कृषि र किसानखबर

विश्वकै उच्च भेगको चियाखेती नेपालमा

टीका बन्धन, काठमाडौं ।विश्वकै सर्वाधिक उचाइमा थालिएको चिया खेतीको पहिलो बाली भित्र्याउने काम आगामी कात्तिक पहिलो साता हुँदै छ। समुद्र सतहबाट करिब तीन हजार मिटर उचाइ हाराहारीमा फैलिएको चिया बगानको उत्पादन सोझै युरोप पुग्ने भएको हो।

सोलुखुम्बुको लिखु पिके गाउँपालिका–५ भकाञ्जेस्थित ‘भकाञ्जे टि स्टेट’मा प्रशोधन भएको चिया हिमालयन प्रोजेक्ट डेनमार्कले १० वर्षसम्म किन्न बैना गरेपछि उच्च भेगको चिया युरोपेली बजार पुग्ने सुनिश्चित भएको हो। ‘नेप्लिज टि ट्रस्ट’ नामक संस्थासँगको सहकार्यमा सो प्रोजेक्टले विश्वकै उच्च भेगमा चिया उत्पादन शुरू गरेको हो।

भकाञ्जे चिया कारखाना समुद्र सतहको २ हजार ८ सय ५० मिटर उचाइमा स्थापना गरिएको छ। आगामी कात्तिक पहिलो साता कारखानाको शुभारम्भ गर्ने तयारी गरिएको बताउँदै हिमालयन प्रोजेक्टकी नेपाल प्रतिनिधि जानकी खड्काले भन्नुभयो– ‘सम्भवतः यो सिजनको अन्तिम चियापत्ती प्रशोधन गरेर फ्याक्ट्री सञ्चालन गर्ने तयारी भइरहेको छ।’

आगामी चैतदेखि नियमितरूपमा चिया कारखाना सञ्चालनमा आउने उहाँको भनाइ छ।उच्च भेगमा चियाखेतीबारे चासो लिएको हिमालयन प्रोजेक्टले सन् २००१ देखि सो भेगका स्थानीयलाई चियाका बिरुवा उपलब्ध गराउँदै आएको थियो। चियाखेतीबारे चासो लिएका स्थानीयबासीले सगरमाथा चिया उत्पादक सहकारी संस्था गठन गरेका छन्। सो सहकारीमा हाल १ सय १० घरपरिवार आबद्ध छन्।

करिब दुई सय रोपनी क्षेत्रफलमा ९० हजार चियाका बिरुवा रोपिएको छ। हिमालयन प्रोजेक्टले १० वर्षसम्म त्यहाँको चिया खरिद गर्ने प्रतिबद्धता जनाएपछि चियाखेती गर्ने कृषक निकै उत्साहित भएका भकाञ्जेका स्थानीय आङ्दावा शेर्पाले नेपाल समाचापत्रलाई बताउनुभयो।

‘यहाँको चिया सिधै युरोप पुग्ने ग्यारेन्टी भएपछि धेरैलाई हौसला मिलेको छ, उहाँले भन्नुभयो– ‘यहाँकरिब दुई सय घरपरिवारले चिया रोपेका छन्, व्यावसायिक रूपमै चिया खेती गर्ने कृषक नै ५० घरधुरी पुगिसके’ शेर्पा आफैले ३५ रोपनी क्षेत्रफलमा चियाखेती शुरू गर्नु भएको छ।

हिमालयन प्रोजेक्ट सन् १८३५ देखि ‘एसी टी पर्क’को ब्रान्डमा चिया व्यवसायमा संलग्न कम्पनी हो। युरोपका अधिकांश मुलुकसहित जापान, चीन, अमेरिका जस्ता मुलुकमा सो कम्पनीले चिया व्यवसाय गर्दै आएको छ। भकाञ्जेको चियाको ल्याब परीक्षणका लागि पटक–पटक डेनमार्क पुगिसकेको र गुणस्तरमा कुनै खोट नपाइएको हिमालयनका प्रतिनिधि खड्काले बताउनुभयो।

तत्कालिन राजा वीरेन्द्रले २०३७ मा मेची र कोशीका पहाडी भेगलाई चिया पकेट क्षेत्र घोषणा गरेपछि सोलुखुम्बुलगायत अन्य जिल्लामा चियाखेतीको प्रभाव परेको जानकार बताउँछन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पनि भकाञ्जे टी स्टेट र त्यहाँको चिया खेतीलाई विशेष चासो लिएको छ। सो क्षेत्रमा चिया कारखाना स्थापनाका लागि बोर्डले १० लाख रुपियाँहाराहारीको अनुदान सहयोग उपलब्ध गराएको छ।

नेप्लिज टी ट्रस्टका अध्यक्ष चिरञ्जीवी दाहालका अनुसार नेपालका अन्य उच्च भेगमा चिया खेती विस्तार गर्न सकिने संभावनाबारे अन्य मुलुकका व्यवसायीले निकै चासो लिने गरेका छन्।उच्च भेगमा उत्पादन हुने चियाको स्वाद र गुणस्तर अन्यत्रको भन्दा भिन्न हुने भएकाले विदेशीको चासो रहेको उहाँले प्रष्ट्याउनुभयो।

भारतको केरलास्थित कोलुकुम्लाई टी स्टेट विश्वकै उचाईमा चिया उत्पादन गर्ने कारखाना हो। सो स्टेट समुद्र सतहको दुई हजार तीनसय मिटरको उचाइमा अवस्थित रहेको बताइन्छ। नेपालमा पाँचथरको पाथिभरा टी स्टेटले सबैभन्दा बढी उचाइमा चिया उत्पादन गर्दै आएको छ। याङवरक गाउँपालिका –१ (साविकका च्याङ्थापु र ओयाम गाविस)मा अवस्थित पाथीभरा टी स्टेट समुद्र सतहबाट दुई हजार दुई सय ५० मिटर उचाइको हाराहारीमा फैलिएको छ।

त्यहाँको उत्पादन जर्मनी, फ्रान्स, चेक रिपब्लिक, रुस, अमेरिका, जापानलगायतका मुलुकमा निर्यात हुँदै आएको सो स्टेटले जनाएको छ। हाल मेचीका चारवटै जिल्ला र कोशीमा सुनसरीबाहेक सबै जिल्लामा चिया खेती हुँदै आएको छ।

यसैगरी सोलुखुम्बुसहित दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा, लम्जुङ, गोरखा, कास्की, म्याग्दी, गुल्मी लगायतका जिल्लामा चिया खेती विस्तार भएको छनेपाल समाचारपत्रबाट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button