‘समाचार र विचारको
साझा चौतारी’




नेपालमा के- कस्ता प्रयोगशाला छन्? के-के पर्छन् बेला-बेलामा गर्नुपर्ने जाँचमा?


डा शंकर काफ्ले

प्रयोगशाला (ल्याब) भन्नाले कुनै चिजको गहन जाँच या अध्ययन गर्ने कक्ष बुझिन्छ। प्रयोगशाला मान्छेको स्वास्थ्य सम्बन्धी, बनस्पती सम्बन्धी, केमिकल सम्बन्धी लगायत धेरै किसिमका हुन्छन्। मान्छेको स्वास्थ्यसँग सिधै जोडिएको प्रयोगशाला के कस्ता हुन्छन् भन्ने बारे हामी सबैले बुझ्नु जरुरी देखिन्छ।

हामी कुनै ल्याबमा जाँदा निम्न कुराहरु हाम्रो मनमा खेल्न सक्छ:
• के यो नेपाल सरकारबाट मान्यता प्राप्त ल्याब हो?
• के यहाँ राम्रोसँग चेक जाँच गरिन्छ त?
• किन ल्याबपिच्छे रेपोर्ट फरक आएको हल्ला हुन्छ?
• के यसको मुल्य उचित हो?
• सबै ल्याब एउटै खालको हुन्छन् कि यिनिहरुको पनि गुणस्तर अनुसार बर्ग हुन्छ?

यी जिज्ञासा बारे तथ्य जानकारी सबैले पाउनुपर्ने हुन्छ।

के कस्ता प्रयोगशाला नेपालमा छन्?
ल्याबको काम अनुसार ल्याब ‘ए’ देखी ‘इ’ वर्ग सम्मका हुन्छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जारी गरेको मापदण्ड अनुसार यी प्रयोगशाला सन्चलनमा रहन्छन्। अनुमती र नियगमनको कुरामा ‘ए’ र ‘बि’ वर्गका प्रगोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गत छन् भने ‘सि’ वर्गको प्रयोगशाला प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशाला अन्तर्गत पर्दछन्। त्यसैगरी ‘डि’ र ‘इ’ वर्ग भने स्थानीय सरकार अन्तर्गत रहने छन्।

प्रयोगशालको काम के हो?
हाम्रो शरीरमा आइपर्ने स्वास्थ्य समस्या अनेकन छन्। जस्तै:
सरुवा रोग्: जिवाणु, विशाणु, ढुसी, पराजिवी आदिको प्रवेशबाट या तिनको असरमा हुने रोगहरु: टिबी, कुष्ठ रोग्, हैजा, कोरोना, आदि।
नसर्ने रोग: सुगर, प्रेसर, थाइरोइड, क्यान्सर, आदि
अन्य समस्या, जुन सर्ने या नसर्ने रोगको असरबाट निम्तने या अहिलेसम्म पत्ता लागि-नसकेका रोगबाट निम्तने समस्याहरु पर्न सक्छन्। जस्तै मिर्गौल फेल्।

पहिले कुष्ठ रोग सर्ने कारण पत्ता नलाग्दा पूर्व जुनीको पाप हो भनेर चित्त बुझाइन्थ्यो, पछि प्रयोगशालाको विकाससँगै यस्को कारण जिवाणु रहेछ भनि पत्ता लाग्यो। अनि सोही जिवाणु मार्ने औषधी प्रयोग गरी उपचार सम्भव भयो। त्यस्तै सुगर रोग कुनै जिवाणुले नभइ आफ्नै शरीरका केमिकलको उत्पादन र प्रयोगको तालमेल नमिल्दा हुने रहेछ भनि पत्ता लाग्यो र उपचार सम्भव भयो।
यसरी रोग पत्ता लगाउने मुख्य काम प्रयोगशालाको देखिन्छ। तर, अन्य अवस्थामा सहित प्रयोगशालामा जाँच मुख्यत ३ चरण सम्म गरिन्छ:

