भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी,बिग्रँदो आर्थिक अवस्थाले चरम निराशा


विवाहका नाममा बेचिएकी १० वर्षीया क्वान्डी गुल भाइसँग। तस्बिरःः एपी

काठमाडौँ
१९ पुस २०७८

इलेना बेकाटोरोस/एपी
सेदाई क्याम्प (अफगानिस्तान)

अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्। अजिज गुल नाम गरेकी ती महिलाका पतिले उनलाई थाहै नदिई १० वर्षीया छोरीलाई विवाहका नाममा बिक्री गरेका थिए। अरू ५ बालबालिकाको भरणपोषणका लागि उनका पतिले अग्रिम भुक्तानीमा ती छोरीलाई बेचेका थिए। छोरीलाई बेचेर भएको आम्दानीले अरू सदस्य भोकभोकै बस्नुनपर्ने उनका पतिको तर्क थियो। परिवारका अरू सदस्यलाई बचाउन एकजनाको बलिदान गर्नुपरेको धारणा उनको थियो।

गरिबीका कारण अफगानिस्तानका अरू कैयन असहाय अभिभावक यस प्रकारको निराशाजनक निर्णय लिन बाध्य छन्। तालिबान समूहले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि गत अगस्तमा अमेरिकी तथा नाटो सैनिक बाहिरिएका थिए। बाह्य अुनदानमा आश्रित अफगानिस्तानको अर्थतन्त्र विदेशी सैनिकको बहिर्गमनअगाबै कमजोर थियो। यसबीच तालिबानसँग सहकार्य गर्न अनिच्छुक विश्व समुदायले देशबाहिर रहेको उसको सम्पत्ति फ्रिज गरेको छ भने अन्य अनुदान पनि रोकेको छ। २० वर्षअघि सत्तामा रहँदा तालिबानले गरेको ज्यादती फेरि दोहोरिन सक्ने आशंका विश्व समुदायलाई छ। चार दशक लामो युद्ध खेपेको यो देश चर्काे खडेरी तथा कोरोना भाइरस महमारीका कारण संकटमा छ। डाक्टरसहित अन्य सरकारी कर्मचारीले महिनौंदेखि मासिक तलब पाउन सकेका छैनन्। कुपोषण तथा गरिबीका कारण यहाँको ठूलो जनसंख्या जोखिममा छ। दातृ संस्थाका अनुसार अफगानिस्तानको आधा जनसंख्या गम्भीर खाद्य संकटमा छ।

‘दिनानुदिन यहाँको स्थिति बिग्रँदो छ, विशेषगरी बालबालिका यसबाट सबैभन्दा बढी प्रभावित छन्,’ अफगानिस्तानमा कार्यरत दातृ निकाय वल्र्ड भिजनका राष्ट्रिय निर्देशक असुन्था चार्ल्स भन्छिन्। उनको संस्थाले अफगानिस्तानको पश्चिमी सहर हेरातनजिकै विस्थापित सर्वसाधारणका लागि हेल्थ क्लिनिक सञ्चालन गर्दै आएको छ।

‘परिवारका अन्य सदस्यलाई बचाउन आफ्ना बालबालिका बेच्न बाध्य भएको देख्दा म अत्यन्त मर्माहत भएकी छु,’ उनले भनिन्। मानवतावादी विश्व समुदायले अफगान जनतालाई सहयोग गर्न आवश्यक रहेको उनको कथन थियो। अत्यन्त सानो उमेरमा किशोरीको विवाह गर्नु यो क्षेत्रको आम प्रचलन हो। टाढाको नाताका दुलाहाको परिवारले पैसा तिरेर यस प्रकारको सम्झौता गर्ने गर्छन् र सामान्यतया उमेर १५–१६ वर्ष नभएसम्म किशोरी माइतीमै बस्ने गर्छन्। तर आधारभूत खाद्यवस्तुको अभावमा दुलाहाले त्यसअघि नै किशोरी दुलहीलाई भित्र्याउन अनुमति पाउँछन्।

