बोक्सी आरोपमा महिलालाई खुट्टाको पैतालो चटाइयो


दुई धामी र एक पुजारी पक्राउ

नगेन्द्र उपाध्याय
६ पुस २०७८

सुर्खेतको लेकवेशी नगरपालिका–४ सिमलेमा ‘बोक्सी’ भन्दै खुट्टाको पैतालो चटाउने दुई धामी र एक पुजारी पक्राउ परेका छन्। आइतबार ज्ञवालीहरुको कुलपूजामा सहभागी भएकी बाँकेकी एक महिलालाई बोक्सी लागेको भन्दै कुटपिट गर्नुका साथै दुई जना धामीले पालैपालो पैतालो चटाएका थिए। प्रहरीले मंगलबार कुलपूजामा बोक्सी आरोपमा कुटपिट र पैतालो चटाएको अरोपमा दुई जना धामी र एक जना पुजारीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पुजारी नन्दलाल ज्ञवाली र धामीहरु मिलन ज्ञवाली तथा भक्ति ज्ञवालीलाई पक्राउ गरिएको बताए। ‘महिलामाथि अपमानजनक तथा अमानवीय कसुर गरेको आरोपमा एक पुजारी र दुई जना धामीलाई पक्राउ गरेका छौं,’ एसपी विष्टले भने, ‘मुलुकी अपराध संहिता, २०७४ को धारा १६८ अनुसार कारबाही प्रक्रियाका लागि अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं।’ धारा १६८ मा अपमानजनक तथा अमानवीय कसुर गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

मुलधामी भूपेन्द्र ज्ञवालीले देउताका वहानहरुले नगर्नुपर्ने काम गरेको बताए। ‘महिला बौराउँदै आएकी थिइन्, मैले हेर्दै गरेको अक्षता र टालो उनले फालिदिइन्,’ मुलधामी भूपेन्द्रले भने, ‘देउताका वहानले पिटपाट गरिदिए, दुबै जनाले पैतालो चटाउन लगाए।’

ज्ञवाली बन्धुका पुजारी नन्दलाल ज्ञवालीले पहिलो पटक कुल देवताको पूजामा आएकी चेलीमाथि ‘देउताका वहान’ले दुर्व्यवहार गरेको बताए। ‘पूजा सकिएपछि देउता बस्यो, कुलभित्रका समस्याका बारेमा धामीलाई हेराउन सुरु गरिएको थियो, त्यही बेला बाँकेबाट आएकी चेलीलाई बोक्सी लागेकाले काप्न थालिन्,’ उनले भने, ‘मूल धामी अक्षता दिएर शान्त बनाउन खोज्दै हुनुहुन्थ्यो, देउताका वहानहरुले कुटपिट गर्दै पैतालो चटाउन थाले, यो राम्रो भएन।’nagariknews/from

0% LikesVS
100% Dislikes