फरक दृश्य

यो दृश्यमा रात छ दिन छ
घाम छ पानी छ
धुलो छ हिलो छ
ढुङ्गा छ, माटो छ
उबडखाबड् बाटो छ
जङ्गल छ झाडी छ
सबैभन्दा महत्वको इमानदारी छ,
गिट्टी कुट्दा, बेल्चा हान्दा
जनतालाई काकाकुल हुनबाट बचाउन
पाइप तान्दा
हातमा उठेको ठेला छ
निधारबाट तप् तप् बगेको पसीना छ ।
यो दृश्यमा तिर्खा छ भोक छ
अलि अलि आवेग छ
अलि अलि झोक छ
कहीँ कतै आक्रोश देखिएला
तर, सकारात्मक सोच छ
आँशु छ ,हाँसो छ
थोरै दुःख र धेरै खुसी छ
जिम्मेवारी छ, दायित्ववोध छ
निष्ठा छ, आस्था छ
समर्पण र त्यागको पराकाष्ठा छ ।
यो दृश्यमा परिश्रम छ, मिहेनत छ
एक प्रकारको छट्पटी छ
देश बनाउने हुट्हुटी छ
गीत छ, संगीत छ
मान्छे मान्छेका बिचमा निस्वार्थ प्रीत छ
कुनै किसिमको दुर्गन्ध छैन
मात्र माटोको सुगन्ध छ ।
यो दृश्य
तिम्रो कल्पना बाहिरको दृश्य हो
तिम्रो सोच बाहिरको दृश्य हो
तिम्रा कोरा भाषण सुनेर बज्ने
ढ्याप ढ्यापको आवाज आउँदैन यहाँ
यहाँ त
गलेर लखतरान् भएपछि
खुइय्य ……सुस्केरा हालेको आवाज आउँछ
तप् तप् तप् पसीना झरेको आवाज आउँछ
त्यसैले
तिमीलाई यो दृश्य
पागलपनको पराकाष्ठा लाग्छ ।
अनि त
यो दृश्य
तिम्रो अहंकारको भ्यूटावरबाट
देखिने समृद्धिभन्दा फरक छ
तिम्रो तथाकथित समाजवादको
विद्रुप भाष्यभन्दा फरक छ
नबोल्ने ढुङ्गोलाई चढाएको
सुनको जलहरी भन्दा फरक छ ।