म गर्वका साथ भन्छु म दमाई हुँ !


म नेहाल दर्जी, मेचीनगर निवासी । कतिले सोध्नु हुन्छ दर्जी भनेको कुन जात हो, म गर्व साथ भन्छु म दमाई हुँ!अझ कसैले पटकपटक सोध्नुहुन्छ झुट त बोल्नु भएको होईन नि, दमाई जस्तो पनि देखिनु हुन्न त।अरे बाबा हामी कस्तो चै देखिनु पर्ने? कस्तो भए दमाई जस्तो हुने हो ? दमाई कस्तो हुन्छ ? कहिलेकाँही मलाई यस्ता प्रश्नले पनि चिमोट्ने गर्छ ।समाजले हामीलाई हेर्ने दृष्टिकोण, सोच र चिन्तन कुन प्रकारको छ, मानौं हामी कुनै अरु ग्रहबाट आएको र फरक किसिमको देखिनु पर्ने पो होकी जस्तो पनि लाग्छ । हाम्रो समाजमा जातीय विभेदको पर्खाल धेरै पुरानो छ , दलित भएको कारणले गर्दा धेरै पिडाहरु भोग्नु परेको त छदैछ, फेरी हाम्रै दलित समुदाय भित्र समेत आन्तरिक विभेद पनि कम छैन । दलित समुदाय भित्र पनि को ठुलो को सानो भन्ने विषयमा बहस चहिरहेको हुन्छ । आम मानिस जस्तै दलित पनि दुई प्रकारका हुन्छन् एउटा हुँदाखाने दलित र अर्को हुनेखाने दलित । हुँदाखाने दलित समाजका धेरै कुराबाट बन्चित हुन्छ, यसै पनि गरिबी आफैमा पिडादायक हुन्छ नै तर हुनेखाने दलितहरु अझ दलित कै नामको लिस्नो चडेर अगाडी बडेका धेरै उदाहरण हाम्रै सामु छन् । दलित मुक्तिका नाममा धेरै संघ संस्थाहरु छन् अनि दलितका कोटाबाट राज्यको सुविधा लिने पनि धेरै छन् । अपरिचित ठाउँमा गएर म दमाई हो, म कामी हो, म सार्की हो भन्न हिचकिचाउँने हरुको संख्या आजका दिनमा पनि धेरै छ त्यसमाथि पनि आफुलाई दलितका अगुवा भन्नेहरुनै आफुलाई म यो थरको यो जातको भन्न लजाउने गरेको मैले नै देखेको छु । हिजोको तुलनामा आज दलित समुदाय थोरै भए पनि शिक्षित भएका छन् तर भन्छन् नि पढेर मात्र हुँदैन रैछ, समाजमा शिक्षालाई कसरी प्रयोग गर्ने भने महत्वपूर्ण विषय हो । शिक्षित वर्गमा यस्तो समस्या भएको मैले महसुस गरेको छु । सकेसम्म आफ्नो जात कसैलाई नभन्नु परे उचित ठान्छन् अझै पनि शिक्षितहरु । हामी किन आफ्नो पहिचान लुकाईरहेका छौँ ? झुटको बलमा हामी कस्तो आत्मसम्मान खोजि रहेका छाँै ? आफ्नो पहिचान र परिचय गर्वका साथ भन्नु पर्ने ठाउँमा कस्ले के भन्ला कि जस्तो गरेर आलटाल गर्ने गरेका पनि छौँ । दलित विविध सुविधा र सेवा लिन ो लागि मात्र दलित शब्द प्रयोग गर्ने हो त या समाज रुपमान्तरणका लागि आफ्नो तर्फबाट योगदान गर्न पनि हामी अगाडि बढ्ने हो एक पटक हामी दलित समुदायले नै सोच्ने होईन र ? वास्तवमा हामी पहिलो आफुले जात, थर सम्मान र गर्व गर्न सिक्नुपर्छ । दाग अनुहारमा छ भने पहिलो ऐना सफा गर्ने कि अनुहार? दोष जातमा भन्दा पनि दोष सोचमा छ । हामी पछाडी पर्नुका कारण यस्ता विचारहरु पनि हो, हामी असक्षम पनि त छैन्, जुन कार्य अरु जातका गर्न सक्छन् त्यो हामी पनि त गर्न सक्छौँ तर किन हामी पछाडिएका छौँ । कथित ठुलो जातको भन्नेहरु पनि जिवनमा असफल भएका छन् । सफल, असफल हुनु भनेको आफ्नो दक्षता, परिश्रम र लगनले देखाउने हो । अन्त्यमा के भन्न चाहान्छु भने परिवर्तन हामीबाट नै सम्भव छ, हामी दलित समुदायहरु पछाडिएका थियाँै, अब अगाडी बड्न सक्षम बन्नुपर्छ र साँचिकै समाज रुपान्तरित हेर्न चाहानु हुन्छ भने आफ्नो पहिचान गर्वका साथ भन्नु सक्नु पर्छ ।

95% LikesVS
5% Dislikes