भूतकाल


मध्यरात बाह्र बजेदेखि आज
माइकको होहल्ला , बाचाल बकवास र भुत्भुताहट,
निःशब्दमा परिणत हुनेछ,
कर्णकटु, मिथ्या मिथक र लालची स्वप्नका
दुर्वाण ठेलीले भरिभराउ थैलीको
मुख बाँधिने छ,
र, सुनसान रात, च्वाँठ अन्धकार र झ्याउँकिरीको
अप्राकृतिक दुर्योगको मौका छोपेर
जुरुक्क उठ्नेछ
भूत, भूत
भूतको भूत, भूतको प्रेत र भूतको पिशाच
निःशब्द शैलीको नृत्याकार गुफामा
एकत्रित भएर,
रसपान र सिकार भक्षणका
अनियन्त्रित नाचखालमा गुपचुप नाच्नेछन्
ती भूतका भूतहरु।
आसन्न, उज्यालो छोपिएर अन्धकारमा सुतेका
सहस्र नरनारी,
अजान नरनारी,
अकिञ्चन नरनारी,
अबोध नरनारी,
भूतका रात्रिकालीन ताताथैया,
निष्पट्ट अन्धकारको अमाङ्गलिक
ताण्डव,
सुन्न, बुझ्न र दैख्नै पाउँदैनन् ।
भूतका भूतहरु ।
भूतैका नजरमा गोचर हुन्छन्
भूतकै हाउभाउ, इशारा र भाषा बुझ्छन्
भूतकै लयमा नाचि हेर्छन्
र, मगनमस्त सुस्ताउँछन् ।
मध्यरातको स्तब्ध समय,
काम तमाम बन्ने भूतप्रिय समय
बस्, यो उदीप्त बिहानीको केवल
एक अमङ्गलसूचक
एक उत्पीडक
एक जड्वादी
भूतकाल हो ।

50% LikesVS
50% Dislikes