कृषि र किसान

रितिका डेरीको समन्वयमा दुग्ध उत्पादन किसानलाई अनुदान वितरण

मेचीनगर । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो ।
आज (आइतबार) रितिका डेरी उद्योग मेचीनगर−१२ मा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारले पहिलो पटक प्रतिलिटर दुई रुपैयाँ पर्ने गरी दिएको अनुदानबाट झापा र इलामका ३६ सय बढी घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहन स्वरुप प्रदेश सरकारले पहिलोपटक यस कार्यक्रम ल्याएको हो । जसमा आज (आइतबार) मात्रै ४७ लाख १८ हजार भन्दा बढी रकम अनुदान स्वरुप वितरण गरिएको छ । रितिका डेरीमा दुध दिँदै आएका किसानहरुलाई यस अनुदान वितरण गरिएको हो ।
यस डेरीले झापा र इलामका अधिकांश स्थानबाट दैनिक ३० हजार लिटर दुध संकलन गर्छ । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादन तथा संकलन गर्ने सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म तथा दुग्ध उत्पादन समुहहरुलाई एकमुष्ट अनुदान रकम वितरण गरिएको हो ।


अब यी सम्पूर्ण संस्थाहरुले आफुलाई दुध उपलब्ध गराउने किसान समक्ष यो रकम पुर्याउनेछन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचीनगर प्रमुख बुढाथोकीले किसानले उत्पादन गर्ने दुधको आधारमा अनुदान दिइँदा सम्पूर्ण किसान लाभान्वित हुने बताए ।
‘यो आम किसानका लागि अत्यन्तै महत्वपूर्ण योजना हो, पहुँच नभएका तर हरेक समय आफ्नै माटोमा परिश्रम गर्ने किसान चौतर्फी मारमा परिरहेका बेला यस्तो कार्यक्रम आउनु अत्यन्तै खुशीको कुरा पनि हो । अब प्रदेश सरकारले यस कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्छ,’ उनले भने ।
किसानको क्षेत्रमा स्थानीय तहले पनि कस्ता कार्यक्रम ल्याउने भन्ने बारे छलफल भइरहेको मेयर बुढाथोकीले बताए । कार्यक्रममा किसानका तर्फबाट योगेन्द्र खनाल, बुद्धशान्ति गाउँपालिका वडा नं ७ का अध्यक्ष चन्द्र भण्डारी, मेचीनगर−११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रितिका डेरी उद्योगका संस्थापक अध्यक्ष घनश्याम चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा डेरीका सञ्चालक राजन चिमरियाले स्वागत मन्तव्य राखेका थिए भने व्यवस्थापक योगेन्द्र चिमरियाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सोही अवसरमा रितिका डेरीका सञ्चालक घनश्याम चिमरियालाई दुग्ध व्यवसायको क्षेत्रमा सहयोग गरेका भारतको पश्चिम बंगाल निवासी हरेसप्रताप सिंहलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button