आर्थिक अवस्था सारै खस्किएपछि कतिपयले आफ्नै किशोर छोरालाई बेच्न चाहेको देखिन्छ। तर १० वर्षीय किशोरीकी आमा गुल आफ्नी छोरी बेच्न अनिच्छुक छिन् र उनले यसको प्रतिरोध गरेकी छिन्। १५ वर्षमै बिहे गरेकी गुलले छोरीलाई बलजफ्ती गरेमा आत्महत्या गर्ने चेतावनी दिएकी छिन्। उनले आफ्नी छोरी क्वान्डी गुललाई बेचिएको कुरा तुरुन्त थाहा पाएकी थिइन्। पछिल्लो २ महिना परिवारले सहज रूपमा खाना खान पाएको थियो। जब उनले पैसा कहाँबाट आएको हो भनेर सोधिन्, उनका पतिले विवाहको बारेमा बताएका थिए। ‘त्यो सुन्दा मेरो मुटुको धड्कन रोकियो। म मरेको भए हुन्थ्यो भन्ठानें तर मलाई मर्न नदिने भगवान्को इच्छा हो कि भन्ने ठानें,’ गुलले भनिन्। उनले त्यो घटना सम्झिँदा आफू मरेतुल्य हुने गरेको बताइन्। उनले यसो किन गरेको भनेर बारम्बार पतिलाई सोध्ने गरेकी छिन्।

‘एकजनाको बिक्रीले अरू बाँच्न सक्ने भनेर उस (पति) ले भन्ने गरेको छ’, उनी थप्छिन्। ‘तिमीले गरेको कामभन्दा त मृत्यु श्रेयस्कर हुने थियो,’ उनले पतिलाई भन्ने गरेकी छिन्। गुलले समुदायका अन्य सदस्यलाई आफूलाई थाहै नदिई छोरी बेचिएको बताइन्। समुदायका सदस्य उनको समर्थनमा उभिए र उनीहरूको सहयोगमा उनले किशोरी छोरीको सम्बन्ध विच्छेद गर्न सक्ने भइन्। तर छोरी बेचेबापत पतिले लिएको एक हजार अमेरिकी डलर तिर्न सकेमात्र उनले छोरीलाई बचाउन सक्ने भइन्। उनीसँग यति ठूलो रकम छैन र उनका पति भागिसकेका छन्। सरकारी अधिकारीसमक्ष बेइज्जत हुने डरले उनका पति भागेको हुन सक्छ। तालिबान सरकारले महिला तथा किशोरीको बलजफ्ती विवाहमा बन्देज लगाएको छ। यसैगरी आपसी विवाद मिलाउन महिला तथा किशोरीलाई टोकनका रूपमा प्रयोग गर्न पनि नपाइने व्यवस्था छ।

बेचिएकी छोरीमाथि दुलाहा परिवारले बारम्बार दाबी गरेको बताउँदै गुलले थपिन्, ‘मैले कहिलेसम्म थेग्छु थाहा छैन। म हतास भएकी छु। मैले छोरीलाई आफैंसँग राख्न नसकेमा र उनीहरूलाई पैसा तिर्न नसकेमा मसँग आत्महत्याबाहेक अरू विकल्प छैन।’ दिउँसो काम गर्न जाँदा उनले आफ्ना केटाकेटीलाई आमाको जिम्मा लगाउने गरेकी छिन्। उनका १२ वर्षीय छोरा विद्यालयबाट फर्केपछि केसर (स्याफ्रोन) टिप्न जान्छन्। केसर टिप्ने सिजन छोटो अवधिको हुने भएकाले त्यो आम्दानी पनि दीर्घकालीन बन्दैन। ‘हामीसँग केही बाँकी छैन,’ गुल भन्छिन्।

