‘समाचार र विचारको
साझा चौतारी’






किशोरावस्थामा कुलतको जोखिम किन बढी हुछ? कसरी जोगिने?


प्रख्यात भारतीय अभिनेता सञ्जय दत्तले आफ्नो कुलत (एडिक्सन)को अनुभवको बारेमा भनेका छन्, ‘मैले पहिलो पटक ड्रग्स लिएँ किनकी म पिताजीसँग रिसाएको थिएँ, दोस्रो पटक ड्रग्स लिएँ किनकी मेरी आमा अत्यन्त बिमार हुनुहुन्थ्यो। तेस्रो पटकसम्ममा म एडिक्ट भैसकेको थिएँ।’

दुर्व्यसनीको समस्यासँग जीवनभर कठोर संघर्ष गरेका यी अभिनेताको अनुभव जस्तै कतिपय किशोर किशोरीहरु लागु पदार्थको दुई चार पटकको प्रयोगमै अनायासै गम्भीर लतमा फस्न सक्ने सम्भावना रहन्छ।

९० प्रतिशत दुर्व्यसनीहरु किशोरावस्थामा शुरु हुने अध्ययनले देखाएको छ। लागु पदार्थको दुर्व्यसनीले सम्बन्धित व्यक्ति एवं समग्र परिवारको खुशीलाई तहस–नहस पारेका घटनाहरुको कारण ‘एडिक्सनको सम्भावना’ आजकल अभिभावकको लागि एक प्रमुख चिन्ताको विषय हुने गरेको छ। विविध कारणले किशोरावस्था दुर्व्यसनीको समस्या बल्मिmन सक्ने जोखिमको अवस्था हो। किशोर किशोरीहरु एडिक्सनबाट जोगिन र अभिभावक त्यसमा सहयोगी बन्न केही स्पष्टता र केही उपायहरु प्रभावकारी हुन सक्छन्।

आम धारणा विपरित, एडिक्सन व्यक्तिको सहज रोजाईको विषय नभई स–साना त्रुटीपूर्ण सोच, निर्णय र व्यवहारबाट सृजित हुन जाने एक करुणादायक परिस्थिति हो, जहाँ व्यक्ति आफुलाई निरीह महसुस गर्न थाल्छ। यसैकारण चिकित्सा बिज्ञानले एडिक्सनलाई अन्य स्वास्थ्य समस्या जस्तै एक बिमारीको दर्जा दिएको छ। जसको उपचारमा अभिभावक, स्वास्थ्यकर्मी र नजिकका व्यक्तिहरुको माया, सहयोग र करुणाभाव अत्यावश्यक हुन्छ।

किशोरावस्थामा मस्तिष्कको ‘कोग्निटिभ कन्ट्रोल सिस्टम’ को तुलनामा ‘इन्सेन्टिभ रिवार्ड सिस्टम’ छिटो विकसित हुन्छ। जोखिमपूर्ण व्यवहार न्यूनीकरणका लागि अति आवश्यक पर्ने यो नियन्त्रण प्रणालीको असन्तुलित विकासको कारण विवेकपूर्ण निर्णयभन्दा तात्कालिक आनन्दले व्यवहारलाई निर्देशित गर्ने अवस्था हो, किशोरावस्था। कतिपयमा यो असन्तुलन लामो समयसम्म रहन सक्छ।

किशोरावस्था बाल्यावस्थाबाट युवामा पुग्ने ट्रान्जिक्सनको अवस्था हो। शरीरमा एक्कासी बढ्ने हर्माेनको प्रभावका कारण यस अवस्थामा शारीरिक संरचना एवं मनोबिज्ञानमा तीब्र परिवर्तन आउने गर्छ। छोटो समयको विशेष परिवर्तन र यसप्रतिको स्वाभाविक चासोले किशोर किशोरीको शारीरिक र मानसिक चुस्ततामा कमी ल्याउन सक्छ। यस प्रकार बढेर जाने ‘बोरडम’ का साथै परिवार र समाजले अपेक्षा गर्ने भिन्न र परिपक्क व्यवहारको दबाब व्यवस्थापनको लागि कतिपयले लागु पदार्थ लिन सुरु गर्छन्।

कतिपयले धुम्रपान, मद्यपान र ड्रग्सलाई वयस्कता र ‘स्टाटस’ को स्रोतको रुपमा बुझेका हुन्छन। अन्य कतिपयले मन नपर्दा नपर्दै पनि साथीहरुलाई ‘नो’ भन्न नसक्दा मित्रताको मान राख्न पनि लागु पदार्थ लिन थाल्छन्।

