‘समाचार र विचारको
साझा चौतारी’




‘घिन्ताङ’ छाडेर ‘घुँइचो’ मा एलिजा


फिल्मीखबर, काठमाडौं, 2021/11/17
श्रीमान् ऋषि धमलाले निर्माण गरेको फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी एलिजा गौतमलाई पहिलो गाँसमै ढुंगा लाग्यो । यो फिल्म पत्तासाफ भएपछि उनलाई लिएर फिल्म बनाउन कोही मेकर तयार भएनन् । कोरोना महामारीको समयमा भने उनी म्यूजिक भिडियोमा जमिन् । पल शाहदेखि पुष्प खड्कासम्म उनले म्यूजिक भिडियोमा अनस्क्रिन रोमान्स गरिसकेकी छन् ।

म्यूजिक भिडियोमा सफलता पाएपछि एलिजालाई फिल्मको अफर टुटेको छैन । यसै वर्ष उनले दोस्रो फिल्मको रुपमा निर्देशक दीपक श्रेष्ठको ‘घिन्ताङ’ साइन गरेकी थिइन् । तर, पिता विरामी भएर क्यानडा जानुपर्ने भएपछि उनले फिल्मबाट हात झिकिन् । यसबीच, उनले नयाँ फिल्म साइन गरेकी छन् । रामजी दैलेखीको निर्माणमा बन्न लागेको फिल्म ‘घुँइचो’ मा उनी भित्रिएकी हुन् ।

मंगलवार निर्माता दैलेखी र नायिका गौतमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ । एलिजाले फिल्म साइन गरेपछि खुशी हुँदै भनिन्– ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ । ‘घुँइचो’ मा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’

निर्माता दैलेखीले फिल्मका लागि अन्य कलाकार पनि चाँडै फाइनल गर्ने जानकारी दिए । उनले भने– ‘नेपालका हरेक मानिसहरु केही न केही प्राप्त गर्ने आशामा छन् । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्नेछ । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर छाड्ने छैनौं ।’

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्