खबर

सडक पाइलटसँग अन्तरंग : गाडी ड्राइभरले रोक्ने हैन यात्रुले रोक्ने हो : रामबहादुर पौडेल

(किशोरावस्थादेखि नै जसले मजदूरी गर्छ उसैलाई थाहा हुन्छ कामको मर्म । काम गर्नेलाई नै थाहा हुन्छ दुःख र सुखको अर्थ । तिनैमध्येमा पर्छन् रामबहादुर पौडेल । मकवानपुर हेटौंडाका ४५ वर्षे यी रामबहादुर पेशाले सडक पाइलट भए पनि जीवनका हरेक मोडमा हिँडेका छन् । ज्यानको बाजी लगाएर गाडी चलाए पनि उनी खुशी छन् । भोलि जे पर्छ पर्छ भन्दै उनले निर्धक्कका साथ सवारी हाँकिरहेका छन् । तर, सुखपछि दुःख र दुःखपछि सुख भन्ने त भनाइ नै छ । त्यही भनाइले उनलाई तानिरहेको छ । आखिर किन त ? ना ७ ख २०३२ नम्बरको बसका चालक रामबहादुर पौडेलले सडक पाइलट संगको अन्तरंगमा साँघु प्रतिनिधिसंग आफ्नो जीवनको उतारचढाव खोलेका छन्–सम्पादक)

० गाडी लाइनमा लागेको कति भयो ?
–२८ वर्षदेखि लागिरहेको छु यो क्षेत्रमा ।

० पेन्सन पाकेछ त ?
–पेन्सन त डबल पेन्सन खानेबेला भयो मेरो । त्यतिबेला महिनाको अस्थायी सरकारी जागिर महिनाको ६ सय रुपैयाँमा पाएको थिएँ । खाइन । ट्रक चलाउँदा दिनको दुई सय रुपैयाँ पाइन्थ्यो । मासिक दुई सय ५० रुपैयाँ तलब थियो । सरकारी जागिर खा भनेर घरमै लिन पनि आएका थिए । गइन नि । दुई जना साथी गए । म गइन । अहिले गएको भए दुई पटक पेन्सन खाने बेला भयो ।

० पछुतो लागेको छ ?
–लाग्ने नै भयो नि । अहिले त्यति सहज छैन निजी गाडी चलाउन ।

० कति पढ्नु भयो ?
–एसएलसी दिएर छाडेको । पढ्न मन त थियो नि तर समयले यस्तो बनायो ।

० ढोकामा बस्न पर्यो कि परेन ?
–बसियो नि तीन वर्ष ढोकामा पनि । ट्याङ्कीमा बसें । त्यसपछि ट्रक चलाउन थालें । १२ वर्ष ट्रक चलाएँ । एउटै साहुको आठ वर्ष चलाएँ । दुई जना साहुमात्र फेरें ट्रकमा । त्यसपछि १४ वर्ष भयो बसमै निरन्तर चलाइरहेको छु ।

० चलाउन सजिलो चाहिं कुन नि ?
–सजिलो त बस नै हो । ट्रक भारी हुन्छ । तर, टेन्सन बसमा हुन्छ । कुरो नबुझ्ने यात्रु भए भने त तनाव नै हुन्छ नि । तर सम्झाउन सक्नुपर्छ। अनि मान्छन् ।

० कमाइ कस्तो छ ?
–कम्पिटिशन बढी नै छ । तर हाम्रो कमाई घट्ने भन्ने हुँदैन । बढेको पनि छैन । समयअनुसार बढ्नु पर्ने हो ।

० कस्तो छ नि ड्राइभरको जिन्दगी ?
–कतिखेर कहाँ के हुन्छ थाहा छैन । सरकारी जागिरे भए केही हुन्थ्यो । निजीमा अहिले जा भने अहिल्यै जानुपर्छ ।

० ट्राफिक प्रहरीको ब्यवहार कस्तो छ नि ?
–गाडीको विषयका लागि ट्राफिक प्रहरी, प्रशासन राम्रो भएन । मान गर्दैन । मान्छे झार्न नपाउँदै चिट काट्छ । ट्राफिक प्रहरीले लाइसेन्स माग्छ । कि मान्छे मार्नुप¥यो । ड्राइभरले रोक्ने हैन यात्रुले गाडी रोक्ने हो । सीधै लाइसेन्स किन माग्ने ट्राफिक प्रहरीले ? कागजपत्र लैजा भन्छु । गल्ती गरेजस्तो लाग्दैन । तर ब्रेक हानेपछि गल्ती भैहाल्छ ।

० सिन्डिकेटबारे के भन्नुहुन्छ ?
–हटेको छ । हटेको राम्रो हैन । सिन्डिकेट भयो भने सबैको भाडा एउटै हुन्छ नि । हटेपछि मनलाग्दी भयो । भारतीय गाडी मनलाग्दी नेपाल छिरे । बसमा समस्या नभए पनि ट्रकवाला सुके ।

० आफ्नै हो गाडी ?
–हैन, साहुको हो । आफ्नो थियो बेचियो । बैंकलाई किस्ता हाल्दा र संघ खारेज भएपछि बेचें ।

० भोलिका दिनमा के गर्ने ?
–एक छोरा र एक छोरी छन् । उनीहरूलाई पढाउने हो । आफूले पूरा गर्न नसकेको काम उनीहरूबाट गराउने हो । एक वर्षजति गाडी चलाउँछु । त्यसपछि घरमै बसेर साइड काम गर्ने । टिपर लिने । अनि सिमेन्ट फ्याक्ट्रीको काम गर्ने विचार छ । लोकल काम गर्ने ।

० विदेश नजाने ?
–विदेश पनि कमाउने ५०–६० हजार नै हो कमाउने । यहाँ पनि त्यति कमाइहालिन्छ । विदेशको एक लाख र नेपालको ५० हजार उस्तै हो ।

० गाडीलाइन सुधार्न के गर्नुपर्ला ?
–संघ÷संस्था लागु हुनुप¥यो । बसलाई सिन्डिकेट लागु हुनुपर्यो । एउटै भाडादर हुनुपर्यो । भ्याट अनुसारको सुविधा देओस् । समिति राखोस्। सरकारले भूमिका खेल्नुप¥यो ।

० गाडीलाइनमा रमाइलो केही छैन ?
–छ किन नहुनु । ट्रकमा छँदा रमाइलो गरियो । ट्रकमा रहँदा छाप्रोमा बसिन्थ्यो । कुखुरा काटेर खाइन्थ्यो । कहिलेकाहीं २–३ दिन नै एकैठाउँमा बसिदिने । अनलोड गरेपछि एक डेढलाख रुपैयाँ खल्तीमा हुन्थ्यो । अनि बसिन्थ्यो नि ढुक्कैले । अहिले त हटायो सरकारले त्यस्ता ठाउँहरू । पश्चिमतिर अझै छ भन्ने सुनेको छु ।

० मस्ती खुवै भयो ?
–ट्रकमा माया पिरती जम्मा पारेर राख्ने हो भने एक ट्रक जति हुन्छन् होला (हाँस्दै) । उमेरमा रमाइलो गरियो पनि । दुःख पनि छ ।

० कहाँकहाँ पुग्नुभयो ?
–म नेपालको नपुगेको भन्ने दार्चुला र अर्को एक ठाउँबाहेक सबै ठाउँ पुगेको छु । ड्राइभर भएपछि घुम्न पाइन्छ ।साँघु न्यूज २०७६ भदौ ११ बुधबार ०४:५२:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button