काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न हुँदै छ । आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्न लागिएको हो । छठका व्रतालुले मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । सूर्योदय कालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा छ ।
छठ पर्वमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल पनि आइतबार गौरीघाटस्थित गुहृयेश्वरी मन्दिर परिसरमा पुग्नुभएको थियो । तराई मधेशसहित पहाडी भेगमा पनि पछिल्लो समय छठ पर्व मनाउनेहरूको संख्या बढ्दै गएको छ । काठमाडौंका विभिन्न १३ वटा जलाशयमा छठ मनाइरहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ । यसअघिका राष्ट्रपतिहरू पनि छठ मनाउनका लागि गुहृयेश्वरी पुग्ने गरेका थिए ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व सोमबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । आइतबार साँझ देशभर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो । आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइँदै छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्य देवतालाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट् राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।हिमालय टाइम्स