१) रोग पूर्व: कुनै रोग शंका लागेमा या रोग हुने जोखिम रहेमा
हामी आफूलाई थाहा नहुन सक्छ कति रोग हाम्रो शरीरमा प्रवेश गरिसका छन् भन्ने कुरा। जति चाँडो रोग पत्ता लाग्यो, उपचार गर्न त्यति सजिलो हुन्छ। सामान्य लाग्ने गाँठागुठी, कोठी, पोलेका दाग, आदिमा हामी केही हुँदैन भनी बसिरहेका हुन्छौं। एक पटक जाँच गर्दा नराम्रो त होइन रहेछ भनी हामी ढुक्क हुन सक्छौं। त्यस्तै उमेर अनुसार जोखिम बढ्ने पठेघरको मुखको क्यान्सर, प्रोस्टेट ग्रन्थिको क्यान्सर, आदि बारे पनि हामी सचेत भई उमेर घर्के सँगै आवस्यक चेक गरिरहनुपर्दछ।

२) रोग देखिएको अवस्थामा
यो बेला प्राय जाँच गरिन्छ भनी हामी सबै सचेत छौं, तर कुन टेस्ट गर्ने र कति गर्नुपर्छ भनी हामीलाई पूर्ण रुपमा चिकित्सकबाट बुझाइएको अवस्थामा भने छैनौं। त्यसैले बेला बेला बढी टेस्ट लेखिदिए, या आवस्यक टेस्ट पनि गराएनन् भन्ने चिकित्सक बिरोधी कुराहरु समाचार बनिरहन्छ।

रगत, पिसाब, दिसा, छालाका नमुना, मासुका नमुना, शरीरबाट निस्केका या निकालिएका तरल पदार्थ, आदि जुनै पनि नमुनाको जाँच प्रयोगशालामा गर्न सकिन्छ, जस्ले गर्दा समय मै रोग पत्ता लगाउँन मद्दत पुग्दछ।

३) औषधि उपचार चलिरहेको अवस्थामा
यो अवस्थामा उपचारको असर चेक गरिन्छ। राम्रो या नराम्रो दुबै किसिमका असर हुन सक्छन्। जस्तै: क्यान्सरको उपचार गर्दा नराम्रा कोश हराएका हुन्छन् भने औषधिको साइड इफेक्टले मिर्गौला, छाला या अरु अङ्गामा असर पुराएको हुन सक्छ।

के-के पर्दछन् बेला-बेलामा गराइ रहने जाँचमा?
माथि उल्लेख भए अनुसार रोग लग्नु पूर्व पनि हामी जाँच गराउछौं भने निम्न जाँचहरु गराउनु ठीक हुन्छ:
• रगतको मात्रा र रक्त कोसिकाको अवस्था हेर्न: CBC (complete blood count)
• मुख्य अङ्गको कार्य कुशलता हेर्न: जस्तै कलेजो, मिर्गौला, थाइरोइड : LFT(liver function test), RFT(renal function test), TFT(Thyroid function test)
• मोटोपन र मुटुमा असर पर्ने /नपर्ने हेर्न: lipid profile
• धेरैमा समस्या भइरहने रोग, जस्तै सुगर, बाथ: blood glucose, Uric acid, RA factor
• बुढौली साथमा लाग्न सक्ने प्रजनन अङ्गसँग सम्बन्धीत क्यान्सर रोग: PSA (पुरुष), CA-125(महिला)
• शरीरमा मिनेरलको मात्रा के कती छ भनी हेर्न: Protein, sodium, calcium, potassium
• पिसाबको खराबी हेर्न : Urine R/E

यी माथिका टेस्टहरु नै हाल गाउँ-बजारमा प्रचार गरिने whole body checkup भनिने ल्याब टेस्ट हुन्। यति गर्दा शरीरको सम्पुर्ण टेस्ट हुन्छ भन्ने चाँहि हामीले बुझ्नु हुँदैन, तर कम्तिमा यति टेस्ट गर्दा भने धेरै रोग चाँडो पत्ता लाग्न अवस्य मद्दत पुग्दछ।

