मत मात्र होईन मननै दिन मन लाग्छ !


संझन्छु हाम्रो आत्मिय सम्बन्ध
हाम्रा विगतहरु अनि हाम्रा मनहरुको मिलन
प्रिय साथी तिमीलाई मत मात्र होईन मननै दिन मन लाग्छ
तर, तिमीलाई हटाउँदा बाँकी जे जे देख्छु, मनले भन्छ
मतदान र कन्यादानको महत्व बुझ है कान्छा
यो दिल्लगी होईन, महादान हो
तिमी जे छौ राम्रा छौ अनि तिमी जे हौ राम्रा हौ
जब तिमीलाई मात्र देख्छु र हेर्छु स्नेहको तुफान नै  दिन मन लाग्छ
ममताको पहाडनै जिम्मा लगाउँ जस्तो लाग्छ
तर, त्यहाँ तिमीलाई हटाउँदा म जे जे भेट्छुु, मनले भन्छ
आत्मसम्मान र स्वाभिमानको हेक्का राख है कान्छा
मतदान र कन्यादान प्याच्च बोले जस्तो होईन
यसले त तेरो समाजको भाग्य र भविष्यको लेखा राख्ने गर्छ
प्रिय साथी तिमी ठिक छौ
म कसरी भन्न सक्छु तिमीलाई म मत दिन्न भनेर
मत मात्रै होईन भए देखि मुटुभरिको सबै मायाँ तिमीलाई
तर, त्यहाँ तिमी बाहेक म जे जे देख्छु
अनि मनले भन्छ
ए कान्छा अग्रगमन र प्रतिगमनको ख्याल गर है !
हिजो अस्तीको घाउको खाटा मरेको छैन
अनि मनले भन्छ
साथी हो तेरो मायाँ गर कान्छा मायाँ गर
तर, मनसबै उतै दिए पनि मत भने उता होईन है
मेरो त चाहाना तिमीलाई नै मन पनि मत पनि दिने हो
तर, यसपाली भने मन मात्रै दिएँ है साथी
मन भएर पनि मत दिन सकिन
साथी हौ माफ त गर्छौ नि !

100% LikesVS
0% Dislikes