गोपाल झापाली
विलियम गुरायनलाई सन् २०५० नोभेम्बर २८ को बिहान, विराटनगर अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पाइला राख्दा हृदय भरिएर आयो। २२ वर्षअघि यही माटोबाट उम्रिएको उसको जीवनको लहरोको फेदमा बसेर ऊ नयाँ वर्ष २०४१ मनाउने महङ्खवाकाङ्क्षासहित यो बिरानो देश आएको हो ।
अमेरिका छँदै उसको बाबुबाट उसले नेपालबारे प्रशस्त सुनेको हो । विराटनगरको राजनीतिक, औद्योगिक इतिहास पनि उसका कानमा झ्याउँकीरीको आवाज बनेको छ । यही भूमिबाट उसको बाबु दयानिधि दाहाल जुँगाका रेखी बस्दाखेरि नै उता पुगेको हो । विमानस्थलबाट उत्रिनासाथ बिरानो मुलुकमा ऊ रनभुल्लमा प¥यो, कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने… ! मानौंं, दयानिधिले बेलाबेला गुनगुनाउने यो गीतमा अहिले ऊ मोडलिङ गरिरहेको छ । बगैंचाभित्रको सहरका रुपमा चिनिएको इटहरीस्थित पाँचतारे होटल रोयल इस्टमा उसको ट्राभल एजेन्टले बसोवासको व्यवस्था मिलाइदिएको थियो । काँधमा एउटा क्यामेरा र सामान्य झोलाबाहेक ऊसँग अरु केही थिएन ।
बाहिर आइपुग्दा होटलबाट आएकी एउटा सुकुमारी उसको नेमप्लेट बोकेर उभिइरहेकी थिई । वरिपरि मिलेका बस्ती, ठाउँठाउँमा देखिने हरिया फाँट, किनारभर हरियो दूबोको बिस्कुन अनि त्यससँगै जोडिएर मुस्कुराइरहेका फूलबुट्यान। होटल स्टाफ आफैं ड्राइभ गरिरहेका थिए । सामान्य चिनचानबाहेक केही गफ भएन । प्रतिघण्टा एक सय २० किलोमिटरको बेगमा चलेको कारभित्र बस्दा उसलाई गाडी चलेको कुनै भानै भएन । बाटो यस्तो थियो कि, मदमस्ती कारवालीको मुलायम गाला जस्तो । कार दायाँ मोडिँदा मात्र उसको टमक्क मिलेको वक्ष अलिकति चलमलाएको देखियो, होटलको मूल ढोकाबाट कार भित्र छिरेको छ । कति चाँडै होटल आइपुग्यो ।
नेपाल आगमनको दोस्रो दिन आज । हुलाकीमार्ग हुँदै भद्रपुरसम्म पुगेर केही आदिवासी बस्तीमा विलियमलाई घुमाउनु छ, कारवालीले । साँझ पर्नै लाग्दा यात्रा सुरू भयो । इटहरीबाट विराटचोक । विराटचोकबाट दक्षिण हुलाकीमार्ग । अनि पूर्वको यात्रा । केही समयको हाँसो कारभित्रै गुन्जिएपछि कारवालीले सोधी, “बाई द वे, तपाईंको नामचाहिँ के पर्यो ?” कारको स्टेरिङमा घुमेका टाँसिएका औंलादेखि बतासमा बयेली खेल्दै गरेको केशसम्म नजर ओछ्याउँदै तन्नेरीले ओखरको दाना फुटाएर दिउल निकालेजस्तो गरी भन्यो, “विलियम, विलियम गुरायन ।”
क्यान बियरको चुस्कीबाट ओठ निकाल्दै कारवालीले थपी, “अनि पहिलो पटक नेपाल आएको भन्नुहुन्छ, फेरि नेपाली पनि अलिअलि बोल्नुहुन्छ कसरी ?”
सूर्योदयको द्वार भेटौंलाझैं गरी चार लेनको हुलाकीमार्गबाट पूर्वतर्फ हुइँकिएको कारमा छोटो संवाद चल्दै गर्दा विलियम अलिक भावुकजस्तो भयो । र खल्तीबाट सुर्ती निकालेर मोल्दै थप्यो, “यसको कथा लामो छ, पछि भनौंला, बरू तिम्रो नाम ?”
