन् । यो फिल्मका लागि तीनै जना कलाकारले मोटो पारिश्रमिक बुझेको चर्चा छ । निश्चलले फिल्म साइन गरेसँगै अब निर्माण टिम छायांकनमा निस्कने तयारीमा जुटेको छ ।

चैत पहिलो साताबाट छायांकन सुरु हुने फिल्मको कथा शुशील पौडेलले लेखेका हुन् । निःसन्तान दाम्पतिको कथामा निर्माण भएको ‘प्रसाद’ मा पनि उनकै कथा थियो । यो फिल्म जहाँबाट सुरु भएको थियो त्यसअघिको कथा र जहाँ अन्त्य भएको थियो त्यसपछिको कथामा ‘प्रसाद २’ निर्माण हुने बुझिएको छ । अर्थात्, निर्माण टिमले फिल्मलाई प्रिक्वेल र सिक्वेलको रुपमा बनाउँदैछ ।

प्रतिकृया दिनुहोस्