मास्टरर्नी (आफ्नै कथा)


२०४४ सालतिरको समय हो । काठमाण्डौ बसाईको क्रममा अरुहरु जस्तै हामी दिदी बैनी पनि डेरा सर्दै ज्ञानेश्वर कालोपुल पुगेका थियौं डिल्ली बजारमा चुरा सहित कस्मेटिक सामानको ब्यापार गर्ने दिदी दाइको घरमा । अहिले पनि उहांहरु त्यही ठाउंमा त्यही नै ब्यापार गर्नु हुन्छ । तीनजना दिदी बैनी, तर कोठा भने एउटा । कोठामा एकातिर दुईजना सजिलै अट्ने खाट थियो । चिटिक्क पारेर मिलाएको ओछ्यान र भित्तामा माथिसम्म पुग्ने गरी पट्याएर राखेका अन्य डस्ना र सिरक हुन्थे जुन राती भुइंको ओछ्यानको लागि चाहिन्थ्यो हामीलाई । एकजना मात्र भुइंमा सुत्दा पिर पर्छ भनेर म र माल्दिदी जहिले पनि भुइंमा सुत्ने गर्थेऊं ।त्यसैले ठुलै खाट भए पनि ठुल्दिदी मात्र सुत्नु हुन्थ्यो खाटमा । खाटको गोडामुनितिर झापाबाट ल्याएको लुगा राख्ने आल्नामा पट्याएर राखेका हाम्रा लुगा । अनि एउटा कुनामा छोपेर राखेको पानीको बाल्टी हुन्यो । स्टोभ र भाडांकुंडा ठुलो बाटामा ९आरी ० राखेर हामी खाटमुनि लुकाउथ्यौं ।यस्तै थियो हामी दिदी बैनीको सानो संसार ।
पध्मकन्या कलेज बागबजार, त्यसबेला म र माल्दिदी स्नातक पहिलो बर्षमा पढथ्यौं । मैले पढ्ने बिषय चैं अंग्रेजी,अर्थशास्त्र,नेपाली र इतिहास थिए । दिंउसो पढ्ने छात्राहरु भन्दा बिहान पढ्नेहरु निक्कै सरल हुन्थे । नपुगेर हो वा नभ्याएर हो केही अपबादलाई छोड्दा सबै हामी समान्य परिवारका हौं भन्ने कुरा सर्लक्कै छुटिन्थ्यो । हामी आइरन किन्ने हैसियतमा अलि पुगेका थिएनौं । धोएका लुगा सुक्ने बित्तिकै पट्याउंदा अलि कम कच्याक कुचुक हुन्थे । कलेजको सारीमा हामी धोएर कहिलेकाहिं माड हाल्थेउं । माड हालेको सारी सुक्दा पट्याउन निकै गाह्रो हुन्थ्यो । दुईजना भएर तानतुन गर्दा कहिलेकाहिं एकातिर धेरै तानेर चुच्चो पर्थ्यो । यसरी पट्याएको सारी हामी खाटको डस्ना मुनि राख्थ्यौं ।भोलिपल्ट पट्याएको धारलाई मुजा बनाउंदा सारी राम्ररी मिल्दथ्यो ।अनि एकचोटी मिलेपछि झण्डै दुई हप्तालाई ढुक्क हुन्थ्यो ।
निर्वाचन आयोगको अस्थायी जागिर गइसकेको थियो । तै पनि जागिर खोज्ने काम भने रोकिएको थिएन । यसै क्रममा ( विनायक शुधा निकेतन ) भि एस निकेतन हाईस्कुल थापाथलीमा मास्टर चाहिएको कुरा हामी संगै पढ्ने साथी दिपिका शर्मा ( दमक ) ले सुनाइन् । दिपिका, म, उनका भाइ द्रुपद र हाल नेपाल सरकारको सह सचिबबाट अवकाश हुनु भएका रुप नारायण भट्टराई सर जागिर खोज्दै विनायक सुधा निकेतन ) भि एस