‘समाचार र विचारको
साझा चौतारी’




आइ लभ यु पार्टी


१८ आश्विन २०७८
भन्नेहरुले भन्ने गर्थे, बाँच्नु चाँहि पर्छ, नदेख्ने कुरा पनि देख्न पाइन्छ । आजभोली आफु केटाकेटी छँदा ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नाराहरुको सम्झना ताजा भएर आइरहेको छ । २०४६÷४७ को आन्दोलन को सफलताको अघिल्लो दिनसम्म देशभर पहेंला झण्डा सहितका पञ्च ¥यालीहरु आँखा अघि झल्झली आइरहेको छ । अझ त्यस बेलाका राज्य नियन्त्रित सञ्चार रेडियोबाट बज्ने ‘भेडाका छाला ओडेका ब्वाँसाजस्ता देखिने कम्युनिष्टहरुका आन्दोलन‘ भनेर तुच्छतापूर्वक बोलिने भाषाहरु कानमा गुञ्जिरहेका छन् । त्यसैको श्रृङ्खला जस्तो लाग्ने गरी ‘पोइल जान पामं्…’ भन्ने अहिलेका जनवादी(?) गायकहरुले ‘आइ लभ यू केपी बा” का गीत गाएको सुनेपछि, आइ लभ यु भनिनेहरुले आफ्ना सहकर्मी र कमरेडको उछितो काड्ने, उठेका प्रश्नहरुलाई सामना नगर्ने बरु उल्टै प्रश्न गर्नेहरुलाई घृणापूर्वक गाली गलौज गर्ने जे देखिंदैछ, त्यसले उल्लिखित प्रसङ्गहरुका सिलसिला मिल्न पुगेको छ ।

कम्युनिष्ट पार्टी र बुझेको कुरा
२०३५ साल श्रावणदेखि म हात्तीसार, धरानको विद्यार्थी भएँ । अहिले भन्दा प्लस २ को विद्यार्थी । उसबेला आइ.एस्सी. भनिन्थ्यो । पहिलो सेमेष्टर सकिन–सकिन लाग्दा पाकिस्तानमा जियउल हकलाई दिइएको मृत्यूदण्डको घटनाको विरोध नेपाली विद्यार्थी आन्दोलन, विशेषतः तत्कालिन अनेरास्ववियू (एकताको पाँचौं) ले नेतृत्व ग¥यो ।
त्यस सङ्गठनको प्रभावले हामी मोफसलका नवयुवाहरुलाई पा¥यो । मलाई सम्झना छ, आफु सामेल भएको पहिलो गुप्त भेलामा तत्कालीन सम्पर्क दिन आएका भनिएका जनताका सारथीहरुले एउटा गीतबाट आफ्नो कुरा शुरु गरेका थिए ।
वर्गीय समाजमा वर्गीय प्रेममात्रै, न्यानो र चोखो हुन्छ ।
नेपाली भाषा बोल्नेले नेपाली भाषा बोल्नेलाई ठग्छ,
तामाङ्ग भाषा बोल्नेले तामाङ्ग भाषा बोल्नेलाई ठग्छ ।
एउटै भाषा बोल्ने हामी भनी गरिने प्रेम, व्यवहारमा झुटो हुन्छ ।
वर्गीय समाजमा वर्गीय प्रेममात्रै, न्यानो र चोखो हुन्छ ।
………………………………………………………………………….

