सम्पादकीय

न्यायको पर्खामाई डोम परिवार !

असार ३ गते ईलाका प्रहरी कार्यालय धुलाबारीमा परेको एउटा निवेदन जो अति संवेदनशील छ । मेचीनगर नगरपालिका वडा नं ९  मा बस्दै आएका डोम थरिकी एक किशोरीलाई सोही स्थानका खड्का थरका एक ब्यक्तिले गरेको यौनजन्य हिंसाका बारेमा किटानी साथ जाहेरी गरिएको निवेदन उपर अहिले सम्म सामान्य बहस मात्रै भएको पाईन्छ ।

आफ्नै घरमा भाडामा बस्ने डोम परिवारकी किशोरीलाई घर धनी ती खड्का थरका ब्यक्तिले पटक पटक यौन हिंसा गरेको पिडित पक्षको आरोप सहितको निवेदन प्रहरीमा बुझाएको लामो समय भईसक्दा पनि आरोपी उपर प्रहरीले खोजी हुदै छ मात्र भन्नु र अहिले सम्म आरोपी पक्राउ नपर्नु लाई कसको कमजोरी भन्नु ?

यो घटनाका बारेमा भर्खरै मात्र दलित अधिकारकर्मीहरुले आवाज उठाएकाछन् र आरोपी उपर कारबाहीको माग समेत गर्दै प्रहरीलाई ज्ञापन पत्र बुझाएकाछन् । उता पिडित परिवारका रुपमा रहेका डोम परिवारलाई लामो समय सम्म घर भाडा नबुझाएको भन्दै घरवालाले दिएको निवेदनका आधारमा वडा कार्यालयले घर छाड्न परिपत्र जारी गर्नु आफैमा दुखद छ । एकातर्फ त्यही घरमा भाडामा बस्ने परिवारका एक सदस्य यौन हिंसामा परेर न्यायका लागि निवदेन दिनु र यही अवस्थामा भाडाको विषय उठेर वडा कार्यालयले समेत सत्य तथ्यको निधो नगरि घरबाट निस्कन भन्नुलाई कसरी बुझ्ने ? जे भएता पनि पिडितिको तर्फबाट दिएको निवदेनको सत्यतामा पुग्न आरोपी खड्काको उपस्थिति अनिवार्य छ । उनले फरार भएर होईन घटनाको सत्यतालाई पुष्टि गर्न उनको अनिवार्य उपस्थिति आज जरुरी छ ।

डोम परिवारले लामो समय सम्म घर भाडा बुझाएका छैनन् भने त्यो पाटो यर्थाथमा पनि छलफल गर्न पर्छ तर यो भन्दा गम्भिर र संवदेनशिल विषय रहेको डोम परिवारको निवदेन उपर छलफल पहिलो आबश्यकता हो । यौन जन्य विषयलाई कम आँकेर विषय र प्रसङ्गलाई अर्को तर्फ मोड्न खोज्नुले हाम्रो मानविय संवदेनशिलता र सामाजिक न्यायप्रति भोली प्रश्न चिन्ह उठाउने छ । दलित र गरिब परिवार भएकै कारण उनीहरुको आवाज धिमा छ भन्ने यदि कसैको तर्क र सोच हो भने त्यो किमार्थ न्यायपूर्ण समाज र मानवअधिकारको पक्षमा वकालत गर्नेहरुलाई स्विकार्य हुने छैन । र, न्यायको पक्षमा रहेका डोम परिवारको निवेदन उपर यथाशिघ्र छानबिन होस र पिडितले न्याय पाउन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button