‘समाचार र विचारको
साझा चौतारी’




गर्भपतन: तथ्य र मिथ्याबीचमा रुमल्लिएको स्वास्थ्यको पाटो


समिता घिमिरे

गर्भपतन, यो एउटा यस्तो शब्द हो, जसले महिलाको मजबुरी, पीडा, उसको भोगाई जस्ता कुरादेखि महिलाको सन्तान जन्माउने इच्छा, अधिकार, स्वास्थ्य अवस्था, हक अधिकार, सपना र उसको खुशीसम्मलाई समेट्छ। तरपनि यसको बारेमा हाम्रो समुदायमा धेरैलाई वास्तविक जानकारी थाहा छैन।

गर्भपतन बारे खुलेर कुरा नगरिने भएकाले पनि होला यसबारे समुदायमा भएका जानकारी प्राय भ्रमपूर्ण र गलत हुने गर्छन्। त्यसैले त गर्भपतन स्वास्थ्यको विषय हुँदा हुँदै पनि यो लाज, हीनता र तिरस्कारको विषय बन्न पुग्छ।

गर्भपतन भनेको के हो?
विश्व स्वास्थ्य संगठनका अनुसार गर्भमा रहेको भ्रूण स्वाभाविक रूपमा जन्मनुभन्दा अघि नै गर्भाशयबाट बाहिर निस्किनुलाई गर्भपतन मानिन्छ।

गर्भपतनका प्रकारहरु
स्वत: हुने गर्भपतन
गर्भ जारी राख्न चाहँदा चाहँदैपनि यदि गर्भ तुहिन्छ भने त्यसलाई प्राकृतिक गर्भपतन भनिन्छ। प्राकृतिक गर्भपतन विभिन्न कारणबाट हुन सक्छन्। तीमध्ये मुख्य कारणहरु साल नबढ्नु, भ्रूणमा रोग देखिनु, गर्भाधारण गरेको महिलाको रगत रोगयुक्त हुनु, कमलपित्त, मलेरिया, यौन रोग जस्ता रोगका किटानुको संक्रमण हुनु, उच्च रक्तचाप हुनु, खानामा पौष्टिक तत्वको कमी हुनु, गर्भावस्थामा दुर्घटनाबाट पाठेघरमा चोट लाग्नु, मानसिक चिन्ता, आदि हुन सक्छन्।

कृत्रिम तरिकाले गरिने गर्भपतन
गर्भमा रहेको भ्रूण जन्म दिनु अगावै त्यसलाई बाह्य तरिकाबाट तुहाएमा त्यसलाई कृत्रिम गर्भपतन भनिन्छ। कृत्रिम गर्भपतन गराउने मुख्य कारणहरु सन्तानको इच्छा नहुँदा नहुँदै गर्भ रहनु, जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहनु, असुरक्षित यौन सम्बन्धबाट गर्भ रहनु, आमा र जन्मने बच्चाको स्वास्थ्यमा गम्भीर समस्या आउनु आदि हुन सक्छन्।

गर्भपतनसँग जोडिएका मिथ्याहरु

मिथ्या : “गर्भपतन गराउनु पाप हो”
तथ्य: यो पृथ्वीमा सबै प्राणीलाई बाँच्ने अधिकार छ। हाम्रो धार्मिक ग्रन्थहरुमा कुनै जीवित प्राणीको हत्या गर्नु पाप हो भनिन्छ। तर के गर्भमा रहेको भ्रूण जीवित प्राणी हो तरु नेपालको कानुनी मान्यता अनुसार महिलाको मञ्जुरिनामाको आधारमा १२ हफ्तासम्मको गर्भको गर्भपतन गराउन पाउने अधिकार छ। केही विशेष अवस्थाहरु छन्, जसमा पनि बिशेसज्ञ डाक्टरको रायसल्लाह लिएर मात्र २८ हफ्ता सम्मको गर्भ गर्भपतन गराउन पार्इन्छ। के १२ हफ्ता सम्मको गर्भ जीवित प्राणी हो?

