
नेपाली गीत संगीतको क्षेत्रमा जिवन र जगतको भोगाईलाई टपक्क टिपेर मिठास धुनमा मनसँग मनजोड्ने संगीतकार हुन् पुजन ल्वागुन। अक्सर जिवन र जगतको सम्बन्ध भएका गीतहरुमा संगीत भर्न मनबाटै तत्परता देखाउने पुजन नेपाली सांगीतिक फाँटका एक आशाका दीपक पनि हुन् । बाल्यकालबाटै बालगायकका रुपमा सांगीतिक दुनियाँमा ओर्लेका उनी संगीतको दुनियाँम आउनुको कारण भने उनको सानैदेखिको रुची र पारिवारिक सांंगीतिक वातारण भएको पुजन बताउँछन् । भर्खरै मात्र श्रोता समक्ष आएको लाचार बादल नामको सांगीतिक कोशेलीबाट चर्चामा आएका उनै संगीतकार पुजन ल्वागुनसँग गरीको सक्षिप्त सांगीतिक कुराकानी ।
संगीत क्षेत्रमा तपाई कहिलेदेखि सकृय हुनु भयो ?
म केवल ७ वर्षको उमेर हुँदा पहिलो पल्ट स्टेजमा गायकको रुपमा निस्किएको थिएँ। घरमा पनि सांगितिक माहोल थियो, मेरो बाजे एकदल राम्रो मादल बादक साथै गायक हुनुहुन्थ्यो। उहाँले सोरटी , संगिनी, अन्य लोक गीत खुब मज्जाले गाउनु हुन्थ्यो।
सक्रिय चै सन् १९९९ साल देखि । त्यो समय एल्बम अथवा रिबन क्यासेटको जमाना। मैले आफ्नै शब्द संगीतमा दुई वटा गीत रेकर्ड गराएर बजारमा उत्रीएँ। तेस पछि संगीत गरिराछु।
किन संगीत क्षेत्रमै लाग्नु भयो ?
संगीत क्षेत्रमा म आफ्नो सन्तुस्टिको निम्ति लागे सुरु सुरुमा। जब जब चेत खुल्दै गयो अरुको काम सुन्दै नियाल्दै गए झन रुचि बड्दै गयो अनि आफुले गाएको अनि संगीत भरेको कामलाई साथी संगी अनि अग्रजले मन पराउदै गए मेरो आत्माबल पनि बड्दै गए। यसरी चल्दै गयो चलिराछ।
तपाइलाई संगीत केहो जस्तो लाग्छ ?
संगीतको धारणा फरक फरक मान्छेमा फरक हुन्छ अनि पाईन्छ पनि। आज हामी दुई पक्षका संगीत साधक पाउने गर्छौ। पहिलो संगीत गरेर गुजारा गर्ने जसलाई हामी प्रोफ्र्सनल पनि भन्छौ अनि अर्को जसले कम्ती काम गर्छ अनि राम्रो काम गरेर पैला त आफू स्वयं सन्तुष्ट बन्छ । म चै दोस्रो श्रेणिमा परेँ। कहिले पनि धेर काम छिटो छिटो गरेर पैसा कमाउने भन्ने सोचिन, मैले साधनाको रुपमा लिएँ। संगीत मेरो बिचारमा एउटा साधना र प्रार्थना हो। भन्नै हो भने संगीत त हामी जस्तो सिकारुको लागि विशाल सागर हो जसको एक थोपाले पनि आत्मा स्वच्छ हुन्छ।
जिवन र संगीतको सम्बन्ध कस्तो हुन्छ होला ?
मलाई लाग्छ संगीत र जिवनको सम्बन्ध यति स्नेही र अमिट छ त्यसको म कसरी ब्याख्या गरुँ ?
