कविता
जी एन शर्मा
कृष्ण सेनले कलम र आवाज बोकेको थियो
न्याय र समानताको गीत गाएको थियो
देवकुमार र कृष्ण सेनसँग थियो भने आस्थाको पहाड र विश्वासको सगरमाथा थियो
तड्पाई तड्पाई संगीन घोची रहँदा
घोप्टो पारेर बुटले किल्चिरहँदा
म आज तिमीलाई छाती खोलेर सोध्दैछु त्यो चित्कारको समयमा तिमी थ्यौ कहाँ ?
कुन किर्तनमा मग्न थियौ तिमी र तिमीहरु
मृत्यु , चोट , शुन्यता , घात र शोक त एउटै हुदैन र ?
कहिले यो का नाममा कहिले त्यो का नाममा
निर्दोषहरुको लासको खात बनिरहँदा , आमा र चेलीहरुले भक्कानो फुटाईरहँदा
एउटा दुधे बालक र हातपाउ बसेका बा आमा साहारा विहिन भईरहँदा
म आज चुनौतिका साथ प्रश्न गर्छु त्यो बेला तिमी थ्यौ कहाँ ?
कुन चलचित्रको आनन्दमा मस्त थियौ तिमी र तिमीहरु
चित्कार , वेदना , आँशु , विछोड र दुखाई त उस्तै हुदैन र ?
आज म तिमी र मेरो फरक छुट्याई रहेको छु
तिमी आँशुलाई ब्यापार बनाउँछौ
म आँशुको कारण र समाधान खोज्छु
तिमी आँशुलाई औडाह बनाई दिन्छौ
म आँशुलाई आशामा बदल्न खोज्छु
मैले खोज्दै जाँदा मात्र आज बुझेँ
तिमी धेर बुझेर बुझ पचाउने गर्छौ
म थोरे तर सत्य बुझेर सत्य बताउने गर्छु