ओखलढुङ्गाको चम्पादेवीमा पहिरो जाँदा चार जनाको मृत्यु २५ बढी घर बगायो

उद्धारमा खटिएका स्थानीयवासी र सुरक्षाकर्मीहरू । तस्बिर: जाङबु शेर्पाको फेसबुक लाइभबाट
काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ । बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिनुभयो ।
पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका चार जना रहेको राउतले जानकारी दिनुभयो । मृतक मध्ये ३८ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ ।
बिहीबार रातीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीयहरू शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष राउतले बताउनुभयो । थप २५ वटा बढी घरमा र गोठहरूमा क्षति पुगे पनि क्षतिको यकिन गर्न बाँकी रहेको उहाँको भनाई छ ।
गोरखापत्र अनलाइन