झापामा न्वारानको भोज खाएका २७ जना फुड पोइजनका कारण अस्पताल भर्ना


धुलाबारी ।
मेचीनगनगर नगरपालिका ९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए ।

बिरामीहरुको धुलाबारी स्थित मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको अस्पतालले जनाएको छ ।

स्थानीयहरुमा वान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । वडा अध्यक्ष तामाङका अनुसार अहिले स्थानीय २७ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले भोलिसम्म डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीहरुको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् । शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको छ ।

50% LikesVS
50% Dislikes