१२ हफ्तामा भ्रूण एउटा आलुबखडा जत्रो हुन्छ। यो जीवित वस्तुहरुको संगम भएपनि जीवित प्राणीमा हुने भावना, महसुस गर्ने शक्ति, केहि पनि हुँदैन। कुनै पनि मानिस आफु स्वास्थ्य संस्था जानु, औषधि खानुलाई पक्कै पनि सहज वा अनुकुल विषय मान्दैन।

बिरामी भएर अन्तिम अवस्थासम्म स्वास्थ्य संस्था जान हिच्किचाउने महिलाले बिना कारण वास्ता नगरेर गर्भपतनको चक्की लिइरहेका छन् भन्ने बुझाई हाँस्यास्पद हो। कुनै न कुनै कारण बिना कसैले पनि गर्भ रहने अवस्था सृजना हुन दिँदैन र गर्भपतन गराएपनि त्यसलाई हल्का रुपमा भने लिदैन। हामीले पापकै कुरा गर्ने हो भने, एउटा महिलाको इच्छा भन्दा अण्डा, वीर्य र रगतको कोणबाट बनेको वस्तुलाई बढी मान्यता दिनु कतिको न्यायोचित होरु

मिथ्या: “गर्भपतन गराउने महिलाहरुको चरित्र राम्रो हुँदैन”
तथ्य: कुनै महिला वा दम्पत्तिलाई गर्भवती हुने इच्छा छैन भने परिवार नियोजनको साधन अपनाउनु सबैभन्दा राम्रो उपाय हो। तर यो सधै सम्भव हुदैन।

हामीसँग सम्पूर्ण परिवार नियोजनका सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाकै कमी छ। तालिम प्राप्त सेवा प्रदायकको कमी, साधन स्टक आउट हुने समस्यादेखि लिएर जानकारीको अभावका कारण सेवाग्राही स्वास्थ्य संस्थासम्म पुग्ने दरमा नै कमी छ। महिलाले गर्भनिरोधकको साधन अपनाए पनि त्यसलाई पुरुष साथीको करकापमा परेर बन्द गर्नुपरेको उदाहरणहरु हाम्रो समाजमा व्याप्त छन्। यस बाहेक पनि साधन प्रयोग गर्दा प्राविधिक असफलता हुनु, हाडनाता करणी, बलात्कार, आदिले महिलामा अनिच्छित गर्भ रहन सक्छ। गर्भ रहने यति धेरै कारण हुँदा हुँदै कुनै व्यक्तिको चरित्रहत्या गर्ने अधिकार हामीलाई कसले दियोरु

मिथ्या: “गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा अपनाउनेहरूको संख्या बढिरहेको छ”
तथ्य: गर्भ निरोधको साधन प्रयोग दर उच्च भएको ठाउँमा अनिच्छित गर्भको दर कम भएर गर्भपतनको दर पनि कम हुन्छ। परिवार नियोजनका साधनहरु सजिलो तरिकाले उपलब्ध भएमा र यसको प्रयोग गर्ने वातावरण भएमा महिलाहरुले गर्भपतनको बाटो रोज्दैनन्। सुरक्षित गर्भपतन सेवा भनेको महिलाहरुलाई गर्भपतन गराउने मात्र नभएर गर्भपतन गर्नुपूर्व र गरिसकेपछि परिवार नियोजन सम्बन्धि परामर्श र सेवा दिनुपनि हो। त्यसैले गर्भपतन परिवार नियोजनको साधनको प्रयोगमा बाधा पार्ने तत्व नभई परिवार नियोजनका साधनको प्रयोग बढाउने अवसर हो।

मिथ्या: “गर्भपतनले महिलाहरुमा निसन्तान अर्थात् बाझोपनाको सम्भावना बढाउँछ”
तथ्य: एक वर्षसम्म दम्पत्तिहरु बीच हप्ताको २(३ पटकसम्म परिवार नियोजनको कुनै पनि साधन प्रयोग नगरी यौन सम्पर्क राख्दा पनि गर्भवति नहुने अवस्थालाई बाझोपन भनिन्छ। पुरुषमा हुने बाझोपनका कारणहरु शुक्रकिटको खराबी, प्रजनन् अंगमा हुने संक्रमण, पौष्टिक तत्व र आरामको कमि, धेरै चिन्ता, आदि हुन सक्छन भने महिलामा अण्डा निस्कासन नहुने, इन्डोक्राइन डिसअर्डर, अण्डनली बन्द भएर, यौन संक्रमण भएर वा जन्मजात समस्या भएर हुन सक्छन्। यी मुख्य कारणहरु विश्लेषण गर्दा सुरक्षित गर्भपतन र बाझोपनबिच कुनै सम्बन्ध देखिदैन। तर असुरक्षित गर्भपतन गरेमा प्रजनन् अंगमा संक्रमण हुने, चोटपटक लाग्ने भएकाले बाझोपन हुने समस्या हुन सक्छ।

