विचार

विद्रोह बिकल्पको खोजी हो, कम्युनिष्ट पार्टी जब कम्पनी प्रालि जस्तो पनि हुदैन !

प्रमोद प्रवाशी

जे देखियो र जानीयो सो लेख्ने हो भने माधव नेपालले अहिले होइन अस्तिनै एमालेबाट विद्रोह गर्नु पर्ने थियो । कसैलाई मेरो कुरा तितो वा कसैलाई मिठो लाग्न सक्छ । तर, सत्य जे मलाई लाग्छ म त्यही लेख्छु किनकी साँचो डग्दैन झुठो टिक्दैन । एमालेको पछिल्लो कैरन हेर्ने हो भने माओवादी केन्द्र र एमालेको मिलन पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीको अहंकार, दम्भ र हठ नाप्ने कुनै मिटर हुन्थ्यो भने त्यो मिटरनै पड्किने गरिको थियो । उहाँ नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्थ्यो तर यति मात्र बन्नु भयो कि नेकपा भित्र पनि एमाले अनि एमाले भित्र पनि आफ्नो समूह त्यस भित्र पनि आफ्ना आसेपासे र जयजयकार गर्नेको मात्र ।
पार्टी फुटाउने अध्यादेश ल्याउनेदेखि पटक पटक संसद भङ्ग गर्ने काम नेकपाका अध्यक्ष र तत्कालिन प्रधानमन्त्रीले नै गर्नु भएको हो । लिपुलेकको नक्शा मात्र नेपालको नक्शा भित्र मात्र ल्याउने काम पनि उहाँले नै गर्नु भएको । कम्युनिष्ट पार्टीको कुरा गर्ने हो भने त के पनि भन्न सकिन्छ भने नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको सत्य हो तर नेपालमा कम्युनिष्ट पार्टीको संगठित पार्टी नै अहिले सम्म बन्न सकेको छैन । कम्युनिष्ट पार्टीका नामहरु त थुप्रैछन् तर तिनीहरुका संरचना कम्युनिष्ट पार्टीका जस्ता देखिएपनि तलदेखि माथि सम्मको सिङ्गो कम्युनिष्ट चरित्र र ब्यवहारलाई हेर्ने हो भने त्यो भ्रम मात्र हो । किनकी सबैलाई कुन न कुनै रुपमा पद चाहिएको छ ।
अहिले एमाले फुटेको छ यसलाई फुटेको भन्दा पनि यो ढङ्गको विद्रोह हो , एमाले भित्रको मात्रै कुरा गर्ने हो भने पछिल्लो समयमा एमालेमा वैचारिक, सैद्धान्तिक धार करिबकरिब भुत्ते भएको भन्न मिल्छ । कार्यकर्ता भन्दा पनि अन्धभक्तहरुको शिघ्र उत्पादन र उपल्ला नेताहरुको सोच र चिन्तनसँगै मौलाएको पद, पैसा र शौकतलाई हेर्ने हो भने यो आम निमुखाहरुको पार्टीबाट बाहिर गएको थियो । अन्य कम्युनिष्ट पार्टीमा एमालेमा भएको रोग नभएको होइन तर जति एमालेलाई संसदीय आनन्दको रोगले गाँजेको छ अरुलाई भेटेको छ र त्यहाँ पनि मौलाउँदै छ ।पछिल्लो समयमा एमाले झण्डै एउटा गुटको कब्जामा गएको सत्यलाई होइन कसैले भन्छ भने त्यो पनि त्यो गुटको समर्थकनै रहेछ भनेर चिन्न सजिलो हुन्छ । वैचारिक, सैद्धान्तिक र कम्युनिष्ट आदर्शबाट तिब्र गति स्खलित बन्दै गएको एमालेमा माधव नेपालहरु बिराना जस्तै भएकै हुन् । स्वयम् पार्टीका अध्यक्ष र तत्कालिन प्रधानमन्त्रीले गरेको संसद भङ्गका विषयमा माधव नेपालहरुले मात्र होइन लोकतन्त्रका पक्षधर हजारौँ नागरिकहरुले पनि आवाज उठाएका हुन् । सिधा भन्दा माओवादी र एमालेलाई अदालतले आआफ्ना थान्कामा बस भनेपछि एमालेमा माधव नेपालहरु माथि थप राजनीतिक जिम्मेवारी बढेर गयो उनीहरुले एमालेमा भएका विसंगतिहरुलाई हटाउनु पर्छ भन्नु के माधव नेपालहरुको पार्टी विरोधी गतिविधि हो ? एमालेलाई कम्युनिष्ट पार्टी जस्तो विधि पद्धति अनुसार चलाउनु पर्छ भन्नु विभाजनको संकेत थियो । एमालेमा माधव नेपालहरुले लगेका प्रस्तावहरु जो लिखित छन् त्यहाँ कुन ठाउँमा एमालेको विभाजन गरौँ, हामी फुट्छौ भनेकाछन् ?तर, एमालेलाई पार्टी जस्तो नभएर कम्पनी प्रालि जस्तो मात्र होइन प्रालि संचालनका लागि पनि त्यसका विधि र प्रकृया हुन्छन् त्यति पनि पालना नगरि एकोहोरो खेदे पछि मान्छे कि आत्मसमपर्ण गर्छ कि विद्रोह गर्छ । वास्तवामा माधव नेपालहरुले विद्रोह गरेका हुन् । भोलीका दिनमा उनीहरुले देश र जनताको पक्षमा कस्तो काम गर्छन् त्यो हेर्न बाँकी नै छ । देश र जनताको पक्षमा काम गर्न कुनै पार्टीको नाम एमाले नै चाहिन्छ भन्ने छैन , चुनाव चिन्ह सूर्य नै चाहिन्छ भन्ने पनि छैन । सुकुम्वासीको नाम धनपति राखेर केही हुदैन नामले काम गदैन परिचय कामले दिने हो । यदि माधव नेपालहरु देश र जनताको पक्षमा मन, वचन र कर्मले जुटेर लागे भने आज उनीहरुको यात्रामा अलमलमा परेका धेरै मान्छेहरु उनीहरुको नेतृत्वको पछि लाग्न बाध्य हुनेछन् । सूर्योदय हुनु अघि लालिमा छाउँछ विस्तारै सूर्य पृथ्वीलाई ढाक्ने गर्छ । अन्त्यमा कुनै राजनीतिकदलमा विभाजन हुनु राम्रो होइन तर नामका लागि मात्र कम्युनिष्ट भएर ठूलो भुत्ते भिड जम्मा गर्नु भन्दा काम लाग्ने करौँती समूहनै भोलीका दिनमा देश बनाउन कालिगढहरुको जमात बन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button