समृद्ध कृषिका लागि युवा उद्यमशीलता


प्रतिमा भण्डारी
कृषि कार्य मम देशस्य एक मुख्य उपजिविका: अर्थात् कृषि कार्य हरेक राष्ट्रका लागि मुख्य जीविकाको साधन हो । समृद्ध कृषि हरेक नेपाली जनताको चाहना मात्र हैन वर्तमान अवस्थाको आवस्यकता पनि हो। भौगोलिक विविधता, उर्वरता, जलश्रोतको कुबेर रूपी हाम्रो नेपालमा उब्जाउन नसकिने कुनै अन्नबाली छैन। सिमसार क्षेत्र खोज्यो पोखरा छ, मरूभूमि रूपी जमीन खोज्यो मनाङ छ, मुस्ताङ छ। यस्ता अनेक साध्य सुविधा आफ्नै देशमा हुँदा हुँदै, हरिया डाँडाकाँडा, मलिलो माटो छोडी जागीरका लागि विदेशिनु र देशको एक चौथाई अर्थतन्त्र रेमिट्यान्समा आश्रित हुनु राष्ट्रकै लागि लज्जास्पद कुरा हो ।

समृद्ध नेपाल सुखी नेपाली भन्दै जतिनै पङ्क्ति बनाई हिडेपनि, जबसम्म कृषिमा आधुनिकरण र युवा उद्यमशीलता त्यसमा संलग्न हुँदैन तबसम्म यो असम्भव नै देखिन्छ। आज विश्वमा युवाको संख्या दिनानुदिन घटिरहेको अवस्थामा हाम्रो देशमा भएका कुल जनसङ्ख्याको ४०.६८ प्रतिशत जनसंख्या युवाको रहेको छ। वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने नेपाल विश्व युवा विकास सूचाङ्कमा १४५ औं स्थानमा रहेको छ। अन्तराष्ट्रिय श्रम संगठन ( आईएलओ) को अनुसार नेपालमा १९.२ प्रतिशत युवा पूर्ण बेरोजगारी र २८.३ प्रतिशत अर्ध बेरोजगारीको अवस्था देखिन्छ र समृद्ध कृषिका माध्यमबाट युवाहरुको उद्यमशीलता लाई सहजीकरण गर्दै यसको दर घटाउन सकिन्छ ।

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारका लागि पाँच लाख आठ हजार आठ सय अठाईस नेपाली युवा विदेसिए र यो जबसम्म युवालाई नेपालमै उद्यमी बन्न प्रोत्साहन गरिन्न तबसम्म यसको दर बढिनै रहन्छ। अर्ध बेरोजगारीमा रहेको नेपालको करिब ३६% युवा जनशक्ति आर्थिक उत्पादन सँग जोडिन सकेको अवस्था छैन। कृषिमा बढी बढी सम्भावना भएको हाम्रो मुलुकमा हामी कृषिलाई नै तल्लो स्तरको कामको संज्ञा दिँदै हिदिरहेका छौ। कृषि र कृषक विश्व जनसमुदायको पलनकर्ता हुन् भन्ने कुरा हामी बिर्सिंदै आएका छौ। नेपालमा ३० प्रतिशत कृषि योग्य जमीन बाँझै रहेको अवस्था देखिन्छ।नेपालको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादन कृषिबाट २६.५ प्रतिशत रहेको छ भने पशुपालन बाट ११.५ प्रतिशत रहेकाे छ, र २०७७/७८ अनुसार नेपालमा प्रत्येक दिन औसतमा छ करोडको सब्जीजन्ये खाद्यबस्तु आयत गरिन्छ र एक कृषि प्रधान देशको लागि यो एक लज्जास्पद कुरा पनि हो ।