कति पर्छ ल्याब टेस्ट गर्न?
नेपालमा ल्याबको मुल्य सुचीमा एक रुपता छैन। कोभिडको पिसिआर र एन्टिजेन टेस्टको मुल्य सरकारले तोकेको छ। तर अन्य टेस्टमा भने सरकारको ध्यान गएको देखिँदैन।

अहिले बजारमा कुनै एउटा टेस्टलाई २५ रुपयाँबाट ५०० रुपैयाँसम्म फरक परेको देखिन्छ। आफ्नै बिचारमा मुल्य राख्ने र अकर्षक छुट छ भनि प्रचार गर्ने परीपाटी बढेको देखिन्छ। महंगा अस्पताल भनेर चिनिने केहि अस्पताल बिचमा पैसा बढी राख्नेमा होडबाजी नै भइरहेको जस्तो देखिन्छ। त्यसैले मुल्य यति लाग्छ भन्ने कुरा हामीले १, २ वटा संस्थाको मुल्य अध्ययन गरेर मात्र बुझ्न सकिन्छ।

नमूना संकलन गर्ने नयाँ परिपाटी
हाल नेपालको स्वास्थ्य सम्बन्धी फितलो नीति-नियमको फाइदा धेरैले उठाउने गरेका छन्। हरेक गल्ली र वस्तिका कुना कुनामा रहेका फार्मेसी (औषधि पसल) पूर्ण अस्पताल जसरी काम गरिरहेका पाइन्छ। बिमारीको जाँच गर्ने, नमुना संकलन गर्ने र कतै ल्याबमा त्यो नमुना पठाउने गरिन्छ। झट्ट हेर्दा, बिमारीले सेवा पाएको देखिन्छ, तर सही रेपोर्ट आउनुमा नमुना संकलन पूर्व देखिको तयारी, नमुना संकलन बिधि, भन्डारण , ओसार-पसार, नमुनाको परीक्षणदेखि रेपोर्ट तयारी र हस्तान्तरण सम्मका कुरामा भर पर्दछ। अझ मुख्य भूमिका काउन्सेलिङको पनि हुन्छ। त्यसैले सजिलोको नाममा नमुना जहाँ पायो त्यही दिने र सोही आधारमा औषधि सेवन गर्दा स्वास्थ्यमा झनै असार गर्दछ।

Home service भनिने सेवा पनि खाने कुराको सेवा पुराए जस्तो गरी बिना मापडन्डको चलिरहेको देखिन्छ। ल्याबबाट मात्र नभइ कुनै डेलिभरी सर्भिस गर्ने संस्थाले नमुना लग्दा कहाँ लगेर जाँच गर्ने, कस्तो रेपोर्ट दिने र त्यस्को कति पैसा लाग्ने भन्ने स्पस्ट नियम भएको पाइँदैन।

अबको अवश्यकता र चुनौती:
• नेपाल सरकारले ल्याबको बर्गिकारण गरे अनुसारको सबै सरकारी तथा प्राइभेट ल्याबलाई बर्ग अनुसारको दर्ता प्रकृयामा ल्याउने।
• बर्ग र सेवा सुविधा अनुसार मुल्य सुची तयार गरी ल्याब टेस्टको मुल्य सुचिमा एक रुपता ल्याउनु पर्ने।
• अनधिकृत रुपमा औषधि पसल र अन्य संस्थाले बिमारीबाट नमुना संकलन गर्ने कार्य बन्द गराउने।
• नेपालबाट बहिर जाने नमुनाको नियगमन गर्ने र बहिर पठाउनु पर्ने बाध्यता कम गर्दै लाने।
• Home service लाई आवस्यक नियममा ल्याउनुपर्ने।
• सर्वसाधाराणमा प्रयोगशाला सम्बन्धी जन-चेतना जगाउने कार्यक्रम ल्याउनुपर्ने।

[डा काफ्ले (कन्सल्टेन्ट प्यथोलोजिस्ट) एसोसिएसन अफ क्लिनिकल प्यथोलोजिस्ट, नेपालका सहसचिब हुन्।]swsthyakhabarpatrika/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्