अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको ज्यान गएको समाचार प्राप्त भएको छ । एक बन्दुकधारीले गोली चलाउँदा अन्य १६ जना घाइते भएका हुन् ।
बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बताइएको बीबीसीले जनाएको छ । उसका अनुसार टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा उक्त घटना भएका हुन् ।
प्रहरीका अनुसार एकजना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको छ । गोलीकाण्डको उद्देश्य भने अहिलेसम्म पनि थाहा भएको छैन।
एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो ।
टेक्सासका प्रहरी प्रवक्ताले घटनाको पुष्टि गर्दै गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको जनाएका छन् । ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार, २ वर्ष मुनिका बच्चालाई समेत बन्दुकधारीले गोली दागेका छन् । ती बच्चाको अहिले ओडेसाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।