बुझ्नेलाई जीवन स्वयं संगीतमय हुन्छ। जीवन भित्रका जीउने अनेक अनेक साधनहरु हुन्छ जस्तो लाग्छ अनि उसरी नै जीवन भोगाईमा आत्मा सन्तुस्टि अनि सन्तुलन अनिवार्य हुन्छ । यो आत्मा सन्तुष्टि अनि सन्तुलन संगीतका कण कणमा अनि राग रागिणीमा बसेका हुन्छन् । बस फरक यति छ कि कति यो सत्य देखि टाढा छन् अनि कति यसका वरि परि।
आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ ?
मैले अघि नै भनिहाले म कहिले पनि पैसा कमाउनु र छिटो छिटो बजारमा हिट हुनको निम्ति आईन। धेरै काम आउँछन् कति राम्रा अनि कति मनले नखाएका। आफुलाई मन पर्ने काम गर्छु अनि थोरै गर्छु।म संगीतलाई आमा पनि भन्ने गर्छु सकेसम्म आफ्ना असल सन्तानले आमाले रुचाउने काम गर्छन् । मेरो नितान्त ब्यक्तिगत संगीतको बुझाईमा मेरी जो संगीत आमाछन् उनको खुशी भनेको जिवन भोगाईका कथाहरुको शब्दहरुको ज्यान भर्दा उनी खुशी हुन्छिन् भन्ने लाग्छ र म वास्तवमा कति वटा गीतमा संगीत गरेँ भन्दा पनि कस्ता गीतमा गरेँ भन्ने लाग्छ हुन सक्छ यो मेरो ब्यक्तिगत धारणा पनि तर म यसैमा साच्चै रमाई रहेकोछु।
अहिले सम्म कतिवटा गीतमा संगीत भर्नु भएको छ ?
मैले माथिनै पनि भनी हाले नि थोरै काम होस राम्रो गरौँ भन्ने लाग्छ , संख्यात्मक भन्दापनि गुणात्मक पक्षमा मेरो ध्यान जान्छ र कतिवटा गीत भनेर लामो फेहरिस्त भन्दा पनि कस्ता गीत छन् भन्ने पुजनका भन्नेमा यदि कसैले मूल्याङ्न गरिदिदा हुन्छ फेरि यसको अर्थ यो होइन कि मेरो सबै गीत गुणात्मक छन् भन्ने होईन यति चाँही हो म संख्या भन्दा त्यसको गुणमा भने पक्कै ख्याल गर्ने प्रयास भने गर्छु । अहिले सम्म आफ्नो एकल संगीतमा दुई वटा एल्बम आएका छन्। अनि अन्य सिङलहरु गरेर यस्तै सय पुग्छ होला।
एउटा गीत पुरा गीत हुन के के चाहिन्छ जस्तो लाग्छ ?
सामान्यतया गीत संगीतलाई श्रोताहरुको आ आफ्नै रोजाई हुन्छ । मानिसहरुको सोच र धारणा अनुसारका गीतहरु श्रोताले छनौट गर्ने गरेको पाईन्छ तर वास्तवमा गीत समय काट्नलाई , गीतमा जिवन बोल्नु पर्छ , गीतमा भोगाई निस्कनु पर्छ मलाई त लाग्छ एउटा गीत त्यो बेला साँच्चै गीत हुन्छ हरेक श्रोताले त्यो गीत सुनिरहँदा उसको ध्यान त्यसले मनदेखिनै तान्नु पर्छ र सुन्ने श्रोताले त्यो गीत कतै न कतै आफ्नो जिवनसँग मेल खाएको आभाष हुनु पर्छ ।
यस बाहेक एउटा गीत बन्नलाई गीतकार, संगीतकार ,गायक गायिका , बाद्यवादक, राम्रो स्टुडियो, रेकर्डिस्ट , मिक्स मास्टर ईन्जिनियर त जरुरी छँदै छ तर मेरो बिचारमा एउटा राम्रो गीत हुनलाई सहि श्रोताको पनि उत्तिकै महत्वपूर्ण भुमिका रहन्छन्। किन कि आज हेर्ने हो भने राम्रा राम्रा गीत संगीत पुग्नु पर्ने ठाउँमा पुगेका हुँदैनन् बज्नु पर्ने ठाउँमा बजेका हुँदैनन्। यो चै श्रोताहरु नै अल्मलिएको अवस्था भएर हो भन्ने मेरो मान्यता छ।
नेपाली गीतसंगीतका कस्तो देख्नु हुन्छ ?
