ओ, गाउँले हो!


खबरदार है, खबरदार
हुलका हूल ढाँटका पुस्तकहरु
गाउँ पस्दैछन् ।
बरु जाग्राम बस, नसुत
दिमाख चनाखो बनाऊ
मनभरिका प्रश्न सोध
नडराऊ अनि धक् नमान
सोध, म कस्तो छु हँ?
मेरो मत तिमीलाई किन दिने?
मैले चर्को घाम र हावापानी खपेर
तिमीलाई भोट किन हाल्ने?
भान्साभान्सामा ग्यास आउने रहर लिएर?
कान्लाबाट रेल कुद्ने औडाहा बोकेर ?
हावाको बिजुलीले शीतल दिने पङ्खा घुमाएर?
कि अरु कुन अर्थले?
मैले भोट हालेर तिमीलाई चुन्ने हँ?
बस्,
यस्तैयस्तै केही प्रश्न सोधेर
आफ्नो चित्त बुझ्ने केही जवाफ खोजेर
निर्धक्क बस्नु है,
गाउँले हो,
फेरि ढाँटका पुस्तकहरु त्यतै आउँदैछन ।।

100% LikesVS
0% Dislikes