कला

मल्टीप्लेक्समा ‘साहो’ को चेपुवामा ‘मारुनी’

वर्षौदेखि मल्टीप्लेक्सहरुले नेपाली फिल्मलाई विभेद गर्दै आइरहेको छ । विदेशी फिल्म प्रदर्शन गर्न तँछाडमछाड गर्ने मल्टीप्लेक्स सञ्चालकहरु नेपाली फिल्मलाई भने सौतेनी व्यबहार गर्ने गरेका छन् । नेपाली फिल्मलाई पाखा र विदेशी फिल्मलाई काखा गर्ने प्रवृति यसपटक पनि देखिएको छ । शुक्रबारबाट नेपाली फिल्म ‘मारुनी’ र साउथ इन्डियन फिल्म ‘साहो’ रिलिज हुँदैछ । दुबै फिल्मको नेपालका अधिकांश मल्टीप्लेक्सहरुमा एडभान्स बुकिङ खुल्ला गरिएको छ ।

तर, मल्टीप्लेक्सहरुले ‘मारुनी’ लाई अत्यन्त न्यून सोज बाँडेका छन् । ‘साहो’ ले भने अहिलेसम्मकै सर्वाधिक सोज पाएको छ । मल्टीप्लेक्समा ‘मारुनी’ को तुलानामा ‘साहो’ को सोज पाँच गुणा बढी देखिएको छ । नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ लाई नेपालको सबैभन्दा ठूलो तथा स्तरिय क्युएफएक्स चेनले मोफसल र राजधानी गरि १३ सोज बाँडेको छ । ‘साहो’ लाई भने ६१ सोज दिइएको छ । यसअघि यो संख्यामा कुनै विदेशी फिल्मले सोज पाएका थिएनन् ।

क्युएफएक्स चेनमा मात्र होइन अन्य मल्टीप्लेक्सहरुमा पनि ‘मारुनी’ लाई न्यून सोज छ । शुक्रबारका लागि बिग सिनेमाले ‘साहो’ लाई १२ सोज दिँदा ‘मारुनी’ २ सोजमा खुम्चिएको छ । एफक्युबमा ‘मारुनी’ ले २ सोज पाउँदा ‘साहो’ ले भने १३ सोज पाएको छ । त्यस्तै, क्यूज सिनेमा र सिडिसी सुन्धाराले ‘मारुनी’ लाई जम्मा १ सोज दिँदा ‘साहो’ ले क्रमशः १० र ९ शोज पाएको छ । मल्टीप्लेक्स सोज हेर्दा ‘मारुनी’ लाई ‘साहो’ सँगको भिडन्त फलामको चिउरा चपाउनुजस्तै कठिन हुने देखिन्छ ।

साउथ सुपरस्टार प्रभासको अभिनय रहेका कारण ‘साहो’ नेपालमा निकै प्रतिक्षीत छ । ‘बाहुबली’ सिरिजपछि उनले नेपालमा पनि निकै राम्रो क्रेज बनाएका छन् । यो फिल्मले भारतसँगै नेपालमा पनि रेकर्डतोड व्यापार गर्ने अनुमान गरिएको छ । जेठपछि कुनै फिल्म नचलेर कर्मचारीको तलब समेत दिन नसकेको गुनासो गरिरहेका हल सञ्चालकहरु ‘साहो’ ले राहत दिनेमा आशावादी छन् । भारतमा यो फिल्मले अहिलेसम्मकै सर्वाधिक ठुलो ओपनिङ गर्ने अनुमान ट्रेड एनालिस्टको छ ।

‘साहो’ का कारण मल्टीप्लेक्समा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर फिल्म ‘मारुनी’ को व्यापारमा ठूलो असर पुग्ने देखिन्छ । विदेशी फिल्म सिंगलमा खासै नचल्ने हुँदा त्यसको फाइदा भने यसले उठाउन सक्छ । तर, यो फिल्मलाई नाफाको व्यापार गर्न सिंगलभन्दा मल्टीप्लेक्समा चल्न आवश्यक छ । किनकि, निर्मातालाई मल्टीप्लेक्सबाट राम्रो शेयर आउँछ । मल्टीप्लेक्समा ‘साहो’ को दबदबा तोड्न ‘मारुनी’ को ‘वर्ड अफ माउथ’ बलियो हुन आवश्यक छ ।फिल्मीखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button