निकेतन ) थापाथली पुग्यौं । त्यतिबेला भिएस निकेतन स्कुल मिनभवनमा थिएन । सो स्कुलका प्रिन्सिपल बाबुराम पोखरेल सरसंग भेट भयो । उहांले हामीसंग इगंलिस, म्याथ, अकाउन्ट, नेपाली बिषयका टेस्ट लिनु भयो । मैले चाहिं म्याथ र अकाउन्ट आउदैन भनेर इगंलिस र नेपालीको मात्र टेस्ट दिएं र सोही दिन हामीले आ(आफ्नो योग्यता अनुसार दिपिकाको मेजर नै इगंलिस भएकोले उनले इगंलिस, रुपनारायण सरले अकाउन्ट, मैले नेपाली र भाइ द्रुपदले म्याथ बिषय पढाउने गरी जागिर पायौं ।
अब भने म पनि बोर्डिगं स्कुलमा पढाउने मास्टर्नी भएं ।तर, त्यो बेलामा पनि शिक्षिकालाई मिस नै भनेर बोलाइन्थ्यो ।मैंले चाहि कक्षा छ देखि दशसम्म नेपाली बिषय पढाउनु पर्ने भयो र अनि तलव चाहिं नौ सय रुपैंया दिने भनियो प्रति महिना ।दिउंसो खाजा भने आया दिदीले पकाएको चना चिउरा र कालो चिया खान पाइन्थ्यो अरु सुबिधा भने केही पनि थिएन । पहिलो तलव बुझ्दा पो थाहा भयो दिपिका, रुप सर र द्रुपदलाई त एक हजार पो दिएका रहेछन बाबुराम सरले । कुरा गरौं भने त्यही जागिर पनि जाला भनेर चित्त बुझाएं।
बाबुराम सर निकै कडा, त्यसमाथि नयाँ शिक्षिका, स्कुल गएदेखि छुट्टी नभइन्जेल सम्म हरेक कुरामा निगरानी राख्नु हुन्थ्यो । कहिले काहिं आया दिदीलाई, कहिले कार्यालय सहयोगी भाइलाई टाढाबाट पढाएको हेर्न पठाउनु हुन्थ्यो । कहिले थाहा नै नदिई आफु कक्षा कोठामा बिधार्थी भाइहरुसंग पछाडि बसेको पढाउंदा पढांउदै पछि मात्र देखिन्थ्यो । कहिले आफु नदेखिने गरी कुनाबाट लुकेर समेत पढाएको हेर्नु हुन्थ्यो । यसैले जुनसुकै समयमा पनि आफु सजग रहनै पर्थ्यो।बाबुराम सरका पाँच सात बर्षका दुईजना छोराहरु पनि त्यही स्कुलमा पढ्थे भने उहाँकी श्रीमती ( नाम बिर्सें मैले उहांको ) पनि स्कुल त नियमित आउनु हुन्थ्यो तर कक्षामा भने कहिलेकाहीं मात्र देखिनु हुन्थ्यो,सायद अफिसको काम हेर्नु हुन्थ्यो होला। समय बित्दै गए, म पनि आफ्नो मास्टर्नी पेशा प्रति बानी पर्दै गएं । बाबुराम सरले मेरो कामको पनि कदर गर्नु हुन्थ्यो, बेलाबेलामा मुसुक्क हाँस्दै मुन्टो हल्लांउदै ।
कलेजमा मैले अनिवार्य नेपाली बिषय लिएकोले मलाई कुनै पनि पाठको सारंश, सविस्तार वर्णन, ब्याख्या विष्लेषण लगायत व्याकरणमा कुनै समस्या भएन । कलेजमा पढेको व्याकरण जस्ताको तस्तै कक्षामा बिध्यार्थीहरुलाई नोट लेखाउंदा उनीहरु निकै खुसी हुन्थे भने मलाई पनि दोहोरो तयारी गर्नु पर्दैनथ्यो ।