कृषि र किसान

खेतीका लागि बर्खामा आकासे पानीको जोहो

हिले समाचारदाता

हिले । धनकुटाको चौबिसे गाउँपालिका–३, बन्दुके डाँडाका लोकेन्द्रकुमार याक्खालाई बर्खाको पानी जम्मा गर्न भ्याइनभ्याइ छ । यो बर्खा सकिँदासम्म उहाँले ३४ लाख लिटर पानी जम्मा गर्नुपर्ने बाध्यता छ ।

हिउँदमा पानीको जोहो नहुने भएकाले कृषिकर्मका लागि उहाँले बर्खामा आकाशबाट परेको पानीलाई जमिनमा निर्माण गरिएका प्लास्टिक पोखरीमा जम्मा गर्नु पर्छ । त्यसैले उहाँ अहिले पानी परेको बखत बारीमा परेको पानी भल काटेर पोखरीमा जम्मा गर्न व्यस्त हुनुहुन्छ । “बर्खामा पानी जम्मा गर्न सकिएन भने हिउँदमा पानीको जोहो गर्न सकिन्न, लगाएका बोटबिरुवा सबै मर्छन्,” उहाँ भन्नुहुन्छ ।

लोकेन्द्र याक्खासहित स्थानीय केही व्यक्तिले बन्दुके डाँडाको करिब एक सय रोपनी जमिनमा ‘तमोर पर्माकल्चर’ फार्म खोल्नुभएको छ । जहाँ २८ प्रकारका विभिन्न फलफूलको खेती र नर्सरी गरिएको छ । सोही फार्मका लागि उहाँलाई अहिले हिउँदका लागि पानी जोहो गर्नु छ ।

२०७० सालताका धनकुटाको कुरुलेबाट बसाइँसराइ चरम उत्कर्षमा हुँदै थियो । कुरुलेबाट बसाइँ सर्नु विभिन्न सेवा सुविधासहित मुख्य कारण पानी पनि थियो ।

खानलगायत अन्य काम र सिँचाइका लागि कुरुलेमा निकै समस्या थियो । जसका कारण कुरुलेमा बसाइँसराइ अधिक हुँदै थियो । छरछिमेक बसाइँ सरिरहँदा केही स्थानीय भने कुरुलेमै केही गर्नु पर्छ भन्ने सोचमा थिए । जसमा लोकेन्द्रकुमार याक्खा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारी, दीर्घमान तामाङ हुनुहुन्थ्यो । उहाँहरूलाई कुरुलेमै केही गर्नु पर्छ भनेर पछाडिबाट उत्प्रेरणा दिने व्यक्ति हुनुहुन्थ्यो भारतीय मूलका अमेरिकन नागरिक राजीव गोयल। किनकि कुरुलेको समस्या र बसाइँसराइलाई गोयलले निकै पहिलेबाट नियालिरहनुभएको थियो ।

याक्खा, काफ्ले, भण्डारी र तामाङको टोलीले कुरुलेमै कृषिमै केही गर्ने विचार गर्नुभयो । जमिन प्रशस्त थियो, कामदार पनि जसोतसो उपलब्ध हुन्थ्यो, कृषि उत्पादनलाई बजारको पनि खासै समस्या थिएन तर पानी सबैभन्दा ठुलो चुनौती थियो । २०४५ सालको भूकम्पपछि कुरुलेमा पानीका धेरै मुहान सुकेको र पानीको समस्या सुरु भएको स्थानीयको भनाइ छ ।

