प्रतियोगितामा बिजयी हुने मेचीनगर ९ को खुट्टिडाँगी महिला समुह ।
काकरभिट्टा
रेडियो साथी ९८.६ मेगाहर्ज काकरभिट्टाले आयोजना गरेको मेचीनगर तीज नृत्य प्रतियोगिता २०७६ को उपाधी खुट्टीडाँगी महिला समुह मेचीनगर ९ ले जितेको छ ।
मेचीनगर ६ स्थीत काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा मेचीनगर ६ को मखमली महिला बचत तथा ऋण सहकारी संस्था दोस्रो भएको छ । त्यस्तै मेचीनगर १ को सञ्जीवनी महिला बिकास संस्था तेस्रो र मेचीनगर १३ को चारआली टोल बिकास संस्थाले सान्त्वना स्थान हासिल गरेको प्रतियोगिताका मुख्य निर्णायक तथा नृत्य कलाकार संघ झापाका अध्यक्ष लोकचन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतियोगितामा पहिलो हुने समुहले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले ५ हजार र प्रमाण पत्र प्रदान गरिएको रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनु भयो । प्रतियोगितामा मेचीनगरका १५ वटै वडाका महिला समुहहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताका बिजयी महिला समुहहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा मेचीनगर उपप्रमुख मिना उप्रेती र कार्यक्रमकी सभापति संगिता थापाले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
रेडियो साथीका उपाध्यक्ष संगिता थापाको सभापतित्व तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगरका महिला कार्यपालिका सदस्यहरु निरु परियार, लक्ष्मी पाख्रीन, बिन्दा प्रसाई, कुशुम चौधरी, रुपा गुरुङ्गको बिशेष आतिथ्यता रहेको थियो । मेचीनगर भरी बाट सयौं महिला तथा दर्शकको उपस्थितिका रहँदा काँकरभिटा खानेपानी संस्थाको सभाहल खचाखच भरिएको थियो ।
यस अघि उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मेचीनगर उपप्रमुख उप्रतीले रेडियो साथीले आयोजना गरेको फरक प्रकृतीको कार्यक्रमले नेपाली महिलाहरुको बिशेष चाड तीजको उच्च सम्मान गरेको र आम मेचीनगर बासी आमा दिदीबहिनीहरुसंग शुभकामना साट्ने अवसरको सृजना गरेको भन्दै रेडियो साथीले आयोजना गरेको नृत्य प्रतियोगिताको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
पछिल्लो समयमा भड्किलो बन्दै गएको तीजलाई यस किसिमका कार्यक्रमको माध्यमबाट समेत सभ्य र भब्य ढंगले मनाउन सकिने उदाहरण प्रस्तुत गर्न रेडियो साथी सफल भएको बताउनु भयो । रेडियो साथीले आगामी दिनमा समेत यस किसिमका कार्यक्रमको आयोजना गरेमा मेचीनगर नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उप्रतीले रेडियोले यस किसिमको कार्यक्रमलाई भबिष्यमा समेत निरन्तरता दिनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै महिला कार्यपालिका सदस्यहरुले रेडियो साथीले आम मेचीनगर बासी महिला दिदीबहिनीहरुमा यस पटकको तीजमा खुशी र सद्भाव एक आपसमा साटासाट गर्ने अवसरमा जुराईदिएकोमा बिशेष आभार प्रकट गर्नु भयो ।
प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले तीजको गितमा सामुहिक नृत्य प्रस्तुत गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रमको शुरुवातमा धुलाबारी स्थीत होलीबेल अंग्रेजी माविका बिद्यार्थीहरुले निर्मला पन्तको हत्यासंग सम्बन्धीत सचेतना मुलक स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै मेचीनगर ६ को महिला समुहले परम्परागत संगिनी नृत्य समेत कार्यक्रममा प्रस्तुत गरेको रेडियो साथीका कार्यक्रम निर्देशक जि आर धितालले बताउनु भयो ।
मेचीनगर नगरपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगिताको फाइनल प्रवेशका लागि वडा स्तरमा छनौट चरणको प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । फाइनलमा प्रतिस्पर्धी सबै समुहलाई सहभागिताको प्रमाण पत्र बितरण गरिएको थियो ।
नृत्य कलाकार संघ झापाका अध्यक्ष श्रेष्ठ सहित नृत्य प्रशिक्षकहरु रेस्मा प्रधान र भिक्टोरिया राईको निर्णायक मण्डलीले प्रतियोगिहरुको मुल्याकंन गरेको कार्यक्रमको सञ्चालन रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले गर्नुभएको थियो ।रेडियो साथी