अमेरिकी तन्नेरी केटाले सुर्ती मोलेको कहिल्यै नदेखेकी कारवालीले अचम्म मान्दै थपी, “अरे कुइरेले पनि खैनी खाएको ?”
“किन योचाहिँ हामीले खानै नहुने हो र ? यो मेरो बुवाको उपहार हो, मैले उहाँबाटै सिकेको” प्याटप्याट खैनी पड्काउँदै विलियमले भनिनसक्दै “मेरो नाम आ… हाच्छ्यूँ, आम्माम्मा कति पिरो खैनी खान सकेको कुइरेले पनि,” कारवारीले थपी । फेरि उही प्रश्न विलियमको, “के रे तिम्रो नाम ?” ओठभित्र लपक्क मोलेको सुर्ती सुताउँदै भन्यो । कारवालीले छोटो जवाफ दिई, “आभा ।” कुरैकुरामा भावुक बन्यो विलियम । तर कारवाली आभा उत्तेजित । व्यस्त सहर आइपुग्यो । २०÷२२ तलाका लस्करै घर । बाटोको हाँगा फाट्यो । छ लेनको मूलबाटो आयो, एकाएक। “योचाहिँ गौरीगन्ज, यताको पुरानो बजार । अहिले त यसले विराटनगरलाई उछिन्न लाग्यो । चोरी औंलाले पर औंल्याई, “ती पर देखिएका ठूला लहरै घर छन् नि, त्योचाँहि सुकुमवासीहरुको कोलोनी हो, नेपालमा आफ्नो अलिकति पनि जग्गा नहुनेलाई सुकुमवासी भन्छन् । सरकारले तीन सय सुकुमवासी परिवारका लागि त्यो कोलोनी बनाइदिएको हो, त्यहाँ प्रायः सबै १३÷१४ तले घर छन् । हरेक परिवारलाई एकएक ओटा फ्ल्याट दिएको छ रे । तर मचाहिँ पुगेको छैन ।” कारवालीले भनेको कथा कुइरेले सुन्यो कि सुनेन, कुनै प्रतिक्रिया दिएन ।
अचम्म मानी, “अरे विलियम के भयो ?” आँखाका डिल पुछ्दै कुइरे केटाले सुकसुकाएको अलिक नसुहाउने, “मलाई तिम्रो नामले सिरियस बनायो, म पनि यही खोज्दै यहाँ आएको हुँ, आमा ।” कारको गति घटेर ५० तिर आयो, एक्सप्रेस लेनबाट कारलाई एभरेज लेनमा ल्याई र आभाले अचम्म र केही भावुक हुँदै थपी, “ओहो… तिमी अमेरिकादेखि आमा खोज्दै आएको ? इनफ्याक्ट, मेरो नामचाहिँ आमा होइन, आभा हो । बट्, तिम्रो कुरा बुझें ।” सायद पहिलो पटक भेटिएकी आमाझैं ठानेर आभाको अनुहारमा पुलुक्क हेरेर भन्यो, “तिम्रो नाम आमा होइन र, आभा पो हो, के हो आभा भनेको ?”