बावु आमासँग सहज सम्बन्ध नहुनु, पारिवारिक कलह, वाल्यावस्थाको गहिरो मानसिक आघात, अति नियन्त्रण वा अति स्वतन्त्रता लगायतका गलत अभिभावकत्वको शैली, आवश्यकताभन्दा बढी पैसाको सहज उपलब्धता वा त्यसको जानकारी अभिभावकलाई नहुनु किशोरावस्थामा दुर्व्यसनीका अन्य कारणहरु हुन।

दुर्व्यसनीको समस्या भएका ७६ प्रतिशत व्यक्तिहरुमा कुनै न कुनै व्यवहारजन्य वा मनोवैज्ञानिक समस्या समेत हुने गरेको पाईएको छ। ५२ प्रतिशत व्यक्तिहरु एन्जाइटी, डिप्रेसन वा यस प्रकारको भावनात्मक समस्यासँग संघर्ष गरी रहेका हुन्छन। धेरै व्यक्तिहरु कुनै मनोसामाजिक समस्या झेल्नकै लागि समेत दुर्व्यसनीमा लागेका हुन सक्छन।

आत्मग्लानी, आत्मविश्वासमा कमी, सामाजिक सीपको कमी, अरुले हेर्ने नकारात्मक दृष्टिकोण र यौन उत्साह घट्दै जाने हुनाले दुर्व्यसनीमा लागेका व्यक्तिहरु समाजमा र विशेष गरी विपरीत लिङ्गीहरुसँग घुलमिल हुन नै लजाउने वा डराउँदै जाने हुन्छन्। उनीहरु समाजमा आफुलाई ‘मिसफिट’ जस्तो अनुभव गर्छन्। उनीहरुलाई अब यो पीडाभन्दा दुर्व्यसनी नै ठिक जस्तो लाग्ने हुन सक्छ। यसै पृष्ठभूमिका कारण दुर्व्यसनीको पूर्ण उपचार जटिल हुने गर्छ। अन्य समस्याहरु समाधान नगरी केवल दुर्व्यसनीमा मात्र केन्द्रित हुने उपचार प्रायः असफल र अधुरो रहन जान्छ।

दुर्व्यसनीलाई बुझ्नका लागि केही सिद्धान्तहरु समेत प्रतिपादन गरिएका छन्। प्रचलित ‘स्टेज थ्योरी’ का अनुसार एडिक्सनको समस्या स्टेज अर्थात् चरणमा विकसित हुने गर्छ। कस्तो होला भन्ने कौतुहलताको कारण समाजले सहज रुपमा लिने चुरोट वा रक्सीको प्रयोगबाट यसको शुरुवात हुन्छ। ‘कोग्निटिभ कन्ट्रोल सिस्टम’ कमजोर भएका व्यक्तिहरुमा अब त्यो गाँजा, चरेस, कोकेन र अन्य ड्रग्सको प्रयोग तर्फ चरणबद्ध रुपमा उन्मुख हुने गर्छ।

‘गेटवे हाइपोथेसिस’ का अनुसार गाँजाको प्रयोग प्रायः अन्य लागु पदार्थको शुरुवातको आधार बनिदिने गर्छ। अर्थात् यदाकदाको गाँजाको प्रयोग पनि स्व–नियन्त्रण कमजोर भएका व्यक्तिको हकमा जटील दुर्व्यसनीको प्रारम्भिक चरण भनि बुमm्नु पर्ने हुन्छ।

विशेष प्रयोजन बिना घर बाहिर निस्कि रहनु, कहाँ थिएँ भन्ने कुराको गोलमटोल जवाफ दिनु, आफ्नो कोठाको गोपनीयतामा अचानक बढी संवेदनशील हुनु, व्यक्तिको र कोठाको स्वच्छताको स्तर अचानक घट्नु, परिवारका सदस्यहरुसँग अचानक टाढिनु वा एक्लै रहन खोज्नु, स्कुल अटेन्डेन्स र पढाइको नतिजामा अचानक गिरावट आउनु, स–साना दुर्घटना र चोटपटक बढ्नु दुर्व्यसनीको खतराका सूचकहरु हुन्। दुर्व्यसनीको सम्भावनाको सबैभन्दा महत्वपूर्ण सूचक साथीहरुको सर्कल र संगत हुने कुरा अध्ययनहरुबाट स्पष्ट भएको छ।