ज्ञानेश्वरको बसाई, बिहान साढे छ बजे कलेजमा पढाई शुरु हुने, साढे दश बजे सकिने र स्कुल पनि दश बजे शुरु हुन्थ्यो ।खाना घरमै खान र स्कुल ड्रेस (सारी ) लगाउनकै लागि झण्डै दुईवटा क्लास छोड्नु पर्थ्यो । चौथो घण्टीमा अर्थशास्त्र पढाई हुन्थ्यो त्यसमा पनि धेरैजसो छुट्ने र गाह्रो बिषय स्टाटिस्टिक हुन्थ्यो । छुटेका क्लास साथीहरु संग नोट सारेर पढ्ने चलन थियो।
मास्टर्नी जागिर शुरु गरेको करिब चार महिना पछि एक दिन बिहान म र माल्दिदी कलेज जाने क्रममा कुमारी हल निर के पुगेका थियौं बाटो देब्रेतिरको पुरानो घरबाट एक हुल भुस्याहा कुकुर निस्किएर हामीलाई भुक्न थाले । माल्दिदीले मलाई “ नकुद नकुद “ भन्दै हुनु हुन्थ्यो । तर मलाई असाध्यै डर लागेर खुरुररु बाटो पारिपट्टी दगुरें, झन कुकुरहरु झम्टिदै आए र एउटा खैरो कुकुरले मलाई पिडुंलामा रगतै आउने गरी टोक्यो ।माल्दिदीले इटाको टुक्रा हानेर कुकुर त भगाउनु भयो । तर, कुकरले टोकेको घाउको पिडा र डर भन्दा पनि बाबुराम सरको डर खपि नसक्नु भयो । अनि हामी त्यहींबाट फर्केर डेरा गयौं। खाना खाएर रेविजको सुई लगाउन सहिद शुक्रराज अस्पताल त्रिपुरेश्वर गयौं फेरि माल्दिदी र म । नाइटोको वरिपरि सातवटा सुई लगाई दिए मलाई । असाध्यै पिडा भए पछि त्यहींबाट मैले स्कुलमा बाबुराम सरलाई फोन गरेर आफुलाई कुकुरले टोकेको र आज आउन नसक्ने जानकारी गराएं । तर उहांले “ तपाईंको क्लास कस्ले कभर गर्छ ? बरु अलि ढिलो आउनु,आउन चैं आउनु चन्द्रकला मिस” भन्नु भयो । जागिरको सवाल,बाबुराम सरलाई जित्न सकिन मैले । अफिसमा गए पछि सामान्य सोधखोज गरेर “होस गर्नु पर्थ्यो नि, ल बिस्तारै क्लास लिनुहोस्” भन्नु भयो । मैले बाबुराम सरबाट यस्तो अपेक्षा नराखेको भएर होला, थाहा नै नपाई बरर आँशु झरे ।सास फेर्न पनि गाह्रो भएकोले एक हातले पेट समाउंदै त्यो दिनका बांकी क्लासहरु लिंए मैले ।
देशमा बहुदल ब्यवस्था स्थापना भैसकेको थिएन । कलेज स्ववियू चुनावको गर्मीले निकै तातेका थिए । ब्यानर, पोस्टर अनि पम्प्लेटिगंले कलेज बिहे घर जस्तै देखिन्थे । पद्मकन्या कलेजबाट मैले पनि उप सभापति पदमा उम्मेदवारी दिएकी थिंए ।बेर्डिगंको जागिर, बिहान एकछिन कलेज गएर चुनाव प्रचार गर्न मलाई निकै कठिन थियो । तै पनि साथीहरुले बिहान र शुक्रबार ३ बजेपछि कार्यक्रम राखेर सहयोग गरेका थिए ।