प्रस्ट पारिदिई, “म तिमीलाई सहयोग गरौंला, आमा खोज्न । एक्चुएल्ली, आभा भनेको चाहिँ उज्यालो, मनमोहक, मनै लोभ्याउने भनेको हो ।”
उसले अर्थ लगाइसक्दा विलियमको मुहारमा पनि आभा छायो, रूँदारूँदै मुस्कुराएको बच्चाझैं मुस्कुरायो, “त्यही भएर पो तिमी यति राम्री रहेछौ ।” कारभरि हाँसो गुन्जियो ।
मौसम चिसिन थालेको थियो । क्याफेहरुमा व्यापार बढेको बेला थियो । इटहरीबाट विराटचोक, नेताचोक हुँदै हुलाकीमार्गबाट गौरीगन्ज हुँदै भद्रपुर पुग्दा एक घण्टा जति मात्र लाग्छ । भद्रपुर पनि नेपालको पुरानो सहर । तर कुनै बेला झन्डै गुमनाम भइसकेको सहर अढाई दशक अघिदेखि ब्यूँझिएको हो । पूर्वतर्फ भारतको बिहार र बङ्गाललाई छुने यो सहरको पूर्वी सिरानमा करिब दुई किलोमिटर लामो भन्सार क्षेत्र छ । माथि काँकडभिट्टामा रहेको मेची पुल र भद्रपुरको मेची पुल जोड्ने गरी केबलकार चलेको छ । यो ५ वर्ष अघिदेखि मात्र चलेको हो । यहाँ सन् २०१८ र काँकडभिट्टाछेउमा सन् २०२० मा नयाँ पुल बनेपछि दुवै सहरलाई मिलाएर मेट्रोसिटीको अवधारणा कार्यान्वयन गराउन पनि केबलकार चलाइएको हो । यही व्यस्त सहरको एउटा लक्जरी होटलको आठौं तलामा स्मार्ट लिफ्टबाट पुगेका उनीहरु केही बेर मौनतामा रहे ।
“आभा, इफ यू डोन्ट माइन्ड, आज यतै बस्दा के होला ?” विलियमले मौनतामा प्रश्नको करौंती लायो । “ह्वाई, हामीएक घण्टामा पुगिहाल्छौं नि, इन्जोय गर अनि जाऔंला नि” आभाले आश्चर्यजनक रुपमा थपी । वेटर आयो, मेनु हेरे । विलियमले प्रश्न ग¥यो, “के लिने ?” आभाले छोटो जवाफ दिई, “योर च्वाइस ।”
आभाका अनुहारमा पुलुक्क हेर्दै थप्यो, “वाइन एन्ड चिकेन सुप ओके ?”
फेरि आभा आश्चर्यमा, “यो विन्टरमा पनि वाइन, फेरि चिकेन सुपसँग, हाउ फन्नी ?”
विलियमले वेटरलाई निर्देश गर्यो, “टू वाइन, टू चिकेन सुप एन्ड सिगरेट प्लिज ।”
वेटर गयो । उसले ओठबाट खैनी निकालेर आफ्नै नेपकिनमा पोको पार्यो र गोजीमा हाल्यो । यो देखेर आभाले प्रश्न गरी, “विलियम, तिमी अमेरिकी मान्छे, साउथ एसियनजस्तो खैनी खान्छौ, अलिअलि नेपाली बोल्छौ, आमा खोज्न आएको भन्छौ, खास कुरा के हो ?”
“खास कुराको कुरा नगर न, भनौंला पछि । अनि होटल तिम्रो आफ्नै हो ?” उसले चाहिँ प्रश्न गर्यो ।
“यो हाम्रो फेमिली बिजनेस हो । ३० वर्ष भयो सुरू गरेको । पहिले सानो थियो । मैले सुनेको पहिले इटहरी पनि सानै थियो रे । यो भद्रपुर, गौरीगन्ज, उता दमक पनि सानै सहर थिए रे । तर विराटनगर इन्टरनेसनल एयरपोर्ट बनेपछि र ट्रेन स्टेसन इटहरी भएपछि बाबाले स्टार होटल थाल्नुभएको । अनि मैले पनि विराट युनिभर्सिटीबाट एचएममा मास्टर्स गरेपछि थर्ड म्यानेजरका रुपमा काम गर्दै आएकी हुँ । होटल त बाबाले हेर्नुहुन्छ । फरेनरहरुसँग चाहिँ मैले नै डिल गर्ने गरेकी छु,” उसले बेलिविस्तार लगाउँदै गर्दा आज्ञाकारी वेटर आइपुग्यो, वाइन प्लिज ।