युवाहरू भनेको देशको मेरुदण्ड स्वरूप हुन्। देशलाई पूर्णिमाको उज्यालो तर्फ लानेकी औशीको कालो रात तर्फ लाने भन्ने कुरा त्यो देशका युवाहरू कत्तिको मेहनती, जागरुक, कर्तव्यनिष्ठ छन् भन्ने कुरालाई आश्रित रहन्छ। वर्तमान सन्दर्भमा हेर्ने हो भनें कोभिड-१९ का कारण विदेशिनेको संख्या कम हुँदै गएको देखिन्छ। रेमिट्यान्समा आधारित हाम्रो देश यस महामारीले युवा जनशक्ति तथा विकसित मुलुकमा अध्ययन गर्ने जनशक्तिलाई देशमै केही गर्नु पर्दछ भन्ने मनोवैज्ञानिक भाव सृजना गरिदिएको छ। नेपालमा पनि युवा जनशक्तिले कृषि क्षेत्रमा राम्रै उदाहरण सृजना गर्न थालिसकेका छन् जस्तै ईलाममा हङकङ को लाहुरे बन्ने सपना छोडेर आएका देऊ कुमार राईको अर्गानिक किवी खेती तर्फको लगाव र त्यहाँ विभिन्न किसिमका नर्सरीमा तालिम लिन आएका कृषि विद्यार्थीको आफैले केही गरेर रोजगारीको सृजना स्वयम् गरिदिने जस्तो आत्मविश्वासको रोचकता, जीविका कृषि विज्ञान कलेजका विद्यार्थीहरुले सिक्दै कमाउँदै भन्ने उद्देश्यका साथ उद्यमशीलतालाई अपनाई गरेको पन्ध्र सय पोका च्याउ खेतीको जागरूकता, उदाहरणमा दिन सकिन्छ। त्यस्तै गरी कृषि तथा वन विश्वविद्यालयका अध्यनरत पवन तिवारीले खैरेनीमा गरेको सयपत्री पुष्प खेती पनि वर्तमान अवस्थामा युवाहरू स्वदेशमै आत्मनिर्भर भई देशको मुहार फेर्न चाहन्छन भन्ने कुरा प्रष्टैसँग बुझिन्छ। त्यसलगत्तै चितवनमा भइरहेको व्यवसायिक गोदावरी, तरवारे पुष्प खेती, स्ट्रबेरी, मेवा, ड्रागन फ्रुट खेती पनि युवा उद्यमशीलताको मिठ्ठो उदाहरणको रूपमा लिन सकिन्छ ।

युवा उद्यमशीलतालाई प्रफुल्लित पार्न अहिले आएर ” राष्ट्रिय युवा परिषद् नेपाल” ले युवा विकासका लागि दश वर्षको दीर्घकालीन रणनीति: युथ भिजन २०२५ अगाडी सारेर काम गर्दै आएको छ। यसका स्तम्भहरु मध्ये रोजगारी, उद्यमशीलता, सीप विकास पनि एक रहेको छ। समृद्ध कृषिका लागि युवा उद्यमशीलता एक अभिन्न अङ्ग हो। यसको लागि जति सक्दो चाँडो युवा मात्र नभई नेपाल सरकारले पनि युवाहरुलाई प्रोत्साहन गर्न अतिआवश्यक देखिन्छ। लागि अनुदान, न्यून भन्दा न्यून ब्याजमा ऋणको व्यवस्था, हरेक प्रदेशमा कोल्ड स्टोर हरुको व्यवस्था, खाद्यवस्तुको विविधीकरणमा आवश्यक यन्त्रहरूको व्यवस्था जस्तै च्याउ तत्कालै बिक्री नभए त्यसको सुकुटी, अचार आदिमा विविधीकरण, जुम्ला को स्याउ बिक्री हुन नसकेमा सुकुटी, पिए पदार्थ, जाम आदि मा विविधीकरण गरे उद्यमी देखि राष्ट्रकै अर्थतन्त्रलाई सबल बनाउन सक्षम भइन्छ। प्राथमिक तह बाटै बालबालिकालाई कृषिको महत्व सिकाउने, माटो सँग खेल्न सिकाउने भने समृद्ध कृषिको सपना पनि साकार हुन्छ र तिनै बालबालिका भविष्यमा विभिन्न विधाका उद्यमी भई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड तथा राष्ट्रिय देखि अन्तराष्ट्रिय क्षेत्रमा नेपालका अर्गानिक फल,फूल, तरकारी, अन्नबाली, आदिलाई चिनाई नेपाललाई नयाँ मुहार दिन सक्षम हुनेछन् ।krishipatrika/from

50% LikesVS
50% Dislikes