सडक दुर्घटना होस् वा दुर्व्यसनी, समस्याको मूल कारण सीमा बाहिर पुगिसक्दा पनि ‘म नियन्त्रणमा छु’ भनी ठान्ने समस्याजनक विश्वास र सोच हो। कतिपयले ‘कहिले काहीँ त भइ हाल्छ नी’ ‘चाहेको बेला छोड्न सकिहाल्छु नी’ भनी लापरबाही गर्ने हुन्छन्। तर व्यक्तिका सोचहरु विस्तारै शब्दमा परिणत हँुदै जान्छन्। ती शब्दहरुले कार्य र व्यवहारलाई निर्देशित गर्दे जान्छन्। व्यवहार आदत बन्दै जाने हुन्छ र आदतले चरित्र निर्माण गर्छ। चरित्र नै व्यक्तिको जीवन गन्तव्य, भाग्य वा भविश्यको प्रमुख साधन हुन्छ।

स–साना त्रुटी र लापरबाहीले जीवनमा पार्न सक्ने यस प्रकारको प्रभावको बारेमा हरेक व्यक्ति र खास गरी किशोर किशोरीहरु संवेदनशील हुनु जरुरी हुन्छ। हरेक दिन बिहान उठ्न र चुस्त देखिनुुपर्ने कुनै महत्वपूर्ण कार्य वा लक्ष्य हुनु दुर्व्यसनीबाट जोगिने प्रमुख उपाय हो। किशोर किशोरीलाई दुर्व्यसनीको हानीको बारेमा थाहा हुन्छ। तर उनीहरुले समस्याको हानी अत्यन्त सतही रुपमा मात्र बुझेका हुन्छन्। दुर्व्यसनीको समस्याको बहुआयामिक पक्ष र जटिलता गहिराइमा बझाउनु सकारात्मक उत्प्रेरणा बढाउने र दुर्व्यसनीबाट जोगाउने अर्काे प्रमुख उपाय हो।

लागु पदार्थको अति प्रयोगले ‘इन्सेन्टिभ रिवार्ड सिस्टम’ लाई यस्तो रेसिस्टेन्सको स्थितिमा पुर्‍याईदिन्छ कि अब यसको लागि जीवनका सुखद घटनाहरु पनि अर्थहीन र निराश समान हुन्छन्। प्रेम, रोमान्स, यौन र सफलता जस्ता जीवनका रमाइला विषयहरुले समेत व्यक्तिलाई कुनै खुशी दिन सक्दैन। खुशीको स्रोत केवल पहिलेभन्दा बढी मात्राको लागु पदार्थ हुन पुग्छ। साथै व्यक्तिको दैनिकीको प्राथमिकता नै केवल त्यस पदार्थको प्राप्ति र प्रयोगमा सीमित हुन जान्छ।

सामाजिक दबाब झेल्ने सीप, भावनात्मक नियमनको सीप, दृढताको सीप, कार्य कुशलतामा वृद्धि र पारिवारिक सम्बन्धमा सौहार्दता दुर्व्यसनी रोकथामका अन्य उपायहरु हुन्।

आफू प्रतिको धारणा, आत्मसम्मानको जगेर्ना, निर्णय क्षमता एवं समस्या समाधानको सीप विकास साथै, कला, खेल, अध्ययन जस्ता स्वस्थ रुचीहरुको विकास पनि दुर्व्यसनीबाट जोगिनको लागि अति महत्वपूर्ण हुन्छन्।

सामान्यतया व्यक्तिहरुले आफ्ना केही आधारभूत भावनात्मक आवश्यकताहरु स्वस्थ तरिकाले पुरा हुन नसकेपछि ‘क्विक फिक्स’ अर्थात् सहज उपायको रुपमा लागु पदार्थको प्रयोग गर्ने गर्छन्। त्यस्ता महत्वपूर्ण मानसिक आवश्यकताहरु स्वस्थ तरिकाबाट नै पुरा गर्न सक्षम बनाउनु दुर्व्यसनी रोकथाम र उपचारको मूल सिद्धान्त हो।

(डा वैकुण्ठरमण सुवेदी क्लिनिकल साइकोलोजिष्ट हुन्। )swsthyakhabarpatrika/from

प्रतिकृया दिनुहोस्