विस्थापित सर्वसाधारण रहेको यो क्याम्पको अर्काे भागमा चार बच्चाका पिता हमिद अब्दुलाहको पीडा उस्तै छ। उनी गम्भीर बिरामी परेकी तथा गर्भवती आफ्नी पत्नीलाई बचाउन आवश्यक पैसाका लागि मागी विवाहमार्फत छोरीहरूलाई बेच्न बाध्य भएका छन्। उनले पत्नीको उपचारका लागि लिएको ऋण तिर्न सकेका छैनन्। त्यसैले ३ वर्षअघि उनले सबैभन्दा जेठी छोरी (जो अहिले ७ वर्षकी भएकी छन्) को १८ वर्षीय किशोरसँग विवाहका लागि अग्रिम भुक्तानी लिएका थिए। अहिले उनी आफ्नी ६ वर्षीया माइली छोरी नाजियाको यस्तै विवाह गर्न वरको खोजीमा छन्।

‘हामीसँग खानेकुरा केही छैन। पत्नीको उपचारका लागि झन् धेरै पैसा चाहिएको छ। उनको अर्को सर्जरी हुन लागेको छ। कसैले पनि मलाई सहयोग गरेको छैन,’ अब्दुलाह आफ्नो पीडा सुनाउँछन्। जेठी छोरी ठूली नभएसम्म सम्झौताअनुसारको बाँकी रकम नपाइने भएकाले माइली छोरीलाई दुई सयदेखि तीन सय अमेरिकी डलरको सम्झौतामा विवाह गर्न उनी तयार छन्। ‘हामीसँग अरू विकल्प छैनन्,’ उनकी श्रीमती बिबी जान भन्छिन्। ‘जति बेला हामीले छोरीका बारेमा यो निर्णय गर्‍यौं, आफ्नै शरीरको अंग कसैले लगेको जस्तो महसुस भयो,’ उनी थप्छिन्।

नजिकको अर्काे प्रान्त वादगिसमा रहेको एक परिवारले ८ वर्षीय छोरालाई बेच्न चाहेको छ। कैयन दिनसम्म केही खान नपाएपछि ती छोराकी आमाले नजिकैको बजारमा लगेर आफ्नो छोरालाई बेच्न पतिलाई भनिसकेकी छिन्। ‘म मेरो छोरालाई बेच्न चाहन्नँ तर मैले त्यसै गर्नुपरेको छ’, ३५ वर्षीय आमाले भनिन्। ‘कुनै पनि आमाले त्यसो गर्न चाहँदैनन् तर अरू कुनै विकल्प नभएपछि इच्छाविपरीत पनि निर्णय लिनु पर्दाेरहेछ,’ उनी भन्छिन्। उनका पतिको मिर्गौलामा समस्या छ र एउटा आँखा देख्दैनन्। छोरा बेच्न दुईपटक बजार गएको तर नसकेको प्रतिक्रिया उनका पतिको छ। ‘तर अब मसँग अरू विकल्प छैन, उसलाई बेच्नबाहेक,’ ती पिता भन्छन्। त्यसो त किशोरीको भन्दा किशोरको बेचबिखन अलि कम हुने गर्छ। तर छोरा नभएका परिवारले सानो उमेरका किशोरलाई खरिद गर्ने गरेको देखिएको छ।

भोकमरीको समस्या बेहोर्न बाध्य लाखौं अफगानी परिवारमा निराशा छाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस देशमा ५ वर्षमुनिका ३२ लाख बालबालिका गम्भीर कुपोषणबाट आक्रान्त छन्। वर्ल्ड भिजनकी असुन्था चार्ल्स अफगानिस्तानमा मानवीय सहयोगको ठूलो आवश्यकता रहेको ठान्छिन्। ‘अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धतामात्र होइन, वास्तविक सहयोग पुर्‍याउन आवश्यक छ,’ उनी भन्छिन्।nagariknews/from

50% LikesVS
50% Dislikes