यो कालजयी गीतका र्सजकप्रति मेरो अहिले पनि त्यत्तिकै आदर र सम्मान छ । चाहे ऊनी जता पुगेका हुन् ।
उसै दिन त केही बुझियो, बुझिएन, तर एउटा कष्टपूर्ण यात्रामार्फत आफु र आफुजस्तै समाजबाट हेपिएका तर श्रम र मेहनत गर्ने उच्च सम्मान प्राप्त हुनुपर्नेहरुको माझ उनीहरुजस्तै काम गरि रहेका छौं भन्ने अनुभव सोही दिनबाट गरियो । देशमा सबै भन्दा धेरै श्रमिकहरु नै हेपाइमा छौं भन्ने बुझाई पनि बढ्दै गयो । परिवर्तन गर्ने भनेकै यिनै हेपिएका, श्रमको उचित ज्याला नपाएका कृषि श्रमिक, शहरीया मजदूरहरुको वर्गीय पक्षधरताका लागि काम गर्ने मजदूर तथा किसानहरुको एकतामा आन्दोलन उठान गर्ने, नेतृत्वदायी भुमिका खेल्ने, कम्यूनिष्ट पार्टीमा गोलबन्द हुने र हतियारविहीन जनशक्तिको विशाल पंक्तिमार्फत ठूलो शक्तिआर्जन गर्दै जनविरोधी र देशघातीहरुलाई जरै मासिने गरि उखल्ने आन्दोलनको ज्वारभाटा श्रृजना गर्ने विचार बलियो पार्दै लगियो । यही काममा जुट्न आप्mनो लागि आफैं संगठित र क्रियाशील हुने काम गर्न थालियो ।

सम्झना ताजै छ, हामीले गाउने गीतहरु किसानहरुको थियो, मजदुरहरुको थियो । हामी साथीहरुका लागि फुलभन्दा नरम र शत्रुवर्गका लागि काँडा भन्दा तीखा छौँ भन्थ्यौँ । हाम्रा सपनाहरु दिनभरि काम गरि रातभरि भोकै सुत्ने ज्यामी र खेतालाहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभुति दिन के के गर्नुपर्छ भनेर योजना बनाउन र तिनको कार्यान्वयनमा हुन्थ्यो । यो क्रममा हामीजस्ता थुप्रा नौजवानहरुले आफ्ना थुप्रै व्यक्तिगत सपनाहरु, आफ्ना जिन्दगीका नीजि सुखहरु संगठन र कम्युनिष्ट पार्टीका लागि न्योछावर गरेका थियौं । आफ्ना नेताहरु जो यो आन्दोलनमा नेतृत्व गर्दै थिए उनीहरुका कुरामा हामी पूर्ण रुपले समर्पित पनि थियौँ ।

नेताहरु प्रतिको हाम्रो यिनै विश्वास क्रमशः शक्तिमा बदलिदैंं गयो । ४६ को आन्दोलन,०६२÷६३ को जनक्रान्ति सबैमा जनताको त्यो संगठीत शक्तिको, समर्पणको निर्णायक योगदान छ । गणतन्त्रको स्थापना, यसलाई संस्थागत गर्न अरबौँ रुपैयाँखर्च गरेर गरिएको दुइदुइ पटकको संविधान सभाको निर्वाचन । निर्वाचनमार्फत पठाइएका प्रतिनिधिहरुले बनाएको नयाँ संविधानमा माथि उठाएका प्रसंगहरुलाई मौलिक अधिकार बनायौं । यो संगसंगै प्रतिष्पर्धा र संघर्षकै क्रममा, सामन्तवाद साम्राज्यवादविरोधी, क्षेत्रीय प्रभुत्ववाद तथा विस्तारवादविरोधी, विश्वमा हैकम जमाइरहेको एकाधिकार पुँजीवादविरोधी, नोकरशाही दलाल पूँजीवादविरोधी जनमतका नेतृत्व गर्ने दाबी गरिरहेका मूख्य दुइधारका कम्यूनिष्ट आन्दोलनका पार्टीहरु समेत एकीकृत भएको सफलता अभुतपूर्व रह्यो । नेपालमा मात्र होइन विश्व कम्यूनिष्ट आन्दोलनलाइ नै पनि नजिकबाट हेरिरहेकाहरुबाट यसको मुक्त कण्ठमा प्रशंसा भयो । तर, कम्यूनिष्टहरुको यो सफलताको गाथा अध्ययन गर्ने थलोको रुपमा नेपाल चित्रित भैरहेको छ भन्दै गर्दा, कम्युनिष्ट पार्टी ति गरिब किसान मजदुरको नभएर निश्चित पुँजिपतिको कब्जामा पुगेको, कम्युनिष्ट नेताहरु सामुहिकतामा नभएर एकल नायकत्वको दुन्दुभि बजाउँदै हिँडेको, पार्टीभित्रका फरक मतलाई सिद्धान्त र घोषणपत्रलाई कार्यान्वयन गर भन्ने स्वरहरुप्रति शत्रुतापूर्ण व्यवहार गरेको क्रमशः देख्न र भोग्न पाइयो । हिजो समर्पणभावले साथ दिएका नेताहरुको प्राथमिकता, उठबस, जीवनशैली, खुलमखुला भ्रष्टाचारको बार्गेनिङ र अनधिकृत अपारदर्शी प्रक्रियाबाट हिजोको वर्ग पक्षधरतालाई विर्सिएर शक्ति र धनका लागि जे पनि गर्ने प्रवृत्तिका पनि बग्रेल्ती तथ्य यत्रतत्र छन् । यसको निरन्तरतालाई पुट दिन ‘आइ लभ यू केपीबा’ को संस्कृतिलाई योजनाबद्ध रुपमा हुर्काइयो । जुन संस्कृतिले सिद्धान्तलाई र वर्गलाई भन्दा व्यक्तिलाइ र व्यक्तिको सत्ता र शक्तिलाई प्राथमिकतामा राख्न बल पुग्छ त्यही भैरहेको छ ।