मिथ्या: “गर्भपतन खतरनाकर असुरक्षित हुन्छ”
तथ्य: विश्व स्वास्थ्य संगठनका अनुसार सुरक्षित गर्भपतनको प्रक्रियाबाट महिलाहरुमा लामो अवधिसम्म हुने जोखिम र जटिलता भएर महिलाको मृत्यु हुने सम्भावना पेनिसिलिन सुई दिएर मृत्यु हुने सम्भावना भन्दा पनि कम हुन्छ। संयुक्त राज्य अमेरिकामा गरेको एउटा अध्ययन अनुसार, गर्भपतनबाट भन्दा बच्चा पाउने क्रममा महिलाको मृत्यु हुने सम्भावना १४ गुणा बढी भएको पाइएको छ। त्यसैले सुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता हुने सम्भावना ज्यादै न्यून छ। यो विधि अति सजिलो, प्रभावकारी र सुरक्षित छ। तर, असुरक्षित गर्भपतन गराएमा यसबाट महिलाहरुको मृत्यु हुने र यसबाट महिलाहरुको मृत्यु हुने र जटिलता हुने सम्भावना धेरै हुन्छ।

मिथ्या: “गर्भपतनको कानुनस् व्यवस्था हाम्रो देशको आवश्यकता भन्दा पश्चिमा देशहरुको प्रभाव हो”
तथ्य: सन् २०१४ को एउटा तथ्यांक अनुसार विश्वमा प्रति वर्ष दुई करोड पचास लाख महिलाहरुले असुरक्षित गर्भपतन गराउछन्। तीमध्ये ९७५ असुरक्षित गर्भपतन विकासोन्मुख देशहरुमा हुन्छ। यसबाट प्रति वर्ष ४४ हजार महिलाहरुको मृत्यु हुन्छ भने प्रति वर्ष पचास लाख महिलाहरु विभिन्न प्रकारका स्वास्थ्य समस्यामा पर्दछन्।

मिथ्या: “गर्भपतन सेवा विस्तारसँगै समुदायमा यौन क्रियाकलाप बढेको छ र किशोरीहरूमा गर्भपतन गराउनेको संख्या बढ्दो छ”
तथ्य: नेपालमा पचास प्रतिशत महिलाले अठार वर्ष वा सोभन्दा कम उमेरमा नै प्रथम पटक यौन सम्पर्क राख्छन्। १५ देखि १९ वर्षका विवाहित महिलाहरुको परिवार नियोजनको अपरिपुरता माग ३५ प्रतिशत छ। सानै उमेरमा यौन क्रियाकलापमा सहभागी हुनुका कारणहरु सामाजिक सञ्जालको बढ्दो प्रयोग, आवत जावातामा सहज, बेरोजगारी, अशिक्षा, गरिबी आदि छन्। त्यसैले यी कारणहरु केलाएर यसको निराकरण नगरी सुरक्षित गर्भपतन गर्ने सुविधामा कमी गराएमा उनीहरुले असुरक्षित स्थानमा गर्भपतन गराई आफ्नो ज्यानै समेत जोखिममा पार्न सक्ने सम्भावना हुन्छ भने कसैले त्यो बाटो पनि नपाए आत्महत्या जस्तो निर्णयमा पुग्ने सम्भावना पनि रहन्छ। त्यसैले सुरक्षित गर्भपतन कार्यक्रमलाई दोष दिनुभन्दा किशोरीहरूमा हुने अनिच्छित गर्भलाई रोक्न प्रयास गर्यौ भने यसले सबैको भलाई हुन्छ।

-(समिता घिमिरे सामुदायिक विकास मञ्च नेपाल डोटीकी कार्यक्रम अधिकृत हुन्।)swsthyakhabarpatrika/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्