कलेजमा चुनाव हुन त्यस्तै चार दिन बांकी हुंदो हो, म कक्षा ९ का नानीहरुलाई क्लास लिईरहेकी थिएं । एक्कासी आया दिदी आएर प्रिन्सिपल सरले अफिसमा बोलाउनु भएको छ तुरुन्तै जानु अरे मिस,भन्नु भयो । एकैछिन है भनेर म क्लास छाडेर अफिस गएं । बाबुराम सरले कुर्सीमा बस्न अनुरोध गर्नु भयो । म पनि डराई डराई बसें कुर्सीमा । मेरो अनुहारमा हेर्दै बाबुराम सरले “ कुरा किन चपाएर गर्नु, त्यो पद्मकन्या कलेजको ब्यानरमा उप सभापति पदमा तपाईंको नाम भएको सही हो कि हैन चन्द्रकला मिस”? भनेर सोध्नु भयो । एक मनले ला ‘ सरले थाहा पाएछन भन्ने लाग्यो भने अर्को मनले मैले के अपराध गरेको छ र भन्ने पनि लाग्यो । अनि मैले तुरुन्तै “हो सर” भनेर जवाफ दिंए । उहाँलाई मेरो नाम होइन भन्छे कि भन्ने अपेक्षा थियो होला सायद, एकै छिन अनुहारमा एकोहेरो हेरी राख्नु भयो । अनि उहांले “ त्यो नाम फिर्ता लिन सक्नु हुन्छ कि हुन्न” भनेर पुनः सोध्नु भयो । तर मैले नाम फिर्ता लिने भए त उठ्ने नै थिइन नि सर भनेपछि “ फलानो प्यानलबाट उठ्नु भएको भए केही कन्सिडर गर्न सकिन्थ्यो तर तपाईं त फलानो प्यानलबाट उठ्नु भएछ “ भन्दै लामो सास फेर्नु भयो । अनि सरले “अब मैले तपाइलाई जागिरबाट निकाल्दा नराम्रो लाग्ला, ल आफैं घरायसी कारण देखाउंदै राजिनामा दिनुहोस्” भनेपछि म छांगाबाट खसे जस्ती भएँ।
स्पष्ट कारण र समयको पावन्दी बिना नै अन द स्पट मैले राजिनामा दिनु पर्ने भयो । मैले पनि रुंदैं “ भर्खर आइ ए पास गरेकी बिधार्थीले एस एल सी दिने बिधार्थी तयार गर्न सानो दुस्ख गरेकी थिइन सर” भन्दै राजिनामा लेखेर दिंए र एकचोटी कक्षाका नानीहरुसंग बिदा माग्ने अनुमति मागें । सरले नि हुन्छ भनेपछि सबै कक्षाहरुमा गएर भोलीदेखि आफु स्कुल नआउने कुरा गरें । नानीहरु पनि छक्क परे, कोही त रोए पनि । हिड्ने बेलामा बाबुराम सरले “ ल चन्द्रकला मिस, भबिष्यमा मेरो सहयोग चाहिएमा स्कुलको ढोका यहांको लागि सदैव खुल्ला छ है” भन्नु भयो । अनि मैले पनि “हजुरको ढोकामा म त हैन सर, मेरा छोरा छोरीलाई पनि पठाउंदिन” भन्दै विदा भँए।
स्ववियूको चुनाव जे जस्तो भए पनि एउटा राजनैतिक आस्थाकै आधार, बिना कुनै गल्ती र त्यो समयको मलाई निकै आवस्यक रहेको स्कुलको जागिर गयो ।दुई बर्ष जस्तो पछि एक दिन घट्टेकुलोको बाँसघारीनिर स्कुटर बिग्रेर यसो हेर्दै गरेको अबस्थामा दुई छोराहरुसंगै भेटें बाबुराम सरलाई । आदरभाव सहित सामान्य कुराकानी भए ।निकै बर्षपछि सुने, बाबुराम सरको निधन भएछ । त्यसबेलाका नौ महिनाका मेरा अन्नदाता बाबुराम सरलाई पुनः भावपूर्ण श्रद्धांजली(फेसबुकबाट)

50% LikesVS
50% Dislikes