काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको मुद्दा आईतबार जिल्ला अदालत चितवनमा दर्ता भयो । मुद्दा दर्ता भएकै दिन चितवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २३ जना घाइते भए ।
पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा मृत्युको कारण भनेर नाम लिइएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि प्रहरीले १० दिनसम्म अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको हो । अपराध अनुसन्धानको सामान्य प्रक्रिया अगाडि बढिरहेको बेला सुरुकै दिनदेखि आन्दोलन र प्रदर्शन हुनु चाहिँ सामान्य बन्यो ।
अभियुक्त रवि लामिछाने समर्थक र प्रहरीबीच आईतबार साँझ चितवनमा भएको झडपमा डीएसपीसहित २३ जना घाइते भए । झडपमा डीएसपी एकनारायण कोइरालासहित २३ बढी प्रहरी घाइते भएका प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले ड्युटीमा खटिएका प्रहरीमाथि प्रदर्शनकारीले एक्कासी ढुंगा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको बताए ।
प्रदर्शनकारीले भरतपुरको चौबीस कोठीमा राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले खुलाउन प्रयास गर्ने क्रममा झडप भएको थियो । रविका समर्थकले राजमार्गमा चल्ने सवारीसाधन समेत तोडफोड गरेका थिए । न्यायिक छानबिनको प्रक्रियामा रहेको मुद्दाका विषयमा न्यायका नाममा सडकमा अराजकता भइरहेको छ ।
सोमबार अदालतमा रवि र युवराजको बयान तथा थुनछेक बहस हुँदैछ । अस्मिता कार्कीको बयान आईतबारै सकिएको छ । थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउन सक्ने, धरौटीमा रिहा गर्न सक्ने वा साधारण तारेखमा रिहा गर्न सक्ने सम्भावना रहन्छ । प्रहरी अनुसन्धानले रविलाई दोषी देखाउने प्रमाण फेला परेको र अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अवस्थामा अराजक भीडले अशान्ति फैलाउने सक्नेतर्फ सावधान र सचेत हुँदै सोमबार बिहानैदेखि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।
मुद्दाको अनुसन्धान गर्ने, अभियोजन गर्ने र आदेश गर्ने निकाय रहेको क्षेत्रमा भीडभाड र अशान्ति हुँदा कामकारवाहीमा अप्ठ्यारो भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीले निषेधित क्षेत्र घोषणा गरेका छन् ।
आईतबार राति चितवन जिल्ला सुरक्षा समितिको बैठकले आदेश जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि चारकिल्ला तोकेर प्रदर्शन गर्न र पाँच जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ ।तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानूनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशमा उल्लेख छ ।
यस्तो छ निषेधित चारकिल्लाको सीमा
पूर्व – बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालय चोकदेखि घरेलु कार्यालयको चोकसम्म
पश्चिम – पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म
उत्तर – बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौबिसकोठी चोकसम्म
दक्षिण – बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म।
सडकमा मात्रै नभई सामाजिक सञ्जालमा समेत अभियुक्त रविका समर्थकले अफवाह फैलाउने काम गरिरहेका छन् । पुडासैनीको शरीरमा भएका पुराना निलडाम देखाउँदै कुटेर हत्या गरिएको प्रचार गरिएको छ । फोटोशपबाट पुडासैनीको आँखामा मान्छेको फोटो राखेर ‘यही हो हत्यारा’ भन्दै अफवाह फैलाइएको छ ।
रविका समर्थकको अराजक भीड यतिसम्म असहिष्णु छ कि रविको विपक्षले हुने गरी कसैले तार्किक बहस गर्दा समेत गालीगलौजमा उत्रिने गरेका छन् । प्रहरी अधिकारीमाथि गालीगलौज गरेको अभियोगमा रविका केही समर्थक पक्राउ समेत परेका छन् । कानूनी प्रक्रिया अनुसार भइरहेको न्यायिक छानबिनमाथि अफवाहको भरमा प्रश्न उठाउने र अराजकता फैलाउने भीड सक्रिय भएको छ ।
न्यायपालिकामाथि वर्षाैदेखि रहेको विश्वासलाई चुनौती दिने काम रविका समर्थकको भीडले गरिरहेको छ । तार्किक र कानूनी बहसभन्दा पनि अफवाहको जगमा टेकेर रविका समर्थकले आफैं अफवाह फैलाउने, आफैं कुतर्क गर्ने र आफैं रवि निर्दाेष रहेको ‘फैसला’ सुनाउने गरेका छन् ।काठमाडौँपाटी अनलाइनबाट ।