स्वास्थ्य

बटुवा डराउने टुनिबोटमा अस्पताल

अर्जुन काफ्ले

स्याङ्जा । कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाउँ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे ।

टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुवाकोटका राजाले पाल्पा आक्रमणका लागि १९५२ बाट हातहतियार राख्न प्रयोग गरिएको ठाउँसमेत हो ।

हातहतियार राख्न प्रयोग गरेको १२० मिटर लामो इँटा र माटोले बनाएको दरबारलाई श्री ३ महाराज खड्गशमशेरले १९९७ सालमा नेपालभरका ४२२ कुष्ठरोगीलाई उपचार गर्न यही ठाउँको प्रयोग गर्नुभएको थियो । लामो समय कुष्ठरोगी बस्ने स्थान मालुङ्गा टुनिबोट अहिले अस्पतालमा रूपान्तरण भएको छ । यहाँ बिरामीले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउने गर्छन् । अहिले सरकारले सर्वसाधारणका लागि सुविधा सम्पन्न १५ बेडको स्वास्थ्य केन्द्र (अस्पताल) तीव्र रूपमा निर्माण गरिरहेको पनि छ । कुष्ठरोगी पोखरा पुनस्र्थापना भएसँगै कुष्ठरोग निवारण सङ्घसँग १९ रोपनी नौ आना जग्गा भाडामा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बनाएको र अहिले उक्त जग्गा अस्पतालको नाममा समेत आइसकेको छ ।

टुनिबोटमा बिरामीको सङ्ख्या घट्दै गएपछि बाँकी रहेका ८२ रोगीलाई कुष्ठरोग निवारण सङ्घले २०४६ सालमा पोखरा सारेको थियो । वडाध्यक्ष मणिप्रसाद बस्यालले कुष्ठरोगीलाई पोखरा सारेको चार वर्षमा पुरानो भवन फालेर प्राथमिक स्वास्थ्य केन्द्र बनाएर डाक्टरसहितको सेवा दिन थालिएको बताउनुभयो ।

२०४८ सालको निर्वाचनमा चुनाव प्रचारका क्रममा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग स्थानीयले स्वास्थ्य केन्द्र माग गरेसँगै २०५० सालमा सरकारले देशभर २० प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्दा यहाँ पनि बनेको हो । लामो समय कुष्ठरोगी बसेका कारण त्रासमा रहने टुनिबोटमा अस्पताल निर्माणसँगै अहिले स्थानीयसमेत हर्षित भएको बस्यालले बताउनुभयो ।

नयाँ अस्पताल भवन १० करोड २० लाख ५७ हजार १८ रुपियाँ १७ पैसामा निर्माण कम्पनी सिनर्जी शङ्खदेवी काठमाडौँले दुई वर्षमा सक्ने गरी २०७८ जेठ ३० गते सम्झौता गरेको थियो । म्याद सकिए पनि अस्पताल निर्माण भने ४० प्रतिशत मात्र भएको छ । स्वास्थ्य केन्द्रले मात्र स्थानीयलाई उपचार पर्याप्त नभएपछि यहाँ सरकारले अस्पताल निर्माण अगाडि बढाएको बस्यालले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट पाउने सेवाबाहेक अन्य उपचारमा पोखरा र पाल्पा जाने स्थानीय सर्वसाधारणले अस्पताल निर्माणसँगै गाउँमै एक एमडी, तीन एमडी (विशेषज्ञ) सहितको सबै सेवा पाउने छन् । स्थानीय तुलसी भण्डारीले कुष्ठरोगीसँगै आफूले चार वर्ष कुष्ठरोगीको उपचारमा काम गरेको बताउँदै यहाँ ल्याएका कुष्ठरोगीहरू उमेरका कारण धेरै मरेको र केही मात्र उपचारमा निको भएको बताउनुभयो ।

उपचारमा निको भएका घर नफर्केको बताउँदै भण्डारीले कुष्ठरोगीबाट स्थानीयमा त्रास रहे पनि काम गर्न सक्नेले गोरेटो बाटो बनाउने जस्ता सामाजिक क्षेत्रका काम गरेको बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button