जातीय मुक्तिका कुरा गर्नेहरु आज कता गए ?


सम्पादकीय

मेचीनगर–१० का सूर्य प्रकाश कडरियाले १७ वर्षअघि अन्तरजातीय बिहे गरेका थिए, रञ्जु ल्वागुन (विश्वकर्मा)सँग । दलितसँग विवाह गरेका कारण परिवारबाटै बहिष्करणमा परेका सूर्य प्रकाशकी ७२ वर्षीया आमा दिलमायाको गत जेठ ८ मा मृत्यु भयो ।

सासूको मृत्युपछि बुहारी रञ्जुले धार्मिक विधिअनुसार काजकिरिया गर्न पाएकी छैनन् । परिवार र समाजका ठूलाठालुले उनलाई किरिया बस्न रोक लगाएका हुन् । आमाको मृत्युपछि सूर्य प्रकाशलाई पनि पाँच दिनसम्म काजकिरियामा निषेध गरिएका थियो । तर, बुहारी रञ्जुले ढिकुरो फोरेर भत्काइदिने चेतावनी दिएपछि बल्ल श्रीमान्लाई चाहिँ किरियामा सामेल गराइएको थियो । उनलाई त मूलघरमा ढिम्किनै दिइएको छैन । ‘जेठाजु जीवन कडरियाले यो कामीसँगै बसेर आमाको काम गर्नुपर्छ भने म सामेल हुन्न भने’, बुहारी रञ्जुले सुनाइन्, ‘मेरो श्रीमान् पाँच दिनसम्म अलग्गै कोरामा बस्नुभयो ।’

७ दाजुभाइमध्ये सूर्य प्रकाश कान्छा छोरा हुन् । ६ भाइले सँगै बसेर खान्छन् । बुहारीलाई घर पर्तिरको केराबारीमा राखेर खाना दिइन्छ । ‘कुनै पनि धार्मिक विधिमा सामेल नै गराइएको छैन,’ रञ्जुले भनिन्, ‘दलितसँग बिहे गरेकालाई समावेश गरिएको भनेर दुई तीन पटक पण्डित उठेर हिँडिसके ।’

मूलघरमा प्रवेश नदिए पछि रञ्जुले विगत ११ दिनदेखि घरमै सासूका किरिया कर्म गरिरहेकी छन् । समाज र परिवारको मिलेमतोमा भएको विभेद सहन नसकेपछि उनी बुधबार कोराकै पोसाकमा उजुरीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी पुगेकी थिइन् ।

प्रहरी कार्यालय पुगेको थाहा पाएपछि परिवारका सदस्यले उनलाई किरियामा समावेश गर्ने आश्वासन दिएपछि उनी उजुरी नगरी फर्किएको इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक अनिल मावोहाङले जनाए । तर, जब घर पुगिन तब उस्तै व्यवहार सहनुपर्‍यो । ‘फेरि घरमा ढिम्किनै दिएनन्,’ उनले दुखेसो पोखिन्, ‘म हैरान भएर बसेकी छु ।’

वडाध्यक्ष खनालले परिवारले किरियामा समावेश गर्ने भन्ने जानकारी पाएपछि आफूले कुनै कानुनी एक्सन नलिएको जनाए । झापाका एसपी विश्वमणि पोख्रेलले जातका आधारमा कुनै पनि धार्मिक या सांस्कृतिक कर्ममा विभेद गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै त्यस्तो गरिएको पाइए कारबाही गर्न सकिने जनाए । कान्तिपुरबाट

अब प्रश्न उठ्छ कि कता जादैछ अझै हाम्रो समाज ? हामी कस्तो समाज निमार्ण गर्न जादैछौँ ? झापा जिल्ला जो आफैमा देशमै परिचत जिल्ला त्यही जिल्लामा समेत सामान्ती सोचको यो पाहाड आजका दिनमा पनि उस्तै कहाली लाग्दो रुपमा उभिएको छ ! लाग्छ यो विभेद र छुवाछुतको पहाड अब कसले फोड्ने ? अनि कहिले फोड्ने अनि कहिले सम्म रहन्छ मान्छेले मान्छेलाई मान्छेको दर्जा नदिने यो सामान्ति सोचको थोत्रो चिन्तन ?देशकै सचेत जिल्लाका रुपमा रहेको झापामा त जातीय उत्पीडनको यो अवस्था छ भने दुर दराजका गाउँबस्तीमा के होला ? झापाको मेचीनगर नगरपालिकामा अहिले सार्वजनिक भएको यो घट्नाले के पनि पुष्टि गरेको छ भने कागजमा मात्रै यहाँ मुक्तिका कुरा भए, भाषण र बोलीमै मात्रै सिमित भए तर मन र चेतनामा माझिन अझै बाँकी रहेको छ । आज सोध्नु पर्ने छ जातीय मुक्तिका कुरा गर्ने झापाका उत्पीडित समुदायका नेता हौँ भन्ने हरुलाई कता हुनुहुन्छ तपाईँहरु ?दलितका नाममा नियुक्ति र कोटामा मात्रै कुरामा अल्मल गर्दै हुनुहुन्छ कि समाजमा आजका मिति सम्म रहेको उत्पीडनका यस्ता रोगहरुको उपचारका लागि पनि संझदै हुनुहुन्छ ?अरु समय जातीय मुक्तिका कुरा गरेर नथाक्नेहरु, छुवाछुतका विषयमा सामाजिक संघ संस्थामार्फत चेतना प्रवाह गर्छौ भन्नेहरु आज कता हुनुहुन्छ ? जुन सुकै रुप वा रङ्गमा होस मान्छेले मान्छे माथि गर्ने सबै खाले शोषण,दमन र उत्पीडनका विरुद्धमा सम्म हामी एक ढिक्का भएर मनदेखि मन जोडेर संकल्पका साथ लाग्दैन यस्ता घटनाहरु रोकीनेवाला छैनन् यसर्थ प्रगतिशिल समाजको निमार्णको यात्रामा साच्चै हामी लाग्छौँ भने आजदेखि यसप्रकारका विभेदका विरुद्धमा जुटौँ !

50% LikesVS
50% Dislikes