भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा प्रकोपका रुपमा फैलिएको फौजी कीरा थाइल्याण्ड, चीन, भियतनाम र अहिले नेपालमा
काठमाडौं । चितवन कर्मथलो भएका कृषि मन्त्रालय मातहतका कर्मचारी मेघनाथ मिमिल्सिनाले मकैबाली सखाप पार्ने अमेरिकी फौजी किराको प्रभाव भएको फोटो आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरे । फौजी किरा नेपाल भित्रिएको पुष्टि भईसकेको अवस्थामा तिमिल्सिनाले मात्रै होइन एक नं. प्रदेशका कृषि निर्देशनालयका कर्मचारी राजेन्द्र उप्रेतिले त फौजी किराबारे लेख नै लेखेर सर्वसाधरणलाई सजग पनि गराए ।
विशेषगरी मकै बाली नष्ट पार्ने यो फौजी किराले नेपालमा पनि निक्कै क्षति पुर्याई रहेको छ । तर यसको समाधानकालागि प्रभावकारी नियन्त्रणमा सरकार लागेको पाइदैन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्रका अनुसार ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाका मकै खेतिमा यो किराको संक्रमण भेटिएको हो ।नेपालमा पहिलोपटक देखिएको यो किराले छोटो समयमै मकैबाली सखाप पार्ने भएकाले कृषि क्षेत्रमा चिन्ता थपिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
पाँच महिना अघि पहिलो पटक नवलपरासीको गैडाकोटमा देखा परेको अमेरिकन फौजी किरा चितवन, ललितपुर हुँदै रामेछाप तथा सिन्धुली जिल्लासम्म पुगेको छ। अमेरिकन फोजी किराको लार्भाले नै मकै धानसहितका ८० प्रकारका बाली तथा बनस्पतीमा क्षति पुर्याउने भएपछि कृषि अनुसन्धान परिषद् ‘नार्क’ ले यो देखिनासाथ खबर गर्न आह्वान गरेको छ।
पूर्वको झापादेखि पश्चिमको दाङ जिल्लाका विभिन्न भागबाट संकास्पद नमूना केन्द्रले परिक्षणका लागि भारत पठाएको थियो । भारतीय कृषि अनुसन्धान परिषद्को कृषि किट संशाधन ब्यूरो बैङ्लोरले गरेको परिक्षणमा अवशेष पुष्टि भएको प्रवक्ता सुवेदीले बताए ।नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटको अनुसन्धानमा फौजी किरा नेपाल प्रवेश गरेको पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले किराबारे थप अनुसन्धान अगाडि बढाएको थियो ।
फौजी किरा, गएको वर्ष भारतका १९ प्रान्तमा फैलिएको थियो। भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा प्रकोपका रुपमा फैलिएको फौजी कीरा थाइल्याण्ड, चीन, भियतनाम र अहिले नेपालमा देखा परेको छ। ‘हामीले दुईवटा विषादी नामै तोकेर सिफारिस गरेका छौं,’ कृषि मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका बालली संरक्षण अधिकृत महेश तिमिल्सिनाले भने, ‘यसलाई समयमा नियन्त्रण गर्ने सके सहज अवस्था आउँछ अन्यथा बाली संकट ल्याउन सक्छ।’
नेपालमा फौजी किरा प्रवेश गरेको र नोक्सानी गरेको औपचारिक घोषणा भएसँगै विभिन्न जिल्लामा मकै, धान तथा अन्य कृषिजन्य बनस्पतीमा यसको प्रकोप फैलिसकेो छ। जसको नियन्त्रण बैज्ञानिकका लागि चुनौतीपूर्ण बनेको छ।
फौजी किरा बारे…
स्पोडोपेट्रा फ्रेगिपेड्रा जेईस्मीथ वैज्ञानिक नाम रहेको यो किरालाई अमेरिकी फैजी किरा भनेर संसारभर चिनिन्छ । यसका अलवा यो किराको कारड्रिना फ्रेगिपेड्रा लगायत सातवटा फरक वैज्ञानिक नाम पनि छन् । उक्त किरालाई जर्मनीमा हेरवूर्म र स्पेनमा कोगोल्लेरो डेल माईज नामले पनि चिनिन्छ ।
