‘समाचार र विचारको
साझा चौतारी’






प्रा.माणिकलाल श्रेष्ठको जीवन परिचय


२०७७ चैत्र १५
– श्रीलक्ष्मी श्रेष्ठ

प्राध्यापक माणिकलाल श्रेष्ठको जन्म विसं १९८९ को असोज २७ गते तद्अनुसार ईस्वी संवत् १९३२ अक्टोबर १४, नेसं १०५२ कौलाथ्व १४ (मोहनी चतुर्दशी) को दिन काठमाडौँको थँहिटीमा भएको थियो । उहाँको माताको नाम लक्ष्मीकुमारी र पिताको नाम सुब्बा हीरालाल श्रेष्ठ हो । उहाँ आमाबुबाका माइलो छोरो हुनुहुन्थ्यो ।
उहाँको विवाह सिलु सिंह (सुशिला सिंह) सँग भएको थियो । सिलु सिंह नेपालका प्रथम महिला अधिवक्ता, प्रथम महिला वरिष्ठ अधिवक्ता र सर्वोच्च अदालतका प्रथम महिला न्यायाधीश हुनुहुन्छ । श्रेष्ठका दुई छोरा हुुनुहुन्छ–मखनलाल श्रेष्ठ र सितुलाल श्रेष्ठ । मखनलाल मुटुको शल्यचिकित्सामा पोस्ट ग्राजुएट र विद्यावारिधि हुनुहुन्छ । सितुलाल फेसियल म्याक्सिलरी सर्जरीमा पोस्ट ग्राजुएट र विद्यावारिधि हुनुहुन्छ ।
उमेरले चार वर्ष सकेर पाँच वर्ष टेक्दै गर्दा उहाँलाई महावीर इन्स्टिच्युटमा भर्ना गरियो । सहिद चिनियालाल सिंह र उनका दाजु फत्तेबहादुर सिंहले राणाकालमा त्यो विद्यालय स्थापना गर्नुभएको थियो । देवनागरी लिपि क,ख,ग,घ र रोमन लिपिका अक्षर चिन्न र पढ्न सिकेसँगै उहाँलाई कक्षा १ मा भर्ना गरियो । त्यत्तिबेला उहाँ अक्षर चिन्न र पढ्न जान्ने तर लेख्न भने जान्नुभएको थिएन । दुई–तीन कक्षासम्म उहाँलाई अक्षर लेख्न ज्यादै गाह«ो प¥यो । यद्यपि, तिनताक तीन कक्षासम्म लिखित परीक्षा नहुने, मौखिक परीक्षामात्र हुने भएकोले उहाँलाई कक्षा माथि उक्लिन गाह«ो भएन । तीन कक्षापछि उहाँलाई अक्षर लेख्न सिक्न निकै मिहिनेत गर्नुप¥यो ।
महावीर इन्स्टिच्युट त्यत्तिबेला क्रान्तिकारीहरू जम्मा हुने थलो थियो । त्यहाँ सहिद गंगालाल श्रेष्ठ, सहिद चिनियालाल सिंह, कवि सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुर मानव, टङ्कविलास बज्राचार्यजस्ता राजनीतिक कार्यकर्ताहरूले पढाउनुहुन्थ्यो । उहाँहरूजस्ता क्रान्तिकारीहरूबाट माणिकलाल श्रेष्ठले शिक्षा आर्जन गर्नुभयो । त्यत्तिबेला उहाँले सिक्नुभएका कुराले उहाँलाई जीवनभर प्रभाव पारिरह्यो ।
