मूल खबर

चिनियाँ ह्याकरका कारण एटीएममा अवरोध

देशभर सुरक्षा निगरानीमा चिनियाँ नागरिक
दीपक रिजाल, काठमाडौं। नेपाल घुम्न आउने चिनियाँनागरिक विभिन्न अपराधमा संलग्न हुन थालेपछि सुरक्षा निकायले देशैभर यस्ता व्यक्तिको गतिविधिमा निगरानी बढाएको छ। बितेको एक वर्षमा झन्डै सय चिनियाँनागरिक विभिन्न अपराधमा पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रधान कार्यालयका अनुसार चिनियाँनागरिकको गतिविधि नेपाल घुम्न आउने अफ्रिकी मुलुकका नागरिकभन्दा पनि बढी आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएपछि उनीहरूमाथि निगरानी बढाइएको हो।

केही दिनअघि मानव तस्करीमा संलग्न रहेका चिनियाँनागरिकलाई पक्राउ गरेर कारबाही अघि बढाइरहेका बेला शनिबार राति प्रहरीले पाँच चिनियाँनागरिकलाई एटीएमको पिन नम्बर ह्याक गरेर नेपाली ग्राहकको करोडौं रुपियाँलुट्दै गरेको अवस्थामा पक्राउ गरेको छ।

नेपालमा पक्राउ परेका चिनियाँनागरिकहरू अन्य देशमा समेत यस्तै हर्कत गरेको नगरेको अध्ययन गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो।

उहाँंका अनुसार पक्राउ परेका पाँच चिनियाँनागरिकले कम्बोडिया, थाइल्यान्ड, मलेसियालगायतका मुलुकको भ्रमण गरेको तर नेपालमा भने पहिलो पटक आएको देखिएको छ। ‘आपराधिक गतिविधिमा संलग्न हुने चिनियाँको संख्या पनि बढेकाले उनीहरूको गतिविधिलाई हामीले नजिकबाट हेरिरहेका छौं’, एसएसपी सुवेदीले नेपाल समाचारपत्रसंँग कुरा गर्दै भन्नुभयो– ‘पक्राउ परेका चिनियाँनागरिकका बारेमा थप अनुसन्धानका लागि अध्यागमन विभागलाई अनुरोध गरेका छौं।’

एटीएम ह्याक गर्ने काममा संलग्न रहेका कारण पक्राउ पर्ने चिनियाँनागरिकहरूमा लिन जियानमेङ, झु लियानग्याङ, क्वी युकिङ, लुओ जियालेइ र चेन बिन छन्।शनिबार दिउँसो दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट पैसा निकालेर हिँड्दै गरेका एक चिनियाँलाई पक्राउ गरेपछि उनका अरू चार साथी पनि प्रहरीको नियन्त्रणमा परेका थिए। प्रहरीले समयमा नै उनीहरूलाई पक्राउ नगरेको भए नेपालबाट एक अर्बभन्दा बढी रकम झिक्नसक्ने क्षमता उनीहरूसँग भएको बैंकरहरूले आफूलाई जानकारी दिएको एसएसपी सुवेदीले बताउनुभयो।

प्रहरीले उनीहरूको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपियाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँयुआन, २ सय ५० युरो, ५ हजार कम्बोडियन रुपियाँ, ८० हङकङ डलर बरामद गरेको छ।

प्रहरीले उनीहरूको साथबाट नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मसिन, ६ वटा मोबाइल, ल्यापटप र डाटा कार्डसमेत बरामद गरेको छ।

भदौ १३ गते दिउँसो नेपाल आएका ती चिनियाँनागरिक नागपोखरीस्थित माया मेलोड बुटिक होटलमा बसेको र शनिबार १ करोड ३६ लाख निकाल्न सफल भएको बताइएको छ।

उनीहरूले आइबार विभिन्न स्थानमा रहेका एटीएमबाट थप पैसा निकालेर सोमबार बिहानको फ्लाइटबाट चीन जाने योजना बनाएका थिए। प्रहरीले यस्तो घटनामा अन्य चिनियाँको समेत संलग्नता रहेको आशंका गरेको छ। शंकास्पद चिनियाँनागरिकको खोजीका लागि उनीहरूको बढी जमघट हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरेको छ।