देशपिच्छे यसको नाम फरक रहेको पाईन्छ । हल्का खैरो र सादा पहेँलो रङ्गको यो किराको अण्डा ०.४ लामो र ०.३ एमएम अग्लो हुन्छ । उस्तै उचाईका तर ४.५ सेन्टिमिटर लामो यसको लाभ्रा हुन्छ । यो किराको वयस्क भाले १.६ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३.७ सेन्टिमिटर हुन्छ । किराको वयस्क पोथी भालेभन्दा केही ठूलो हुन्छ । वयस्क पोथी १.७ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३.८ सेन्टिमिटर हुने किराहरुको वैज्ञानिक इन्साइकोपिडियाले उल्लेख गरेको छ ।
अमेरिकापछि पहिलोपटक सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको फौजी किरा अहिले एसियाको २५ मुलुकमा फैलिएको छ । सन् २०१६ पछिको साँढे दुई वर्षमा यो किराको फैलावट ब्यापक देखिएको छ । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।
अफ्रिकाको एक ठाउँमा देखिएको फौजी किरा त्यसको दुई बर्षमै पूरा अफ्रिकाभर फैलिएको थियो। वैज्ञानिकहरुले अफ्रिकालगत्तै सन् २०१८ मा यो किरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यबाट प्रवेश गरेको बताएका छन्।
पुतलीको रुप बनेका बेला फैलने यो किरा एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ । ‘नार्क’का किट बैज्ञानिक प्रेमनिधि शर्माका अनुसार फौजी किरा विश्वकै खतरनाक खेति नासक किरा भएको भन्दै यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताउँछन्।
मकैमा देखिने असर
फैजी किराले भर्खरै उम्रदै गरेको मकैको पातदेखि डाँठ, घोगा र बोट नै सखाप पार्छ । नेपालको प्रमुख खाद्यान्न बालीहरुमध्ये एक मकैको उत्पादनमा किराले ठूलो असर पुर्याउन सक्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत एवं प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् ।
किरा नियन्त्रणका लागि छलफल अगाडि बढाइएको केन्द्रका उनले जानकारी दिए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराम शर्माको संयोजकत्वमा किरा चुनौतीबारे अध्ययन गर्न गठन १२ सदस्यीय उच्चस्तरीय समिति भएको छ । भदौ १ गते आइतबार समितिले कृषि, मकैबाली तथा किरासम्बन्धी सरोकारवाला, सरकारी अधिकारी, संघसंस्था र वैज्ञानिकबीच फौजी किराको प्रकोप नियन्त्रणबारे छलफल कार्यक्रम आयोजना गरेको प्रवक्ता सुवेदीले बताए ।
बर्दियामा निःशुल्क औषधी वितरण
बर्दियाका किसानलाई फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण कार्य शुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय, बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले असोज महिनाको तेस्रो सातादेखि गुलरिया नगरपालिका–१० को थारु पर्सिया, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाको कण्ठपुर शीतलाबजारलगायतका स्थानमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणका लागि किसानमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
बर्दियाका विभिन्न स्थानका एक हजार बिगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा देखापरेको फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालय, गुलरियाले निःशुल्करुपमा विषादी वितरण गर्दै आइरहेको बताउँदै उनले प्रकोप देखापरेका किसानलाई कार्यालयमा आई निःशुल्क रुपमा विषादी लिएर धानबालीमा छर्कन सुझाव दिए । अधिकृत रावतका अनुसार कार्यालयले हालसम्म ३० भन्दा बढी किसानलाई निःशुल्क औषधि वितरण गरिसकेको छ । अधिकृत रावतले इमिडोक्लोप्रिड नामक विषादी दुई मिली प्रतिलिटर पानीमा मिसाएर पाँच दिनको फरकमा पूरै बोट भिज्ने गरी कम्तीमा तीनपटक स्प्रे गर्नसमेत किसानलाई सल्लाह दिए ।हलोखबर