काठमाडौं– इन्डोनेसियन क्लबबाट व्यवासायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द आज स्वदेश फर्कदैछन् । विश्वकप छनोट समूह चरणको खेल खेल्ने तयारीमा रहेको टोलीको प्रशिक्षणमा सामेल हुन उनी बिहीबार दिउँसो २ः०० बजे काठमाडौं आइपुग्ने उनका दाजु रविनले हाम्रो खेलकुदलाई जानकारी दिए ।
विश्व कप छनोटको पहिलो खेल नेपालले कुवेतविरुद्ध भदौं १९ गते खेल्दैछ । रोहित शुक्रबार टोलीको प्रशिक्षणमा सामेल हुनेछन् । विश्व कप छनोटमा नेपालको समूहमा कुवेतसहित अस्ट्रेलिया चाइनिज ताइपे र जोर्डन छन् ।
मलेसियाको लिग च्याम्पियनविरुद्ध भदौ ९ गते भएको मैत्रीपूर्ण खेलमा रोहित थिएनन् । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ पनि तीन साता लामो भ्रमण सेकर बुधबार जापानबाट स्वदेश फर्केका छन् ।
रोहित सम्मिलिन सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानको यो सिजनको राम्रो प्रदर्शन गर्न सकेको छैन । लिग वानमा आफ्नो झन्डै आधा खेल सकिन लाग्दा पनि टोलीले अधिकांश खेलमा बराबरीमा चित्त बुझाउनु परेको छ । बुधबार पनि टोलीले त्यस्तै अर्को बराबरी बेहोरको छ ।
घरेलु मैदानमा पिएसएम माकासारसँग भएको खेलमा रोहितको टोलीले गोलरहित बराबरी खेलेको हो । १३ खेलको समाप्तीमा टोलीले २ खेल मात्र जित्न सफल भएको छ । ८ खेलमा टोलीले बराबरीमा चित्त बुझाउँदा ३ खेलमा भने हार बेहारेको थियो । बुधबारको खेलमा रोहितले पुरा समय खेलेका थिए । (हाम्रो खेलकुद)