“थ्याङ्क यू,” वेटरलाई धन्यवाद दिँदै आभालाई प्रश्न गर्यो, “त्यसो भए तिमी एक महिनाका लागि मेरा लागि बुक भयौ है, फि कति लाग्छ ? आई एम रेडी, मलाई तिमीले गाइड गर्दिनुपर्यो, एन्ड हेल्प पनि ।”
आभाले वाइन सर्भ गर्दै थपी “ओके बट हेल्पचाहिँ के हो, के गर्नुपर्ने हो भनेकै छैनौ ।”
“चियर्स” सिसाका प्यालामा चुम्बन गर्नासाथ आभालाई सर्किएजस्तो भयो । उसले आफ्नो भेस्टको चेन अलिक तल सारेर टकटक्याउँदा आधा देखिएका आभाका निख्खरा मांसपिण्डको अर्धभागको स्वाद विलियमका आँखा वाइनको स्वाद लिइरहेका ओठभन्दा बढी मातिए । सम्हाल्ने निहुले पाखुरामा च्याप्प समात्यो, “हेई, आर यू ओके ?” आभाले सरर्र चेन माथि तान्दै विलियमको हात पन्छाई, “डन्ट वरी, आई एम ओके ।” विलियम अलिक पर सर्यो ।
वाइनको भन्दा दुवैलाई एकअर्काको मादकताले हल्का छुँदै गयो । एकतर्फ चिसो वाइन, अर्का तर्फ तातो चिकेन सुप । विलियम पालैपालो सुरूप्पसुरूप्प पार्दै थियो । आभा गुलाफी ओठमा चिमिक्क फिल्टर च्यापेर टुप्पामा आगो बल्दै गरेको सिगरेट सरर्र तान्थी अनि आगो र सुर्तीलाई एकसाथ धूवाँमा बदलेर मुखमा एकछिन खेलाउँथी । अनि मुख चुच्चो पारेर चक्का बनाउँदै आकाशतिर मुन्टो लगाएर फु… गर्दै छाड्थी ।
त्यही बेला उसले थपी, “हेई कुइरे, तिम्रो कुरा के हो भन ? तिमी के गर्न नेपाल आएको, के हेल्प गर्नुपर्यो ? विलियम केही बोलेन । छेवैमा रहेको सानो काँधे झोलाको चेन खोलेर सानो डायरी निकाल्यो । आभाको हात तान्यो र थपक्क राखिदियो ।
“सब कुरा यहीँ छ, यो बुवाले आफ्नो जीवनको अन्तिम बेलामा मलाई हस्पिटलमा दिनुभएको । नेपालीमा लेख्नुभएको उहाँको डायरी होला सायद । म अलिअलि नेपाली बोल्छु, उहाँकै कारणले । तर अक्षर खासै बुझ्दिनँ । मलाई भन्नुभएको छ कि, मेरो आमा नेपालमा हुनुहुन्छ । तर उहाँले पनि देख्न पाउनुभएन । उहाँहरुको देखादेख नै नभई म जन्मिएँ । उहाँहरुको देखादेख नै नभई उहाँ बित्नुभयो । अब तिमीले मलाई मेरी आमा खोज्न सहयोग गर्नुपर्यो । त्यसअघि यो डायरी पढेर सुनाऊ मलाई,” सारा बह एकै स्वासमा बिसाउँदा उसलाई टनटनी पाकेको पिलो निचोरेर पिप फाले जस्तै भयो ।
तर आभा फेरि चुरोटको धूवाँ सर्काउँदै हाँस्न थाली, “सिल्ली मेन, बाआमाको भेटै नभई तिमी जन्मिएको, त्यो जमानामा त मोबाइलमा ब्लुटुथ र सेयरइट भन्ने थियो अरे, कि तिमी पनि त्यसैबाट जन्मिएको हो ?”
