‘समाचार र विचारको
साझा चौतारी’




उच्च रक्तचाप तथा मुटुका बिरामीको खानपान र जीवनशैली दसैंमा कसरी स्वस्थ बनाउने?


काठमाडौं– हामी नेपालीहरुको महान चाड दसैँको माहोलमा छौं। दसैँमा टीका, जमारा लगाउने ठूलाबडाको हातबाट आशिर्वाद लिने गरिन्छ। दसैँको विशेष परिकार मासु पनि हो। दसैँको समयमा घरघरमा खसी, बोका, रागा, कुखुराको काट्ने र खाने गरिन्छ। घरमा वा छरछिमेक तथा आफन्तकोमा जता गए पनि मासु नै खाने चलन हुन्छ। यसले गर्दा अन्य समयमा भन्दा दसैँको समयमा बढी नै मासु खाने गरिन्छ।

दसैंको समयमा कार्यलय बिदा हुने हुँदा अघिकांश मानिसहरु दसैँ मनाउन गाउँघरमा फर्किने गर्छन्। आफ्ना नियमित कार्यलाई छाडेर मानिसहरु गाउँघर तथा पारिवारिक रमाइलो वातावरणमा रम्ने गर्छन्। जसले गर्दा उनीहरुको शारीरिक व्यायाम तथा काम नियमित नहुने पनि हुनसक्छ।

दसैँको महोलले शारीरिक व्यायाम नगर्ने र अन्य समयमा भन्दा अघिक मात्रामा खानेकुरा तथा मासु खाने बानीले मानिसहरुको स्वास्थ्यमा तत्कालिन तथा दीर्घकालिन समस्या निम्तिन सक्छ। त्यसैले दसैँ लगायत चाडपर्वको समयमा खानपानमा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन्। दसैँको समयमा विशेषगरी उच्च रक्तचाप मुटु रोग भएका तथा दीर्घ रोगका बिरामीहरुले खानपानमा विशेष ध्यान दिनुपर्ने मुटुरोग विशेषज्ञ डा रिजु मानन्धर र डा कुन्जान शेर्पा बताउँछन्।

यस्तै मुटुरोगका बिरामीले धेरै मात्रामा बोसो भएको चिल्लो, अजिनामोटा प्रयोग गरिएका खानेकुरा तथा मासु खान नहुने उनीहरुको भनाइ छ।

दसैँको समयमा मुटुको स्वास्थ्यमा कसरी ख्याल राख्ने? कस्तो खानपानले मुटुमा असर पर्दैन, कस्तो समस्या देखिएमा तुरुन्त स्वास्थ्यसंस्थामा जाने लगायतका विषयमा डा मानन्धर र डा शेर्पासँग स्वास्थ्यखबरले कुराकानी गरेको छ। डा मानन्धर र डा शेर्पाको भनाइ जस्ताको जस्तैः

मुटुरोगीका लागि स्वस्थकर खाना के हो भन्ने विषयमा बुझ्न अति आवश्यक छ। स्वस्थकर खाना हुनका लागि हामीले खाने खानामा कार्बोहाइड्रेडको मात्रा, प्रोटिनको मात्रा र बोसोको मात्रा मिलेको हुनुपर्छ।

नेपालीको बानी भात धेरै खाने तर तरकारी तथा गेडागुडी थोरै खाने छ। भातमा कार्बेहाइड्रेड हुने भएकाले भात मात्र खाँदा कार्बोहाइड्रेड बढी हुन्छ। मुटुलाई स्वस्थ राख्न शरीरमा कार्बोहाइड्रेडको मात्रा बढी हुनु हुँदैन। मुटुलाई स्वस्थ राख्न भातको मात्रा कम र सागसब्जी तथा फलफूल धेरै खाने र बोसोजन्य पदार्थ कम खानुपर्छ।

बनस्पती घ्यूमा बनेको खानेकुरा खानु हुँदैन। मुटुलाई स्वस्थ राख्न बोसोयुक्त मासु खानु हुँदैन। दसैँमा मासु खाने चलन हुन्छ। त्यतिबेला बोसोयुक्त मासु नखानु नै उपयुक्त हुन्छ। मासु पकाउँदा सकेसम्म तोरीको तेल प्रयोग गर्न सकिन्छ। घ्यूमा पकाएको खानेकुरा समेसम्म खानु हुँदैन।

खानामा कार्बोहाइड्रेड, बोसो, प्रोटिनको मात्रा बराबर मात्रामा खानु उपयुक्त हुन्छ।

कस्तो खाना खाने भन्ने कुरा रोग अनुसार फरक हुनसक्छ। जस्तो उच्च रक्तचापको समस्या भएका व्यक्तिले धेरै अचार, पापड, मसला, धेरै नुनिलो, बट्टामा प्याक गरेर राखेका खानेकुरा, अचार तथा अजिनामोटो प्रयोग गरिएको खानेकुरा खानु हुँदैन। बट्टामा राखिएको खानेकुरामा धेरै सोडियम हुन्छ। सोडियम भएका खानेकुरा धेरै खानुहुँदैन।