अनुभूति
हामी धेरैलाई थाह छ, महाधिवेशन शब्दले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दछ । तत्कालिक र दीर्घकालिक रुपमा काम गर्नुपर्ने विषयमा योजना बनाउँछ । प्रधान शत्रुको निक्र्यौल गर्छ । प्रहारको निशाना तोक्छ । तत्कालका शक्तिहरुको विश्लेषण गर्छ । राष्ट्रिय र अन्तरराष्ट्रिय उत्पादनशक्ति र उपभोक्ता स्थितिको समिक्षा गर्दछ । उत्पादन सम्बन्धका आधारमा आफुले गर्ने कामहरुको फेहरिस्त दिन्छ । यसबारेको विशाल छलफलको वातावरण बनाउँछ । सबैलाई आआप्mना विचार राख्न दिन्छ । यो विचार राख्ने अवसर कुनै बन्द कोठामा मात्र नभई व्यापक रुपमा सार्वजनिक रुपमा सर्मथक या विरोधीहरु समेतले दृष्टिकोण राख्न सक्ने अवस्था सिर्जना गर्दछ । व्यापक छलफल र वार्ताका प्रतिफल महाधिवेशनमा निश्कर्ष निस्कन्छ । यो निश्कर्ष पनि आदेशबाट नभई लोकतान्त्रिक विधि अपनाइन्छ । यही अन्तर–जनवादको फराकिलो स्थानको कारण कम्यूनिष्ट विचार र संगठन कुनै पनि प्रजातान्त्रिक नामधारी संगठनभन्दा बढी लोकतान्त्रिक हुन्छ भनेर कम्यूनिष्टहरुले ठाडो शिरमा जवाफ दिन सकिएको हो ।