एकहोरो अट्टहास हाँसो फैलियो । विलियमले फेरि थप्यो, “हेई, आई एम नट सिल्ली, बि सिरियस, मलाई बाबाले भन्नुभएको छ, म कसरी जन्मिएँ । तर कथा थाहा छैन । प्लिज, यो डायरी पढेर सुनाइदेऊ मलाई, आज ।”
चढ्दै गएको मात पनि विलियमको अनौठो कुराले खल्र्याकखुर्लुक ओर्लियो, आभाबाट । किचिपिची पार्दै चुरोटको ठुटो एस्ट्रेमा हाली । पुतपुत धूवाँ आयो एकछिन ।
आभाले डायरी ओल्टाइपल्टाइ गरी । “कस्तो अचम्मको कुरा गरेको तिमीले, कथा त खत्रा रहेछ त, मलाई पनि जान्न मन लाग्यो तिमी जन्मिएको यो अनौठो कथा,” डायरी पल्टाउने सुरले आभाले विलियमको ध्यानाकर्षण गरी । मनमनै पढ्न थाली, तर विलियमले गोजीबाट खैनी निकालेर माड्दै भन्यो, “के मनमनै पढेको । मनमनै पढ्ने भए त मेरो मनमा नि छ सबै कथा । तर मेरो मनको कथा न मैले कहिले बुझ्न सकें, न मेरी आमालाई चिन्न सकें । त्यसैले त मैले सुन्ने र बुझ्ने गरी पढिदेऊ भनेर तिमीलाई दिएको त ।”
आभाले प्रस्टीकरण दिई, “हैन हेर्दै छु, त्यसो भए ल सुन, तिम्रो आफ्नै कथा ।”
मेरी हजुरआमा स्वस्थानीको कथा सुन्न हातमा बत्ती कात्ने पिउरी लिएर तयार भएझैं विलियम पनि हातमा सुर्ती लिएर आफ्नै कथा सुन्न तयार भयो । आभाले डायरी सुरू गरी—
प्रिय छोरा विलियम,
मैले जीवनभर तिमीलाई भन्न नसकेका कुराहरु यो डायरीमा टिपेर राखेको छु । एक दिन न एक दिन त तिमीले पक्कै यो डायरी भेट्नैछौ । तिमी को हौ भन्ने कुरा नै तिमीलाई मैले भन्न सकेको छैन । तर एउटा बाबु भइसकेपछि कम्तीमा आफ्नी आमा चिनाउन सक्नुपर्ने हो । तर म यति लाचार छु कि, मैले नै मेरी श्रीमती अर्थात् तिम्री आमा को हुन् भनेर आजसम्म भेट्न पाएको छैन । कम्तीमा भेट्न मात्रै पाए पनि मेरी ती प्रेयसीका प्रत्येक अङ्गअङ्गमा चुम्न मन छ । उनमै हराउन मन छ । सायद उनले पनि मलाई चिन्न सकेकी छैनन् । आखिर यो जुनीमा तिम्री आमा र मेरो भेट र चिनजान हुन नपाए पनि अर्को जुनी म उनकै हुन पाऊँ, उनी मेरीमात्रै होऊन् । मेरो सधैं यही प्रार्थना छ ।
छोरा, मेरो पनि आफ्नै कथा छ । मैले पनि मेरा बाबालाई एक झलकसम्म देख्न पाइनँ । आमाको अनुहार अलिअलि याद छ । अग्लो ज्यान भएकी, हक्की स्वभावकी, अन्याय नहसने हुनुहुन्थ्यो रे । मलाई अनुहारमात्र याद छ, स्वभाव खासै केही सम्झिन्नँ । मेरो घर नेपाल भन्ने देशको झापा जिल्लामा थियो । हामी सानो हुँदा देशैभरि ठूलो क्रान्ति भएको थियो । त्यस बेला हाम्रो देशमा राजतन्त्र थियो । राजाले देशको शासन गर्थे । हाम्रो कुनै जग्गाजमिन थिएन । बुवा गाउँकै जग्गावालकोमा मजदुरी गर्नुहुन्थ्यो । तर गाउँभर क्रान्ति फैलिएपछि, गरिबका पनि दिन आउँछन् भन्ने सुनेर बुवा क्रान्तिकारी हुनुभएछ । हाम्रोतिर