महावीर इन्स्टिच्युटमा पढ्दाताकाको समय स्मरण गर्दै माणिकलाल श्रेष्ठले एउटा प्रसङ्ग उकाउनुभयो, “एक दिन गंगालाल श्रेष्ठले चिनियालाल सिंहलाई भन्नुभयो, “चिनिया दाइ ¤ यस्ता सुरुवालको इजार पनि बाँध्न नजान्ने र नाकको सिङ्गान पनि पुछ्न नजान्ने भुराहरूलाई पढ्न सिकाएर देशमा क्रान्ति गर्ने तपाईँको विचार हो ?’ जवाफमा चिनियालालले भन्नुभयो, “यसो नगरे के अब गएर मर्न जाने ¤” समयान्तरमा जनसङ्घर्षमा शहादत्त प्राप्त गर्नुभएका दुई जना अमर व्यक्तित्वहरूबीचको यो संवादको अर्थ माणिकलालले पछि मात्र बुझ्नुभयो । चिनियालाल शिक्षाको माध्यमबाट जनताको चेतना उकासेर परिवर्तन ल्याउने मतको पक्षधर हुनुहुन्थ्यो भने गंगालाल केही प्रत्यक्ष कदम चाल्नुपर्ने पक्षमा हुनुहुन्थ्यो ।

एक दिन इन्स्टिच्युटका हेडमास्टर चिनियालाल र शिक्षक पूर्णबहादुर मानवका साथै अन्य शिक्षकहरूको उपस्थितिमा कवि सिद्धिचरण श्रेष्ठले पियारी चरण सरकारको अङ्ग्रेजी पुस्तक ‘फस्ट बुक अफ लर्निङ’ बाट एउटा अनुच्छेद वाचन गर्नुभयो । अनि त्यो पुस्तक बन्द गर्नुभयो । त्यहीँ उभिनुभएका माणिकलाल श्रेष्ठलाई आफूले वाचन गरेको अनुच्छेद जस्ताको तस्तै सुनाउन सिद्धिचरणले भन्नुभयो । नभन्दै माणिकलालले सबै पाठ जस्ताको तस्तै सुनाउनुभयो । यो सुनेर सिद्धिचरणले भन्नुभयो, “यस्तो स्मरण शक्ति भएको बालकपछि गएर पक्का केही बन्नेछ ।” त्यहाँ उपस्थितमध्ये कसैले भने ‘त्यसो हुन अनिवार्य छैन’ भनेको घटना माणिकलाल स्मरण गर्नुहुन्छ ।
विसं १९९७ सालमा भएको राजनीतिक दमन काण्डमा राणा सरकारले महावीर विद्यालयका संस्थापक र अन्य शिक्षकहरूलाई पक्राउ ग¥यो । विद्यालय बन्द भयो । विसं १९९७ सालको कार्तिक २ गते विद्यालयलाई प्रहरीले कब्जा गरी शिक्षकहरू पक्राउ गरेको बेला माणिकलाल ६ कक्षाको विद्यार्थी हुुनुहुन्थ्यो । तर, आफ्नो विद्यालय सरकारले बन्द गराएको भन्ने कुरा उहाँले बुझ्नुभएको थिएन । विद्यालयको मूलद्वारमा प्रहरी बन्दुक बोकेर उभिएका थिए । माणिकलालले उनीहरूलाई पनि विद्यालयका पाले नै ठान्नुभएछ । त्यत्तिबेलाको उहाँको अबोधपना यो घटनाबाट प्रस्ट हुन्छ ।
महावीर विद्यालय बन्द भएपछि माणिकलाल दरबार स्कूलमा भर्ना हुुनुभयो । तर, ६ कक्षा पढ्दै गर्नुभएका उहाँलाई सानो भएको भन्दै दरबार स्कूलका उतिबेलाका प्रधानाध्यापक बोधविक्रम अधिकारी (माणिकलालका पिताका नजिकका परिचित व्यक्ति) ले कक्षा ४ मा भर्ना गर्नुभयो । दुई वर्ष खेर गए पनि त्यसरी कक्षा दोहो¥याएको परिणाम भने राम्रै आयो किनभने त्यसपछि उहाँका परीक्षाका नतिजा झन् – झन् राम्रो हुँदै गए । विसं २००३ सालमा उहाँले एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । अनि त्रिचन्द्र कलेजमा विज्ञान विषय अध्ययन गर्नुभयो । विसं २००७ साल (सन् १९५१)मा बीएस्सी उत्तीर्ण गर्नुभयो । विज्ञानमा स्नातकसम्मको अध्ययन पुरा गरेर उहाँ मानविकी सङ्कायतिर जानुभयो । सन् १९५२ मा आइ.