कला

‘मारुनी’ हेरेपछि सेलिब्रेटीले भने- ‘उम्दा फिल्म’

शुक्रबारबाट प्रदर्शनमा आएको नवल नेपाल निर्देशित पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म ‘मारुनी’ ले हलमा दर्शकको खासै राम्रो साथ पाउन सकेको छैन । एकसाथ प्रदर्शनमा आएको साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ ले यो फिल्मको व्यापारमा ठूलो असर गरेको छ । यद्यपि, फिल्मको ‘वर्ड अफ माउथ’ बलियो छ । समीक्षक र दर्शक दुबैले फिल्मको तारिफ गरेका छन् ।

पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा वाचन गर्ने यो फिल्म सेलिब्रेटीलाई पनि निकै मन परेको छ । आइतबार साँझ कुमारी हलमा फिल्म हेर्न नाम चलेका सेलिब्रेटीहरुको बाक्लो भीड लागेको थियो । फिल्म हेरेपछि कोही कथावस्तु र कलाकारको अभिनयको प्रशंसा नगरि बस्न सकेनन् । दोस्रो पटक ‘मारुनी’ हेरेका अभिनेता भुवन केसीले फिल्म मनछुने रहेको बताए ।

यो फिल्मले उठाएको विषयवस्तुमा अरु मेकरले फिल्म बनाउने आँट नगर्ने उनको भनाई छ । उनले भने, ‘एकदम चुनौतीपूर्ण कन्टेन्टमा फिल्म बनेको छ । फिल्ममा केही कमी-कमजोरी छन् तर राम्रा पक्ष धेरै छन् ।’ असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रातो टीका निधारमा’ को दौडधुपमा रहेका निर्देशक अशोक शर्माले फिल्म अत्यन्त राम्रो रहेको तर प्रदर्शनका लागि गलत समय परेको बताए ।

‘बलिउडको त्यति ठूलो फिल्म ‘साहो’ का कारण यो फिल्म अलि ओझेलमा परेको हामीले महशुस गरेका छौं । तर, फिल्म उम्दा छ । फिल्म उठाएको विषयवस्तु राम्रो छ । निर्देशकले इमान्दारपूर्वक काम गरेका छन् । कलाकारहरुको अभिनय मनछुने छ’, उनले भने । अभिनेत्री केकी अधिकारीले फिल्ममा आफू नभएकोमा निर्देशकप्रति गुनासो पोखिन् । फिल्मका कैयन् दृश्यमा आफूलाई पाएको उनको भनाई छ ।

यस फिल्मका निर्देशक नेपालको एक्सन-कटमा दुई फिल्म ‘महशुस’ र ‘भाग् सानी भाग्’ मा काम गरिसकेकी उनी भन्छिन्, ‘नवल दाईसँग एउटा छुट्टै इमोसन छ मेरो । करिअरको सुरुवाती दिनमै उहाँसँग काम गर्न पाएकी थिएँ । उहाँ यस्तो निर्देशक हुनुहुन्छ, जसले फिल्मको गुदी समात्न सक्नुहुन्छ । ‘मारुनी’ हेरेपछि मलाई किन नलिनुभएको भनेर नवल दाईलाई सोधेको थिएँ । केही दृश्यमा म अटाउने ठाउँ देखेको थिएँ।’

समाजले नजरअन्दाज गरेको जेन्डरलाई सम्मानजनक रुपमा फिल्ममा देखाउनु आफैंमा चुनौतीपूर्ण रहेको बताउँदै अभिनेत्री केकीले फिल्मले इमोसन्सलाई कतै मजाक हुने ठाउँ नदिएको बताइन् । उनले दर्शकलाई पनि फिल्म नछुटाउन आग्रह गरिन् । अर्की अभिनेत्री रीमा विश्वकर्माले आफूलाई गर्न मन लागेको फिल्ममा ‘मारुनी’ पर्ने बताइन् । फिल्म हेरिरहँदा पर्दाबाट आँखा नहट्ने उनी बताउँछिन् । निर्देशक विशाल भण्डारीले पनि फिल्म उत्कृष्ट बनेको बताए ।

अभिनेता पल शाह पनि फिल्मको प्रशंसा गरेर थाकेनन् । उनले फिल्मको कथावस्तु निकै मन परेको बताए । ‘हरेक सिनमा सस्पेन्स रैछ । पुष्पको एकदमै राम्रो काम लाग्यो । उनको अभिनयमा परिपक्वता देखेँ । साम्राज्ञीको अभिनय ‘वाउ’ छ । रेविका जीको अभिनयले पनि मन छोयो’, उनले भने । अभिनेत्री वर्षा राउतले पनि पलकै कुरा ‘कपीपेस्ट’ गरिन् । फिल्मको कथावस्तु आफूलाई सबैभन्दा राम्रो लागेको उनले बताइन् ।

पुनम गौतम निर्माता रहेको यो फिल्ममा साम्राज्ञी आरएल शाह, पुष्प खड्का, रेविका गुरुङ, आयुश प्रधान, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतको अभिनय छ । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह निर्माता रहेको यस फिल्मको कथा गोविन्द फुँँयाल र निर्देशक नेपालले लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । मित्र डि.गुरुङ फिल्मका सम्पादक हुन् ।फिल्मीखबर, 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button