त खासै लडाइँ, झगडा भएन । तर बुवा क्रान्ति गर्ने क्रममा पश्चिमतिरको कुन जिल्ला पुग्नुभएको थियो, त्यहीँ सहिद हुनुभएछ । बुवा बित्नुभएको तीन महिनापछि मात्रै गाउँसम्म खबर आएछ । आमाले कुशको बुवाको प्रतिमा बनाएर किरिया गर्नुभएछ । म त्यस बेला तीन वर्षको मात्र थिएँ । उता बुवा बित्दा आमाको पेटमा अर्को बच्चा रहेछ । सात महिनामै आमालाई व्यथा लागेछ । त्यस बेला आमाको भुँडी दुखेको छ, छेउमा नजानू है मात्र भनेको याद छ । उहाँ त्यही व्यथाले जानुभयो । मेरो भाइ थियो कि बहिनी केही पत्तै भएन, दुवै रहेनन् ।
त्यसपछि म दुई वर्ष जति एउटा ठूलो घरमा बसेको याद छ । त्यहाँ २०÷२२ जना हामी जस्तै भुराभुरी थियौं । त्यहाँ धेरै मान्छे आइरहन्थे । त्योचाहिँ अनाथ बाल आश्रम रहेछ । त्यहाँ पुगेका एक जोडी अमेरिकी जोडीले मलाई बच्चा मानेर यता ल्याएका रहेछन् । केही वर्षपछि त देशमा भएको क्रान्ति पनि सकियो भन्ने सुनेको थिएँ । त्यसपछि नेपाल जाऊँजाऊँ लाग्यो पनि । तर म बच्चोसँग केही उपाय थिएन । मलाई अमेरिका ल्याउनेहरुले नै छोरो बनाए । खुब माया गरे । धेरै पढाए । मैले चार्टर्ड एकाउन्टेन्ट भएर काम गरें । म गुरागाईं थर भएको मान्छे हुँ । त्यसैले मेरो कम्तीमा पहिचानचाहिँ रहोस् भनेर होला, मेरो नाम पनि मेरा अमेरिकी बाबुआमाले जर्ज गुरायन राखिदिए । पछि उनीहरुको निधन भयो । मैले पनि अमेरिकी केटीसँग विवाह गरें । मेरी श्रीमती मभन्दा १५ वर्ष जेठी थिइन् । उनको पहिलेको श्रीमान्सँग डिभोर्स भएको थियो । सँगै पढ्दा हाम्रो माया बस्यो । कलेजमा उनी सबैभन्दा छिप्पिएकी विद्यार्थी पनि थिइन् । परिपक्व लागेर पनि म निर्धक्क उनको नजिक भएँ । तर हामी नजिक मात्रै रहेनौं, नजिकपनाले हामी दुवैलाई एक बनायो । प्रेम बसेपछि कुनै कुरामा सम्झौता भएन । विवाह भयो । तर केही वर्ष पर्खिंदा पनि उनको सन्तान भएन । म अमेरिकामा भए पनि मन त नेपाली नै थियो नि । वंश थाम्न एउटा भए पनि सन्तान चाहिन्छ भन्ने ठानेर तिमीलाई जन्माउने उपाय अपनाउन पुगें । तिम्रो जन्म पनि विज्ञानको एउटा चमत्कारले मात्र सम्भव भएको हो ।
अब तिम्रो जन्म कसरी भयो, तिमीलाई भन्दै छु । अमेरिकाबाट दिल्ली पुगेको मेरो एउटा साथी डाक्टर थियो । ऊ निःसन्तान दम्पतीको उपचारमा खुब कहलिएको थियो । उसलाई मैले मेरो समस्या भनें । एउटा सन्तान जसरी पनि चाहिन्छ भनें । उसले मलाई अर्को विवाह गर्न धेरै दबाब दियो । तर कुरा उही त हो, नेपाली आँतले भरिएको मेरो मनले पहिले पनि डिभोर्स गरेकी मेरी श्रीमतीलाई मैले फेरि डिभोर्स गर्न चाहिनँ । अर्को विवाह गर्दा उनीप्रति माया घट्ला भन्ने पिर पनि थियो । पछि उनको पनि क्यान्सरले मृत्यु भयो । मलाई एकपछि अर्को गर्दै चोटहरु आइरहे । तर सन् २०३० तिर उसैले एउटा उपाय दियो । मेरो वीर्य दिल्ली पठाउनुपर्ने भयो । मेरो चाहना पनि कुनै नेपाली महिलाबाटै मेरो सन्तानको जन्म होस् भन्ने थियो । उसले पनि नेपाली एक महिलालाई सरोगेसीका लागि तयार बनाएछ । उनले जति चाहन्छिन् पैसा दिनू । तर छ महिनासम्म उनैले हुर्काउनुपर्छ भन्ने सर्त राखें । उनले पनि मानिछन् । उनको घर पनि झापातिरै हो अरे । उपचारका लागि श्रीमान् लिएर आएकी उनी श्रीमान्को पनि मृत्युपछि अस्पतालमै अभरमा परेकी रहिछन् । हुन त, सुरक्षित रुपमा अमेरिकाबाट भारतसम्म वीर्य पठाउन सहज थिएन । तर सबै कुरा त्यही डाक्टर साथीले मिलायो । मलाई केही थाहा छैन । बस्, उसले भनेको एउटा हस्पिटलमा म गएँ । त्यहाँ पनि उसले अर्को डाक्टरलाई सबै कुरा भनेको रहेछ । के गर्नुपर्ने थियो, उसैले ग¥यो । तर मलाई त्यसपछिको लगभग त्यो २० महिना २० जुनीभन्दा बढी समय लाग्यो । मैले वीर्य पठाएपछि तिमीलाई अमेरिका ल्याउन २० महिना जति लागेको थियो । जन्मिएको छ महिनामा पठाउने भने पनि त्यो साथीको दिल्ली बसाइ पनि सकिने भएपछि उसैले लिएर आउने हुँदा केही समय बढी लागेछ । उनका बारेमा मलाई केही थाहा छैन । उनी पनि तिमीलाई हुर्काएर, मुस्कुराउने बनाएर, बामे सर्ने बनाएर नेपालतर्फ लागिन् रे । जम्मा यत्ति थाहा छ कि, उनको घर झापा हो । बोर्डर छेउछाउ कता हो क्यारे । दमक भन्ने सहरदेखि अलिक तल कता छ अरे । उनको गाउँ । तिमी अमेरिका आएपछि म यति खुसी भएँ कि सारा संसार नै मेरो निजी भए जस्तो लाग्यो । तर पनि पापी मन न हो । तिमी मेरै सन्तान हौ कि होइनौ भनेर डीएनए टेस्ट गर्न पनि गएँ । विज्ञान, विज्ञान नै थियो । रगत, रगत नै थियो । आखिर तिमी मेरो सन्तानबाहेक को नै हुन सक्थ्यौ र ? तिमीलाई जाँच्ने मेरो पापी मनलाई माफ गरिदेऊ ।
प्लिज छोरा, तिमी जवान हुनासाथ जरूर नेपाल जाऊ । तिमी तिम्री आमाको कोलम्बस बन्नुपर्छ । जसरी पनि पत्ता लगाउनू त्यही कोलम्बस बनेर, जसले आफ्नी आमा भेटोस् र डाँको छाडेर आमाको सप्को भिजुन्जेल रून पाओस् । नेपाली चलन छ, आमाका गोडामा निधार टाँसेर ढोग्नुपर्छ छोराले । तिमीले त्यसै गर्नू । बूढी होलिन्, रोगी होलिन्, कहिल्यै नदेखेकी आमाप्रति माया जाग्ला÷नजाग्ला, सायद चाउरिएका भए पनि गालाभरि म्वाइ खानू । अनि मलाई माफ गरिदिनू भन्नू ल । म चाहेर पनि नेपाल आउन सकिनँ । म बाध्यतामा थिएँ । मलाई क्षमा गरिदिन भन्नू है । मलाई पनि मुटुको बिमार छ । डाक्टरले औषधि थप्न सकिन्छ । तर आयु थप्न सकिँदैन भनेका छन् । तिमीले मेरो जीवन रहेसम्म यो डायरी हेर्न पाउनेछैनौं । यो नेपाली भाषामा लेखिएको छ । त्यसैले तिमीले भेटे