यो कार्य गर्न सुरुमा पानीको जोहो कसरी गर्ने भन्ने मुख्य चुनौती थियो तर पछि गोयलले नै सल्लाह दिनुभयो बर्खाको आकासे पानी पोखरी बनाएर सङ्कलन गर्न सकिन्छ, जुन हिउँदमा आवश्यक परेको खण्डमा चलाउन सकिन्छ । सोही सल्लाह अनुसार आकासे पानी सङ्कलनका लागि ठुला ठुला पाँच वटा पोखरी निर्माण गरियो । जहाँ बर्खामा परेको करिब ३४ लाख लिटर पानी जम्मा हुन्छ । जसले सिँचाइका लागि आवश्यक पर्ने पानीको जोहो हुन्छ । यसरी बर्खामा जम्मा गरिएको पानी हिउँदमा सिँचाइका लागि प्रयोग गर्ने गरिएको ‘तमोर पर्माकल्चर’ का व्यवस्थापक भोजकुमार काफ्ले बताउनुहुन्छ ।

“सुरुमा केही गर्ने भनेर त लागियो तर पानीको समस्या थियाे, पछि आकासे पानी जम्मा गरेर हिउँदका लागि प्रयोग गर्न सकिन्छ भनेर सल्लाह पायौँ, सोही अनुसार ग-यौँ । अहिले हिउँदका लागि आवश्यक पर्ने पानी बर्खामै जोहो गर्छौं र हिउँदमा प्रयोग गर्छौं,” काफ्ले भन्नुहुन्छ ।

अहिले केही गर्न चाहनेका लागि पानी समस्या हैन भन्ने उदाहरण बनेको छ धनकुटाको कुरुलेस्थित बन्दुके डाँडा । पहिले पानी अभावकै कारण उराठ बनेको यो क्षेत्र अहिले बर्खामा जोहो गरिएको पानीकै कारण यहाँ बाहै्र महिना हराभरा हुन्छ ।

‘तमोर पर्माकल्चर’ ले कुरुलेको करिब १०३ रोपनी क्षेत्रफलमा विभिन्न जातका स्याउ, आरुबखडा, बखडा, ओखरलगायत ३५ प्रजातिभन्दा बढी फलफूल लगाइएको छ । साथै नर्सरी पनि गरिएको छ । यी बोटबिरुवा तथा नर्सरीका लागि त्यही बर्खामा जम्मा गरिएको पानी प्रयोग गर्ने गरिएको छ । जसका कारण पहिले केही नहुने कुरुलेको बन्दुके डाँडो हराभरा भएको छ । यो विधिले कुरुलेको तत्कालीन पानीको समस्यामा मात्र समाधान नगरी सुकेका मूल पुनर्जीवित हुन सक्ने

योजनाका योजनाकार गोयलको विश्वास छ । “यो जम्मा भएको पानीले बोटबिरुवा हुर्काउँछ । बोटबिरुवा बढेपछि पानी सोस्ने क्षमता बढ्छ, बिस्तारै मूल पुनर्जीवित हुन्छन् तर यसका लागि केही समय पर्खनु पर्छ,” गोयल भन्नुहुन्छ ।

अहिले यही तरिका अपनाउँदै स्थानीयले समेत आकासे पानीको जोहो गर्न थालेका छन् । करिब एक सयभन्दा बढी परिवारले एक लाख लिटर पानी जम्मा हुने गरी पोखरी निर्माण गरी सिँचाइका लागि प्रयोग गर्दै आएको स्थानीय गोपीकृष्ण भण्डारी बताउनुहुन्छ । यो पानीले स्थानीय सिँचाइसहित घरधन्दा र बस्तुभाउलाई खुवाउन प्रयोग गर्दै आएको उहाँको भनाइ छ । यही विधि अनुसार कुरुलेमा धेरै स्थानीयले स्याउ फलाएर बिक्री गरेका छन् ।

पहिले पानीको समस्याका कारण सब्जीसमेत बजारबाट खरिद गरेर खाने गरेका स्थानीयले अहिले भने आफैँ उत्पादन गरेर खाने मात्र हैन, बिक्रीसमेत गर्न सुरु गरेका छन् । पानीका कारण पहिले बसाइँसराइले उजाड भएको कुरुलेमा अहिले बर्खाको पानी जोहो गरी स्थानीयले पुनः हराभरा बनाउन थालेका छन्।गोरखापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button