एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर विन्डोको अन्तिम दिन गोलरक्षक केलर नाभास र फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेको छ ।
प्रशिक्षक जिनेदिन जिदानले नाभासलाई पहिलो रोजाइमा राख्न नसक्ने प्रष्ट पार्दै क्लब छाड्न छुटकारा दिएपछि नाभासले पीएसजीको प्रस्ताव स्वीकारेका हुन् । पीएसजीले रियल म्याड्रिडसमक्ष नाभासलाई १५ मिलियन युरोमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो । यस प्रस्ताव स्वीकार गरेसँगै फ्रान्सेली टोलीबाट गोलरक्षक अल्फोन्स आरिओला भने एक सिजनका लागि लोनमा रियल म्याड्रिड जानेछन् ।
आरिओला फ्रान्सेली राष्ट्रिय टोलीमा समेत रहेकाले केहि दिनपछि मात्र उनलाई रियलले सार्वजनिक गर्नेछ । नाभास भने अब दुई दिनभित्र पीएसजी खेलाडीका रुपमा सार्वजनिक हुनेछन् । जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाइका रुपमा राखेपछि नाभास क्लब छाड्न बाध्य भएका हुन् । रियलमा अब आरिओलासँगै आन्द्रिय लुनिन दोस्रो रोजाईका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यता इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले पदभार लिएसँगै इकार्डी आफ्नो योजनामा नरहेको बताउँदै आएका थिए । इन्टरले पनि उनलाई अन्यत्र क्लबमा आफ्नो भविष्य खोज्न भनेको थियो । तर इकार्डी र उनकी एजेन्ट तथा पत्नी वान्डा नाराले भने कुनै हालतमा क्लब नछाड्ने बताएका थिए । ट्रान्सफर विन्डोको अन्त्य नजिकिंदै गर्दा पनि प्रशिक्षक कोन्टेले निर्णय परिवर्तन नगरेपछि इकार्डी क्लब छाड्न तयार भएका हुन् ।
इन्टरले पीएसजीको एक सिजन लोन र त्यसपछि खरिद गर्न सक्ने विकल्पसहितको प्रस्ताव स्वीकार गरेको छ । पीएसजीमा हाल मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी घाइते छन् । अर्का सुपरस्टार नेयमार पनि च्याम्पियन्स लिगका सुरुवाती खेलका लागि उपलब्ध छैनन् । फरवार्डको खोजीमा रहेको थोमस टुचेलको टोलीले इकार्डीलाई आफ्नो मुख्य हतियारको रुपमा हेरेको छ ।हाम्रो खेलकुदबाट ।