पनि पढ्न नसक भनेर नै नेपालीमा लेखेको हुँ । बोल्न त अलिअलि सिकाएकै छु । मेरो प्यारो छोरा, मैले पाएको तिम्री आमाको यो धमिलो फोटो छ । त्यो पनि तिमीलाई जन्माउन आएका बेला मेरो डाक्टर साथीले उसको मोबाइलबाट खिचेको रहेछ, धन्न । तिमी आमाको निधार हेर, आहा कति ठूलो छ । त्यसैले त तिम्रो पनि फराकिलो निधार छ नि है ? कति बाक्ला आँखीभौं छन्, ठ्याक्कै तिम्रो पनि उस्तै छ । नाकको छेउको कालो कोठी हेर्नू, तिम्री आमाको फोटोमा भएको । अनि तिम्रो पनि छामी हेर्नू, काटिकुटी उस्तै छ । मैले सुनेको छु, गाउँमा डाँका आएका बेला कानका मुन्द्रा लुट्दा तिम्री आमाको दाइने कानको लोती पनि चुँडिएको छ, अरे । भेट्यौ भने निशाना हेर्नू, अवश्य चिन्नेछौ । तिमीले नचिने पनि आमाका आँखा हुन्, अवश्य तिमीलाई चिन्नेछिन् । आँखै नदेख्ने रहिछन् भने पनि छेउमा जानू, तिम्रो सुगन्धले नै चिन्नेछिन् । स्पर्श गर्न दिनू, स्पर्शले नै चिन्नेछिन् । ‘मातृदेवो भव, पितृ देवो भव’ भन्ने हाम्रो पूर्वीय दर्शन छ छोरा, पितृको जिम्मेवारी ठानेर पनि, आमालाई देवी सम्झेर पनि तिमीले यो जिम्मेवारी अवश्य पूरा गर्नेछौं भन्ने लागेको छ । जुन दिन तिमीले तिम्री आमाको चरणमा शिर झुकाएर आशीर्वाद लिनेछौ, त्यस दिन मात्र मेरो आत्माले मुक्ति पाउनेछ, छोरा ।
उही तिम्रो अभागी, पापी बाबु ।
आभाका आँखाबाट तप्किएका आँसुका थोपाले डायरीका पाना निम्छरा बनेका थिए । विलियम शब्दहीन भएर सुर्ती मोलिरहेको थियो । आभाले निहुरिएर रोइरहेको विलियमका आँखामा आँखा जुधाई । नाकछेउको कालोकोठी उसका आँखा ठुङ्न आइपुगे । आभाले च्याप्पै अँगालो हाली, “सरी विलियम, मैले तिम्रो मन दुखाएछु, तिमी ब्लुटुथबाट जन्मिएको भनेर । आई एम सरी विलियम । मलाई माफ गर ।”
विलियमले नाजवाफ भएर सासले मात्र भन्यो, “नो सरी, इट्स ओके । आज मेरा चारैतिरका क्षितिज खुलेका छन् । म को हुँ, बल्ल आज चिनें। अब मैले मेरी आमालाई चिन्नु छु, के मलाई सहयोग गर्न सक्छौं ?”
बाँधिएको अँगालो सुस्तरी खोल्दै आभाले हिम्मत दिई, “सक्ने मात्रै होइन, यो जिम्मेवारी अब मेरो पनि हो । एउटी आमाको ममता के हो, मलाई पनि थाहा छ । आमाको अँगालो के हो मलाई पनि थाहा छ । आजैदेखि यो काम सुरू गर्नुपर्छ । अब आजको वास दमकमा हुन्छ । यहाँबाट अलिक पश्चिमतर्फ पर्छ, दमक । दमक आसपास रहेछ, त्यो लोकेसन । अब आमा नभेटाई तिमी अमेरिका मात्र होइन, म इटहरी पनि जान्नँ । तिमी कोलम्बस बन्न तयार होऊ, म तिमीलाई साथ दिन तयार छु ।” विलियमका आँखाबाट बग्दै गरेका आँसुका थोपामा बाँध हाल्दै आभाले ढाडस दिई । तर आमा कहाँ छिन्, कस्ती छिन्, न आभालाई थाहा थियो, न विलियमलाई ।from/barakhari.com