पोटासियम धेरै भएका खानेकुराहरु फलफुल, सागसब्जी धेरै मात्रामा खानुपर्छ।

यस्तै मधुमेहका बिरामीले पनि गुलियो पदार्थ कम खानुपर्छ।

जनमानसमा चिल्लो खान हुने तर गुलियो खानेकुरा खाँदा केही फरक पर्दैन भन्ने भ्रम छ। तर, यस्तो होइन। चिनी भएको खानेकुरा शरीरमा गएर बोसोमा परिणत हुन्छ। त्यसैले चियामा खाने चिया देखि कोल्डडिङ्क, मिठाइ कम खानुपर्छ।

यस्तै जीवनशैलीलाई स्वस्थ राख्न दैनिक शारीरिक व्यायाम गर्नुपर्छ। धुम्रपान गर्नु हँुदैन। यस्ता बानी अपनाउने हो भने मुटुलाई स्वस्थ राख्न सकिन्छ।

दिनमा यति नै मासु खानुपर्छ भन्ने हुँदैन। महत्वपूर्ण कुरा के छ भने सानो उमेरका व्यक्तिहरुको शारीरिक क्रियाकलाप बढी हुन्छ। उनीहरुले खाएको खानेकुरा सहजै पचाउन सक्छन्। तर जति उमेर बढ्दै गयो, त्यति नै जीवनशैली पनि निस्क्रिय हुँदै जान्छ। उमेर बढ्दै गएपछि कामको लोड र अन्य पारिवारिक जिम्मेवारीका कारण पनि मान्छेले आफूलाई समय दिन शारीरिक व्यायाम गर्न सकिरहेको हुँदैन।

मासु वा कुनैपनि खानेकुरा कति मात्रामा कसरी खाने भन्ने कुरा उसको जीवनशैली र सक्रियतामा पनि भर पर्छ।

दसैँको समयमा नेपालीहरु घरमै खसी, बोका, रागाँ काट्ने गर्छन्। बिहान देखि बेलुकासम्म मासुमात्र खाने बानी हुन्छ। यो बानी खासमा स्वास्थ्यका हिसाबले राम्रो होइन। यो बानी मुटुरोग भएका बिरामीलाई मात्रा होइन, स्वस्थ मानिसका लागि पनि हानिकारक छ।

धेरै मात्रामा मासुमात्र खाने बानीले विस्तारै मुटुरोग लाग्ने सम्भावना पनि बढ्नसक्छ। अन्य समयमा भन्दा दशैको समयमा गंगालाल अस्पतालमा बिरामीको चाप कम नै हुन्छ।

गंगालालमा आउने भनेको नेपालभरीका बिरामीहरु हुन्। सामान्यतय मानिसहरु सबैकुरा पहिला सकेर आफ्नो स्वास्थ्यलाई अन्तिम प्राथमिकतामा राखिरहेका हुन्छन्। अलिअलि छाती दुखेको छ, सास फेर्न गाह्रो भएको छ भने दसैँको बेलामा के अस्पताल जाने दसैँ सकेर जाउला भन्ने हुन्छ। छाती दुखिरहेको छ तर दसैँको बेलामा म चाँही के अस्पताल जानु पहिला भोज सकौँ रमाइलो गरौं भोलि पर्सी जाउँला अस्पताल भन्ने सोच बनाउछन्। त्यसैले मानिसहरुले अझै पनि आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छैनन्।

अति नै गाह्रो भए मात्रै अस्पताल जाने धेरै नेपालीको बानी छ। त्यो गलत हो।

अर्को कुरा दसैँको समयमा काठमाडौंमा मानिसहरुको संख्या कम हुन्छ। त्यसले गर्दा दसैँको समयमा गंगालाल अस्पतालमा बिरामीको चाप कम नै हुन्छ। वीर टिचिङ लगायतका अस्पतालहरुमा दसैँका खानपानले गर्दा स्वास्थ्यमा समस्या देखिएर उपचारका लागि आउनेहरु हुन्छन्। तर दसैँको खानपानले तत्काल मुटुमा असर परेर उपचारका लागि आउने मुटुरोगका बिरामी भने खासै देखिँदैन। तर खानपान स्वस्थकर नहुदा मुटुमा दीर्घकालिन असर भने पर्छ।