नेपालमा पक्राउ परेका चिनियाँनागरिकसंँग विभिन्न देशका मुद्रा फेला परेकाले उनीहरूले ती देशमा पनि त्यस्तै अपराध गरेको हुनसक्ने आशंकामा इन्टरपोलमार्फत उनीहरू भ्रमण गरेको देशका प्रहरीलाई खबर गर्ने तयारी गरेको प्रहरीले जानकारी दिएको छ।

ह्याकरहरूले नविल बैंकको एटीएमका साथै हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट पैसा निकालेको जानकारी प्रहरीलाई दिएका छन्। विभिन्न एटीएमबाट विदेशी नागरिकले ठूलो मात्रामा रकम निकालेको थाहा पाएपछि बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

नेपाली बैंक तथा वित्तीय संस्थाले प्रयोग गरेका सफ्टवेरहरू कमजोर भएकै कारण विदेशी ह्याकरहरू नेपाल आउने र विभिन्न बैंक तथा वित्तीय संस्थालाई केन्द्रित गर्ने गरेको एसएसपी सुवेदीले जानकारी दिनुभयो।

निक्षेपकर्ताको रकम
सुरक्षित छ ः राष्ट्र बैंक

बैंकहरूमा निक्षेपकर्ताको रकम सुरक्षित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यससँगै चिनियाँह्याकरहरूले लुटेको बैंकको पैसा निक्षेपकर्ताको नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले निक्षेपकर्ताहरूको पैसा नलुटिएको जानकारी दिनुभएको हो।‘बैंककै आफ्नो रकम लुटिएको हो, निक्षेपकर्ताहरूको खाता सुरक्षित छ, चिन्ता लिनुपर्दैन।’ –उहाँले भन्नुभयो।

आइतबार बिहानैदेखि विभिन्न बैंकका एटीएम सर्भर डाउन भएका थिए। लगत्तै राष्ट्र बैंकले केही समयका लागि सबै बैंकको एटीएम सेवा रोकेको थियो।एकाबिहानै बैंकको पैसा लुटिएको खबरपछि बैंकर्स तथा निक्षेपकर्ताहरू चिन्तित भएका थिए।

नेपाल समाचारपत्रसँगको कुराकानीका क्रममा प्रवक्ता निरौलाले बैंकहरू असुरक्षित भएको उल्लेख गर्नुभयो। उहाँले आजको घटनापछि बैंकहरूले केही सिक्नुपर्ने र आफूलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। बैंक तथा वित्तीय संस्थाले प्रविधिमा अधिकतम लगानी गरी आफूलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ।

अन्तर बैंक कारोबार रोकिँदा सेवाग्राहीहरू समस्यामा परेका छन्। चिनियाँह्याकरहरूले विभिन्न बैंकहरूको एटीएमबाट रकम चोरी गरेको पाइएसँगै अन्तर बैंक कारोबार रोकिएको थियो।

राष्ट्र बैंकका अनुसार अहिले बैंकहरूको एटीएम सञ्चालनमा छन्। यद्यपि अन्तर बैंक कारोबार भने रोक्का भएको छ। यसबाट सेवाग्राहीहरू समस्यामा परेका छन्।
ह्याक प्रकरणका विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकले छानबिन समिति बनाएको छ। बैंकका भुक्तानी प्रणाली विभागको प्रमुख रहेका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा आइतबार समिति गठन गरिएको प्रवक्ता निरौलाले जानकारी दिनुभयो।

पाँच सदस्यीय छानबिन समितिमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि हेर्ने प्रतिनिधि र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक रहनुभएको छ। समितिलाई तीन दिनमा प्रतिवेदन बुझाउन निर्देशन छ। उहाँले भन्नुभयो– ‘बुधबारसम्ममा समितिले प्रतिवेदन बुझाउँछ, त्यसपछि हामी आवश्यक प्रक्रिया छलफल गरेर जान्छौं।’नेपाल समाचारपत्रबाट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button