सरकारमा पुग्यौं, तीनतीन वटा कार्यक्रम झण्डै दुइतिहाइ नजिकको कम्यूनिष्ट नामकै सरकार चलायौं । सामुहिक चरित्र निर्माण गर्ने, सामुहिकताको उदाहरण दिने, गरीब र निमुखाको सरकारी काममा सहज पहुँच बनाउन सकेनौ । आफुलाई विकासप्रेमी बताउने राजाको सक्रिय नेतृत्वको सरकारका प्रमुख मरीचमान वा सूर्यबहादुर थापा हुन् या प्रजातन्त्रको पर्याय भनीने गिरिजाप्रसाद कोइराला हुन् या र सर्वहाराका प्रतिनिधि भनिएका केपी शर्मा ओली नै हुन्, यी सबैका काममा व्यक्ति फेरिने बाहेक उदाहरणीय काम जनताले बुझ्ने गरि केही पस्कन सकिएन । किन काम गर्न सकिएन मुल्यांकन गरौँ, आत्मसमिक्षा गरौँ भन्दा उल्टै प्रश्न गर्नेहरुलाई समिक्षाको माग गर्नेहरुमाथि आरोप लगाएर कम्युनिष्ट शक्तिलाई तितरवितर, निश्प्रभावि र विघटनतर्फ अगाडि बढाइयो । कम्युनिष्ट आन्दोलनले विकास गरेको लोकतांत्रिक परिपाटीको कन्तविजोग बनाइयो । यी सबै कुरा हेर्दा, पौराणिक पात्र भष्मासुरलाई पनि माथ दिने हरकत हाम्रो आफनै जिवनमा भोग्न अनि देख्न पाइयो ।
त्यत्रो ठूलो सफलताको पार्टीको एउटा हिस्साको अहिले चलिरहेको कुम्भ मेलामा हेरौँ, छलफल पनि आइ लभ यू, संगठन पनि आइ लभ यू । हुँदाहुँदा फोटो प्रदर्शनको मोह, आफूपटि उठेका प्रश्नहरुमा विलकुल छलफल नहुनु, विषायन्तर गरिनु, संविधान अदालत व्यवस्था र सबै आफुप्रति आलोचक रहेका कमरेडहरु प्रति घृणा र गाली, अनि आफुले जे जे गल्ती गरेको हो त्यही त्यही गल्तीहरु अर्को साथीको टाउकोमा लादेर, सामन्ती कालमा भन्ने गरिएको कीर्ते, झेलीको अनुपम उदाहरण टुलु टुलु हेर्दै आइ लभ यु भन्नु पर्ने संगठनमा फेरिएको दुखद दृष्य जारी छ ।

उपसंहार
कोही पनि मानिस धनबहादुर नाम राख्दा धनी र बुद्दिमान नाम भएर बुद्दिमान नहुने भएजस्तै, कुनै पार्टी कम्यूनिष्ट नाम राख्तैमा त्यो पार्टी सर्वहारा वर्गको प्रतिनिधि पार्टी हुन सक्तैन । मूलतः त्यस पार्टीले लिएको सिद्धान्त र्माक्सवादी छ, छैन ? संगठनात्मक सिद्धान्त लेनिनवादी छ, छैन र तिनका सिद्धान्त र व्यवहार बीच तालमेल छ छैन भन्ने कुराले निधो गर्दछ । कम्यूनिष्ट पार्टी सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी मा सञ्चालन हुने संगठन हो । एउटा नेता बहुलठ्ठी रुपमा मनपरि गर्छ, मनपरि बोल्छ, अनावश्यक रुपमा देउता हुन खोज्छ भने त्यसलाई नियन्त्रण पार्टीले गर्न सक्ने संगठन मात्रै कम्यूनिष्ट हुन सक्छ । त्यसैले आफुलाई कम्यूनिष्ट आन्दोलनमा समर्पित छु भन्ने सबैले बुझौं, ‘आइ लभ यू केपी बा’ पार्टी, पञ्च परम्पराको निरन्तरता हो । कम्युनिष्ट आन्दोलन र संकल्पको, कम्युनिष्ट व्यवहार र प्रतिबद्धताको स्खलन हो । यसरी र्दूभाग्यवश कम्युनिष्ट आन्दोलनमा लागेका हौँ भन्नेहरुको एउटा भिड त्यो पञ्च ¥यालीमा बदलिएको छ । लोकतांत्रिक परिपाटीको पूर्णपालना गरी एक सच्चा जनपक्षीय, श्रमजीवि वर्गपक्षीय इमान्दार कम्युनिष्ट पार्टी बनाउने योजनामा धक्का लागेको छ र विचारहीन ‘आइ लभ यु पार्टी’मा रुपान्तरण भएको छ । यसले नेपालमा कम्युनिष्ट आन्दोलनको गतिलो समिक्षा र पुनर्गठनको माग गरिरहेको छ ।’(लोकतन्त्र पोष्ट अनलाइनबाट साभार)

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्