नेपाली भाषी हामी नेपाली विश्व भरी छरिएर बसेका छौ। विश्व भरी नै पहिचान बनाउने क्रममा हाम्रो जेनेरेसन छ। संसार ग्लोबल नभएर अहिले लोकलजस्तो भएको छ । प्राविधिक बिकासले गर्दा। यसरी नैहेर्ने हो भने विश्व स्थरमा नै हाम्रो संगीतलाई चिनाउनका लागि अहिले बिभिन्न देशमा रहेका नेपालीहरुबाट विवध कार्यक्रमहरु आयोजना भईरहेकोछन् यो पनि एउटा बलियो आधार हो । नेपाली संगीतको क्षेत्रमा नयाँ पुस्ताको उत्साहजनक प्रबेश भएको देखिन्छ । यसै बिचमा बिभिन्न संगीत सम्बन्धि प्रतियोगिताहरुले पनि युवा पुस्ताको आकर्षणलाई बढाएको देखिन्छ । संगीतलाई आय आर्जनका हिसाबले पनि अहिले राम्रोसँग बाँच्न सक्ने आधारको रुपमा देख्न सकिन्छ तर फगत यसलाई आय आर्जनसँग मात्र जोड्न हुदैन हो कलाकारले आफ्नो जिवन धान्न पैसा त कमाउनुनै पर्छ तर गीत संगीतको मर्म र भावनालाई सतहमा राखेर होइन , मैले भन्न खोजेको केहो भन्ने हतारमा गीत बनाएर क्षणिक प्रचारका लागि हलुका शब्दको छनौट र सतही संगीतले संख्यामा एक थपिएला तर त्यसको खासै अर्थ रहन्छ जस्तो मलाई लाग्दैन ।
तपाई र संगीतबीचको सम्बन्ध के हो ?
सुन्नेलाई अलिक अपच पनि हुन सक्छ तर सजिलो तरिकाले भन्नू हो भने संगीत नभई र संगीत बिना शायदै म पनि हुन्न जस्तो लाग्छ ।र, मैले भनि सकेँ नि मैले बुझेको संगीत मेरो आमा हो अर्थात मैले बुझेको संगीतलाई म आमाको सम्मान दिन्छु जसरी आमाको मायाँ र स्नेह र आमा शब्दको महिमा कहिल्यै बुझ्न सकिदैन त्यति गाढा छ संगीत पनि मेरो लागि त्यो प्रेमको सागर हो ।
गीतसंगीतको बारेमा आगामी कुनै नयाँ योजना छ?
एउटा महत्वपुर्ण योजना छ काम थालनी पनि शुरु भएको छ। मेरो अनि मेरि श्रीमती अनुपमाको आवाजमा एल्बमको तयारी हुँदैछ। यहि सालको अन्तिम तिर तयार हुँदैछ। प्राय मेरो आफ्नै संगीत हुन्छ यो एल्बममा।
नेपाली गीत संगीतका आम श्रोताहरुलाई तपाईको केही भन्नु छ ?
आदरणीय श्रोतामा मेरो भन्न त छैन तर एउटा बिन्ती छ। त्यो के भने केही जमात अहिले छन् जसले हाम्रो नेपाली संगीतको नेपालीपनलाई पर पर सारेर अन्य तत्वहरुको मिसावटले लोभ्याने काम गर्दैछन्। त्यो लोभमा हामी नफसौ तर सफ अनि स्वच्छ नेपालीपन बोकेको नेपाली संगीतलाई फस्ट्याउने बाटो दिनोस, माया गरिदिनोस। नेपाली मन र नेपाली पन भन्दा अरु के महान हुन सक्ला र त्यसैले हाम्रा गीतहरुलाई मायाँ गरौँ । धन्यवाद