एको एउटा पत्रको परीक्षा दिनुभयो र सन् १९५३ मा बीए उत्तीर्ण गर्नुभयो । उहाँले पटना विश्वविद्यालयबाट बीएस्सी र बीए उत्तीर्ण गर्नुभयो । अनि कलकत्ता विश्वविद्यालयमा पढ्न जानुभयो । कलकत्ता विश्वविद्यालयमा उहाँले सन् १९५६ मा अङ्ग्रेजी साहित्य (विशेष विषय समालोचना) मा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभयो र त्यहीं कानुनमा एलएलबी उत्तीर्ण गर्नुभयो ।
माणिकलाल श्रेष्ठले एसएलसी उत्तीर्ण गर्दाताका नेपालमा प्रधानमन्त्री पद्म शमशेर राणा थिए । राणाशासकमध्ये तुलनात्मकरूपमा पद्म शमशेर केही उदार भएकाले र उनको शासनकालमा नेपालमा गैरसरकारी क्षेत्रले पनि विद्यालय स्थापना गर्ने लहर चलेको हुनाले माणिकलालले एसएलसी उत्तीर्ण गरेलगत्तै एकातिर आफै त्रिचन्द्र कलेज (त्यत्तिबेलाको एकमात्र कलेज) मा विद्यार्थी बन्नुभयो भने अर्कोतिर पब्लिक विद्यालयमा शिक्षकको रूपमा सक्रिय हुनुभयो । उहाँकै मित्र माधवप्रसाद राजभण्डारी प्रधानाध्यापक रहेको नेपाल आदर्श विद्यालयमा शिक्षक बन्नुभयो । विसं २००३ देखि २००७ सालसम्म सो विद्यालयमा रहेर उहाँले शिक्षण गर्नुभयो । २००७ मा उहाँले त्रिचन्द्र कलेजमा आफ्नो पढाइ सकाउनुभयो । उहाँले बीएस्सी उत्तीर्ण गरिसकेर पनि आईए र बीएको परीक्षा दिनुभयो । त्यसबीच विसं २००९ सालमा उच्च शिक्षाको लागि कलकत्ता जानुअघिसम्म दुई वर्षको अवधिमा पनि विभिन्न विद्यालयमा शिक्षण गर्नुभयो । विसं २००३ देखि २००९ सालसम्म ६ वर्ष उहाँले बिताउनुभएको शिक्षण जीवन पेशागतरूपमा मात्र नभई शैक्षिक आन्दोलनको हिस्सा पनि थियो ।
प्रेरणा र प्रभाव
प्रारम्भिक शिक्षा सुरु गर्नुभएको समयका गुरुहरू अनि घरमा सधैँ सँगै सुत्ने, खेलाइ–खेलाइ धेरै कुरा पढाउने, नयाँ कुरा सिकाउने बाजे कृष्णलालबाट उहाँले धेरै कुरा सिक्नुभयो । उहाँको जीवनमा यी व्यक्तिहरूको गहिरो प्रभाव प¥यो । उहाँ दरबार स्कूल पढ्दा विद्यालयको पढाइ सकेर शिवलाल राजभण्डारीको घरमा गएर पढ्न जानुहुन्थ्यो । राजभण्डारीबाट माणिकलाल निकै प्रभावित बन्नुभयो । उहाँको जीवनमा कोही एक जना व्यक्तिको व्यापक प्रभाव परेको छ भने त्यो शिवलाल राजभण्डारीबाट नै थियो । शिवलालले विद्यालयको औपचारिक शिक्षामात्र नभई उहाँलाई सबैजसो विषयको बलियो जग राख्न मद्दत गर्नुभयो । माणिकलाल श्रेष्ठले आफ्नो पुस्तक ‘समालोचना सिद्धान्त’ उहाँकै नाममा समर्पण