पालिका नेतृत्व चयनबारे आजैदेखि सचेत बनौं


सम्पादकीय

स्थानीय तह निर्वाचन आउन पाँच हप्तामात्र बाँकी हुँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। निर्वाचन आयोग र सरकारले मतपत्र छाप्ने, म्यादी प्रहरी छनौट गर्ने, मतकेन्द्रमा आवश्यक भौतिक तयारी र सुरक्षा योजना अगाडि बढाउँने इत्यादी काम गर्दैगर्दा आम जनमानसको चासो र छलफल भने अबको स्थानीय नेतृत्व कस्तो होला वा कस्तो हुनुपर्छ भन्नेमा बढी केन्द्रीत छ।

संबिधानले तीनतहको सरकारको कल्पना गरेको छ। संघीय तथा प्रदेश सरकार भन्दा स्थानीय तहको सरकार जनताको दैनन्दिनको सरोकारसंग प्रत्यक्ष जोडिएको हुन्छ। यसैले पनि आम चासो र छलफल कुन दल वा कुन ब्यक्तित्व भन्नेमा संकेन्द्रीत हुनु स्वाभाविक हो। यसले आम समुदायलाई आफ्ना जनप्रतिनिधिको योग्यता र क्षमताबारे बहुत संबेदनसिलता छ भन्ने कुरालाई नै उजागर गर्दछ। लोकतन्त्रको एक सुन्दर पक्ष हो यो।

दलीय ब्यबस्थामा जनप्रतिनिधित्वका लागि मुलतः दलहरू नै अग्रसर हुन्छन्। जनताको मन जित्ने बिश्वासमा रहेका स्वतन्त्र ब्यक्ति पनि जनअनुमोदित हुन पाउँछन्। हरेकलाई चुनिने र चुन्न पाउने अधिकार छ। त्यसैले आफ्नो तहमा कस्तो प्रतिनिधि चुन्ने भन्नेमा आम समुदाय अहिल्यैदेखि सचेत हुनु जरुरी पनि छ।

जनप्रतिनिधि चुन्नुको अर्थ एउटा आबधिक औपचारिकता मात्र होइन। जतिसुकै बलियो दल होस, त्यसले जो कसैलाई लादेर जनअनुमोदित हुने सोच्यो भने भोलि त्यो जनताप्रतिको बेइमानी साबित हुनसक्छ। जनताका दैनिक सुखदुःखमा आत्मीय सहयोगी मात्र होइन स्रोतहरूलाई सामुदायिक बिकासका लागि परिचालन र ब्यबस्थापन गर्नसक्ने नेतृत्व स्थानीय तहमा आवश्यक छ।

भन्नुको अर्थ स्थानीय तहको नेतृत्व राजनीतिक भएर मात्र पुग्दैन। उ जनतासंग भिजेको हुनुपर्छ। उ म्यानेजर पनि हुनुपर्छ। उ बिबादरहित हुनुपर्छ। नैतिकवान, सदाचारी, इमान्दार र कर्तब्यनिष्ठ हुनुपर्छ। मुलकुरा संबिधानले निर्दिष्ट गरेको समाजवादको आधार सम्पन्न गर्ने लक्ष्ययात्री हुनुपर्छ उ।

बिकास भन्नु पुँजीबजारले थोपरेको चमकधमक मात्र होइन। कालोपत्रे बाटो मात्र पनि होइन। सुबिधासम्पन्न अस्पताल र स्कुल मात्रै पनि होइन। त्याहाँ जनताको आर्थिक पहुँच पुग्ने कुरा नै मुल बिकास हो। जनताको दैनिक जीवनस्तरको उन्नयन र सामुदायिक अपनत्व नै बिकास हो। सडक, कृषि, पर्यटन, खानेपानी, उन्नत उत्पादन, उत्पादको सहज क्रयबिक्रय जस्ता हरेक बिकासको ब्यापार होइन, ती बिकासको ब्यबस्थापन मुल कुरा हो।

आजसम्म केन्द्रीकृत राज्यसंयन्त्रले नाफाको सर्तमा थोपरेका सामान्य बिकासले जनताको जीवनस्तर बदलिएन। त्यसैले संघीय र स्थानीय बिकासको अवधारणा आयो। त्यो पनि नाफाकेन्द्रीत हुनु आजको बिकास अबधारणाकै त्रुटि हो। हो, त्यसैले हामीलाई बिकास गर्ने तर सामुदायिक पहुँच र अपनत्व निर्माण गर्ने नेतृत्व चाहिएको छ।

सामाजिक चेतनाको सीमाबीच हरेक आदर्श भएको नेतृत्व त हामी नपाउँला तर एक सिर्जनात्मक, एक आलोचानात्मक, एक लोकतान्त्रिक र एक समाजवाद उन्मुख नेतृत्व हाम्रो वडा र पालिकामा हुनैपर्छ। त्यसखालको नेतृत्व ल्याउन दलहरूलाई पनि दबाब दिऔं। हामी आफैंपनि सचेत बनौं। स्थानीय तहको निर्वाचन सफल बनाऔं।

100% LikesVS
0% Dislikes