दसैँको समयमा अत्याधिक मात्रामा मदिरा सेवन गरेर मुटुको धड्कनमा असर पर्ने, उच्च रक्तचापको समस्या देखिएका बिरामीहरु भने बढी हुन्छन्। दसैँ तिहार जस्ता चाडवपर्वमा नियमित औषधि नखाने र दसैँको माहोलमा अल्कोहल, मासु लगायत खानेकुराहरु बढी मात्रामा खाइदिने गर्दा एक्कासी मुटुको धड्कन गडबढी हुने र रक्तचाप उच्च हुने समस्या बढी देखिन्छ।

हामीकहाँ आउने मुटुरोगका बिरामीहरुलाई चाडबाडमा मात्र होइन। अन्य समयमा पनि खानपानमा विशेष ध्यान दिन सल्लाह दिने गरेका छौं।

चाडबाड आएपछि बिरामीहरुले पनि सोध्नुहुन्छ,‘मासु खानु हुन्छ कि हुँदैन कति खाने के गर्ने ? भनेर । विशेषगरी उच्च रक्तचापका बिरामीहरुको के चाहन्छन् भने सकेसम्म औषधि खान नपाए हुन्थ्यो । उच्च रक्तचाप भएमा एकसातासम्म करेला खाने, नुन नखाने, एलोभेराको जुस पिउने गर्छन् । यसरी रक्तचाप कम गराउछन् र फेरी एकैपटक मासु, भात खाने बानी हुन्छ। मैले मेरो बिरामीहरुलाई जहिल्ये पनि भन्ने गर्छु कि डाइट भनेको जहिले पनि ब्यालेन्समा हुनुपर्छ। र डाइट ब्यालेन्स नियमित हुनुपर्छ।

एकदिन एककिलो नुन खाने अनि एकदिन नुन नै नखाने गर्दा त शरीरको ब्यालेन्स झनै बिग्रन्छ। यो दसैँको समयमा पनि ब्यालेन्स डाइट गर्नु नै उपयुक्त हुन्छ। हेल्दी लाइभस्टाइल र हेल्टी न्युट्रिसन हुन आवश्यक छ।

दसैँको समयमा प्राय अस्पतालहरुमा ओपिडि सेवा बन्द भएको हुन्छ। धेरै व्यक्तिहरु शहर छाडेर गाउँमा चाडबाड बनाउन गएका हुन्छन्। यस्तो अवस्थामा गाउँघरमा विशेषज्ञ सेवा पनि उपलब्ध नहुन सक्छ।

यस्तो अवस्थामा मुटुमा कुनै समस्या देखियो वा लक्षण देखियो भने घरमै बस्नु हुँदैन। यदी तपाईलाई शंका लाग्छ, तपाईको मुटु सम्बन्धि रोग लागेको हो कि भन्ने यस्तो अवस्थालाई सामान्य सोच्नु हुँदैन। किनकी मुटुरोगको समस्या सामान्य होइन। मुटुमा कुनै समस्या वा मुटुरोगको लक्षण देखिएमा नजिकको अस्पतालमा गएर मुटु जाँच गराउनुपर्छ। सबैलाई हामी यही आग्रह गर्न चाहन्छौँ। धेरै बिरामीे लामो बिदामा गाउँ जादा फोन नम्बर दिनुस् समस्या भए फोन गर्छु पनि भन्नुहुन्छ। तर, फोनबाट कुरा गरेर मुटुरोगको समस्या पहिचान गर्न र उपचार गर्न सम्भव हुँदैन। त्यसैले हरेक मान्छेको एउटै प्रकारको शरीर हुँदैन। जस्तो कसैलाई हार्ट अट्याक हुदा छाती दुखेर बेहोस् भएर ढल्ने हुन्छ कसैलाई छाती नदुख्ने पनि हुन्छ। त्यसैले तपाईलाइृ मुटुरोगको शंका लाग्छ भने ठाउँ वा शहर जहाभएपनि नजिकको अस्पतालमा जाँच गर्नुपर्छ।

मुटुरोगमा धेरैजस्तो आकस्मिक अवस्था हुनसक्छ। आफूलाई अत्याधिक छाती दुखिरहेको छ, धड्कनमा गडबढी भइरहेको छ, दम फुलेरसास फर्ने गाह्रो भइरहेको छ, पसिना आइरहेको छ, छाती भारी भइरहेको छ र यो मुुटरोगको समस्या हो भन्ने शंका लाग्छ भने तुरुन्त नजिकैको अस्पतालमा जानुपर्छ। यस्तै मुटुका दीर्घ बिरामीहरुमा यस्ता समस्याहरु देखिएमा पनि तुरुन्त अस्पताल आउनुपर्छ।

(रिता लम्सालसँगको कुराकानीमा आधारित)swsthyakhabarpatrika/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्