गर्नुभएको छ । समर्पणमा श्रेष्ठले लेख्नुभएको छ, “जतिसुकै ठूलो मान्छेले भनेको भए पनि, जस्तै पुस्तकमा लेखिएको भए पनि कुनै पनि कुरालाई आँखा चिम्लेर हो भन्नु हुँदैन ।” उहाँले यो वाक्य शिवलालकै प्रेरणाबाट लेख्नुभएको थियो । यो विचार नै समालोचनात्मक प्रवृत्ति अर्थात क्रिटिकल स्पिरिट हो । माणिकलाल समालोचक हुनुको मूल आधार नै शिवलाल गुरुबाट उहाँले प्राप्त गर्नुभएको प्रेरणा हो । यही प्रवृत्ति अर्थात् जुनसुकै कुरामा आँखा चिम्लेर विश्वास नगर्ने बरु त्यसको विपरीत हरेक कुरालाई सन्देहको आँखाले हेर्ने प्रवृत्तिबाट वैज्ञानिक प्रवृत्तिको रूपमा विकसित भई उहाँ धार्मिक विषयमा अनिश्वरवादी, राजनीतिक आस्थामा माक्र्सवादी बन्नुभयो । अनि आफ्नो आदर्श र लक्ष्य वैज्ञानिक समाजवादतिर उन्मुख हुनुभयो ।
उहाँ दैनिक जीवनमा कुनै पनि धार्मिक पूजाआजा कर्मकाण्ड, धार्मिक चाडपर्व आदिमा भाग लिनुहुन्न । आफ्नो पिताको निधन हुँदा बर्खी बार्ने, श्राद्धपूजा आदि गर्नुभयो वा भएन भनी सोध्दा उहाँले कपाल मुन्डन गर्ने, उपवास बस्ने, किरिया पुत्री बस्ने क्रममा परालमा सुत्ने अनि एक वर्षसम्म बर्खी बार्नुभए पनि त्यसक्रममा पूजा गर्ने वा पिण्डदान गर्ने कुनै पनि कर्म नगरेको बताउनुभयो ।
चाडबाडको सांस्कृतिक पक्षलाई उहाँले कदर गर्नुभए पनि धार्मिक पक्षमा भने उहाँ सहभागी बन्नुहुन्न । पुजाआजामात्र नगर्ने होइन, टीका लगाउने, प्रसाद ग्रहण गर्ने, मन्दिर जानेजस्ता गतिविधिमा पनि उहाँ सरिक हुनुभएन ।
पारिवारिक जीवन
माणिकलाल श्रेष्ठ र सिलु सिंहबीचको विवाह प्रेम विवाह थियो । विवाहको कुरा चल्दै गर्दा विसं २०१७ सालको राजनीतिक काण्डमा माणिकलाल श्रेष्ठ र सिलु सिंह दुवै जना पक्राउ पर्नुभयो । सार्वजनिक सुरक्षा ऐनअन्तर्गत दुवैलाई सरकारले नजरबन्दमा राख्यो । सिलु सिंह ६ महिना र माणिकलालले तीन वर्ष जेल जीवन बिताउनुभयो । त्यही भएर उहाँहरूको विवाह २०२० सालमा मात्र भयो । प्रेम विवाह भए पनि उहाँहरू दुवैको सार्वजनिक जीवन भने भिन्न–भिन्न देखिन्छ । माणिकलाल श्रेष्ठ २०२० सालमा जेलबाट रिहा भएपछि कुनै समूहमा प्रत्यक्ष आबद्ध हुनुभएन । तर, उहाँ नेपालको कम्युनिस्ट आन्दोलन अर्थात् माक्र्सवादी राजनीतिमा संलग्न हुनुभयो । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनमा सुरुदेखि कुनै न कुनै रूपमा संलग्न रहनुभयो अर्थात् मूलतः उहाँ एक जना राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो ।
