कृषि र किसान

प्याजको मूल्य वृद्धिबारे अध्ययन सुरु

काठमाडौँ। वाणिज्य, आपूर्ति, उपभोक्ता संरक्षण विभागले बजारमा प्याजको मूल्य वृद्धि भएको विषयमा श्रम अध्ययन थालेको जनाएको छ । बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा अनियमित रूपमा आपूर्ति गरेर स्वाभाविकभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्नु उपभोक्ता संरक्षण ऐनविपरीत भएकाले यस विषयमा अध्ययन थालेको विभागले जनाएको हो ।

विभागका निर्देशक होमनाथ भट्टराईले तरकारी बिहान वा राति आउने भएकाले विभागको दुई वटा टोलीले गएको बुधबारदेखि थोक बजारमा प्याजको आपूर्ति र स्थानीय बजारमा हुने बिक्रीमा केन्द्रित भएर अध्ययन सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले आपूर्ति कहाँ कसरी भएको छ त्यो बुझ्ने र बिलबीजक माग्ने काम गरिरहेका छौँ, मूल्य वृद्धि कहाँ कसले कसरी कुन कुन तहबाट भएको छ, त्यो सबै प्रमाण भेटेपछि त्यस्ता व्यवसायीलाई कानुन अनुसार कारबाहीमा गर्छौं ।”

बजारमा प्याजको भाउ अत्यधिक वृद्धि भएको भन्ने गुनासा धेरै आएका छन् तर ती गुनासालाई पुष्टि गर्ने प्रमाणबिना कानुनी कारबाही गर्न नसकिने बताउँदै उहाँले छड्के तरिकाले अनुगमन गरिरहेको दाबी गर्नुभयो । अनुगमनका क्रममा उपभोक्ताको दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आबद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकिदिएको दायित्व वहन गर्दै पारदर्शी तवरबाट आआफ्नो व्यवसाय सञ्चालन गर्न कानुनबमोजिम बिलबीजक जारी गरी कारोबार गर्नसमेत सबैको ध्यानाकर्षण गराइएको निर्देशक भट्टराईले जानकारी दिनुभयो । विभागबाट भएको अनुगमनका क्रममा कानुनले तोकेको दायित्व पूरा नगरेको पाइएमा त्यस्ता व्यवसायी फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार हदैसम्मको कारबाही हुने जनाइएको छ ।गोरखापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button