
काठमाडौं– भारतको कोलकातामा जारी साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत बिहीबार अन्तिम लिग खेल हुँदैछ । नेपालका लागि फाइनलमा पुग्न भुटानविरुद्ध जित आवश्यक छ ।
मंगलबार भएको खेलमा बंगलादेशविरुद्ध जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । साविक विजेता समेत रहेको बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेश र नेपालको समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ ।
मंगलबार नै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्षस्थानमा छ । भारतले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २-० को जित दर्ता गरेको थियो । भारतले भुटानमाथि ७-० को फराकिलो जित दर्ता गरेको थियो । लिग चरणमा नै भारतले बिहीबार बंगलादेशको सामना गर्नेछ ।
नेपालले भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ । यद्यपि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा भने गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । त्यसको सम्भावना भने निकै न्यून छ । त्यसका लागि बंगलादेशले कम्तिमा ४ गोलको अन्तरले जित दर्ता गर्नुपर्ने हुन्छ ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । (हाम्रो खेलकुद)