सिलु सिंह महिला अधिकार आन्दोलनमा खास गरी महिला जागरण अभियानमा सक्रिय भए पनि प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न हुनुभएको देखिंदैन । यद्यपि, विद्यार्थी जीवनमा सिलु सिंह अनेक आन्दोलनमा संलग्न हुनुभयो । विसं २०१४ सालमा आम चुनावको माग राखी भएको भद्र अवज्ञा आन्दोलनमा उहाँ सक्रिय हुनुभयो । विसं २०१७ को पुस १ गतेको काण्डको विरोधमा पञ्चायतविरोधी गतिविधिको कारण उहाँले जेल जीवन बिताउनुभयो ।
माणिकलाल कुनै दलको नेता–कार्यकर्ता नभए पनि एक जना माक्र्सवादी बुद्धिजीवी र चिन्तक–लेखकको रूपमा कम्युनिस्ट आन्दोलनमा प्रत्यक्ष संलग्न हुनुभएकोले उहाँ सार्वजनिक जीवनमा मूलतः राजनीतिक व्यक्ति र शिक्षकको रूपमा परिचित हुुनुहुन्थ्यो । उहाँकी जहान सिलु सिंहको सार्वजनिक जीवनबारे कुराकानी चल्दा मानिसहरूले उहाँलाई नेपालका एक जना प्रतिष्ठित कानुनविद्, विशेषतः महिला अधिकारसम्बन्धी कानुनका ज्ञाताका रूपमा चिन्ने गरेका छन् । सिंह नेपालको सबभन्दा पहिलो महिला अधिवक्ताको रूपमा कानुन व्यवसायमा प्रवेश गर्नुभएको थियो । उहाँ नेपालका प्रथम महिला वरिष्ठ अधिवक्ता र सर्वोच्च अदालतका प्रथम महिला न्यायाधीश हुनुहुन्थ्यो । उहाँको मुख्य योगदान महिलाहरूलाई कानु अधिकारबारे चेतना दिने अभियान सञ्चालन गर्नु र कानुनका छात्राहरूलाई विभिन्न तालिम दिई सकेसम्म बढी महिला कानुन व्यवसायी तयार गर्नु थियो ।
सार्वजनिक गतिविधिमा मात्र उहाँहरू दुई जनाबीच भिन्नता देखापरेको होइन । राजनीतिक आस्थाको सन्दर्भमा पनि उहाँहरूबीच स्वयम्ले स्वीकार नगरे पनि नजिकका मित्रहरूले दुवैको विचारमा अन्तर रहेको बताउँछन् । उहाँहरूका मित्रहरूको भनाइ र उहाँहरूका लेख र भाषणको गहन अध्ययन गर्दा माणिकलाल एक जना माक्र्सवादी अर्थात् कम्युनिस्ट विचारधारा बोक्ने, संसदीय व्यवस्थाका आलोचक र विरोधी हुनुहुन्थ्यो भने सिलु सिंह संसदीय प्रजातन्त्रप्रति सहानुभूति र समर्थन राख्नुहुन्थ्यो । महिला मुक्तिकै सन्दर्भमा पनि माणिकलालका लेखहरूमा ‘महिलालाई पुरुषसरह समान अधिकार दिनु आजको मूल आवश्यकतामध्ये एक हो, यो काम आजको पुँजीवादी क्रान्तिको एउटै मूल अभिभारा भए पनि संसदीय व्यवस्थाले यो काम गर्नसक्ने छैन, गर्दैन । जनताको जनवाद अर्थात् सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी, जनवादी क्रान्तिले मात्र यो काम गर्न सक्नेछ’ भन्ने विचार स्पष्ट लेख्नुभएको छ । त्यसको निम्ति पुँजीवादी संविधान पूर्ण होइन, संविधान नै परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो । सिलु सिंहका सार्वजनिक अभिव्यक्तिहरूको अध्ययन गर्दा उहाँ महिला मुक्तिभन्दा महिला सशक्तिकरणमा जोड दिनुहुन्थ्यो । त्यसको निम्ति संविधान र ऐनकानुनले दिएका अधिकार महिलाले उपभोग गर्नसक्ने वातावरण सिर्जना गर्न सबैले प्रयत्न गर्नुपर्ने उहाँको विचार थियो । यसप्रकार सार्वजनिक गतिविधि र विचारधारामा अन्तर भए पनि उहाँहरूको दाम्पत्य जीवन भने सुखद् थियो । यसबारे माणिकलाल श्रेष्ठसमक्ष जिज्ञासा राख्दा प्रतिप्रश्न गर्दै भन्नुभयो, “किन र हाम्रो विचारमा फरक देख्नुभयो र ?” अनि भन्नुभयो, “वास्तवमै हाम्रो विचारमा अन्तर भए पनि हामीले एकले अर्काको सार्वजनिक गतिविधिमा चियो गर्ने, हस्तक्षेप गर्ने गरेका छैनौँ । विरोध र आलोचना पनि गर्ने गरेका छैनौँ । बरु सक्ने ठाउँमा एकले अर्कालाई सहयोग भने गरेका छौँ । त्यसकारण विवाद आउने कुरै भएन ।”
साहित्यिक जीवन
माणिकलाल विद्यालय जीवनदेखि नै साहित्यिक गतिविधि र साहित्य रचनामा लाग्नुभयो । विसं २००१ देखि नै उहाँले अङ्ग्रेजी भाषामा निबन्ध लेख्न थाल्नुभएको थियो । विसं २००२ सालमा भएको नेपालव्यापी अन्तरविद्यालय अङ्ग्रेजी निबन्ध प्रतियोगितामा उहाँले भाग लिनुभयो । त्यत्तिबेला उहाँ १३ वर्षको हुनुहुन्थ्यो । प्रतियोगिताको लागि उहाँले Famine (अनिकाल) शीर्षकको निबन्ध लेख्नुभएको थियो । त्यो निबन्ध प्रतियोगितामा प्रथम स्थान जित्न असफल भए पनि निर्णायकहरूले विजेताको नामसँगै उहाँको नाम पनि लेखेर ‘प्रशंसित’ (highly commende) भनी घोषणा गरे । साहित्यिक रचना विद्यालय तहबाटै सुरु गरे पनि नेपालभाषामा विसं २००७ सालमा स्नातक उत्तीर्ण गरिसकेर मात्र २००८ सालबाट लेख्न थाल्नुभएको हो । उहाँका नजिकका मित्र रेवतिरमणानन्द वैद्यले नेपालभाषामा लेख्न उहाँलाई आग्रह गर्नुभएको थियो।
उहाँले नेपालभाषामा त लेख्न थाल्नुभयो । तर, उहाँले आफ्नै पहलमा भन्दा कसैले लेख्न गरेको आग्रहअनुसार नै मात्र लेख्ने गर्नुभयो । उहाँमा त्यो बानी पछिसम्म रहेको स्वयम् भन्ने गर्नुहुन्थ्यो । नेपालभाषामा उहाँले लेख्नुभएका फुटकर रचना सङ्कलन गरे सयौँमात्र होइन, झन्डै पाँच सत्र्न्दा बढी नै हुनेछ । तर, आफ्नै अग्रसरतामा लेख्नुभएको रचना भने औँलामा गन्न पनि नपुग्ने उहाँको भनाइ थियो ।
‘समालोचक माणिकलाल व समालोचना साहित्य’ नामको नेपालभाषाको पुस्तकबाट नेपाली भाषामा अनुदित
नेपालीभाषामा अनुवाद : सुमन

अनलाइन मजदुर डटकमबाट

प्रतिकृया दिनुहोस्