स्वास्थ्य

प्रधानमन्त्रीको स्वास्थ्य र एन्टिबडी

डा सन्देश पराजुली, अमेरिका

मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला बिरामीका लागि आदर्श हुनुहुन्छ। मिर्गौला प्रत्यारोपण गरे पनि उहाँको सक्रियता, आत्मविश्वास र व्यस्तता देखेर मिर्गौला फेरेका अरू बिरामीमा पनि सकारात्मक उर्जा प्रवाह भइरहेको छ।

प्रधानमन्त्री ओली उपचारका लागि यतिबेला सिंगापुरमा हुनुहुन्छ। उहाँको स्वास्थ्यका विषयमा हामीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरुबाट थाहा पाएका हौं। अमेरिकामा रहेका हामी नेपालीहरूलाई उहाँको स्वास्थ्यका विषयमा चासो हुनु स्वभाविक हो। तर, प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा आधिकारिक जानकारी बाहिर आउन नसक्दा धेरै नकारात्मक खबर पनि बाहिरिएका छन्। यसले धेरैमा भ्रम पैदा गरेको छ।

यसरी प्रधानमन्त्रीको स्वास्थ्यमा नकारात्मक टिप्पणी गर्दा मिर्गौला दान गर्नेलाई पनि नराम्रो लाग्नु स्वभाविक हो। त्यसकारण प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा नकारात्मक कुराभन्दा पनि उहाँको सक्रियता, आत्मविश्वासलगायतका सकारात्मक विषयमा बढी बहस हुन जरुरी छ। यसले अरू बिरामीलाई पनि थप आत्मविश्वास प्रदान गर्दै सकारात्मक ऊर्जा प्रवाह गर्न मद्दत गर्छ।

अमेरिकामा मिर्गौलाका बिरामीको उपचारमा सक्रिय रहँदा मैले धेरै बिरामीलाई नजिकबाट चिन्ने मौका पाएको छु। मिर्गौला फेल भएका बिरामीको दुःखलाई नजिकैबाट नियल्ने मौका पाएको छु। उपचारकै दौडानमा अमेरिकामा मैले सन् १९७१ मा मिर्गौला प्रत्यारोपण गरेका एक बिरामीलाई पनि हालै जाँच गरेको छु। अर्थात् ४८ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका बिरामी अहिले पनि नियमित उपचारमा आइरहेका छन्। त्यसकारण एकपटक प्रत्यारोपण गरेको मिर्गौलाको आयु कति हुन्छ भन्ने विषयमा सहजै भन्न सकिँदैन।

तर, पनि अमेरिकामा उपचारमा सक्रिय रहँदा र यहाँको तथ्यांकलाई हेर्दा एकपटक प्रत्यारोपण गरिएको मिर्गौला औषतमा १३ देखि १४ वर्षसम्म काम गरिरहेको पाइएको छ। तर, प्रत्यारोपण गरिएको व्यक्तिको जीवनशैली, खानपान, उमेर, दाताको मिर्गौलालगायतका कारणले २०/२५ वर्षसम्म पनि प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको उदाहरण धेरै छन्।

प्रधानमन्त्री केपी ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढेकोले सिंगापुरमा उपचार गरिएको हो। सिंगापुरबाट पनि उहाँको सल्लाहकार र निजी चिकित्सकले शरीरबाट एन्टिबडीलाई निराकरण गर्न प्लाज्माफेरेसिस गरिरहेको जानकारी बाहिर आएको छ।

प्रत्यारोपण गरिएको व्यक्तिमा एन्टिबडी निस्कनु भनेको त्यसले मिर्गौलालाई आक्रमण गर्नु भन्ने बुझ्न सकिन्छ। उहाँको मिर्गौलाको क्रियटिनिन र अन्य रिपोर्ट बाहिर आएको छैन। तर, प्लाज्माफेरेसिस नै सुरु गरेको खबर आएका आधारमा भन्नुपर्दा उहाँको मिर्गौलाले राम्रोसँग काम नगरेको बुझ्न सकिन्छ।

सामान्य अर्थमा भन्नुपर्दा मानव शरीरमा आक्रमण गरी क्षति गर्न सक्ने जीवाणुविरुद्ध लडेर शरीरलाई बचाउ गर्न शरीर भित्र नै उत्पादन हुने एक प्रकारको तत्वलाई एन्टिबडी भनेर बुझ्न सकिन्छ। यो एक प्रकारको प्रोटिनजन्य रसायन हो। यसले शरीरलाई हानी गर्न सक्ने तत्वलाई नष्ट गरेर शरीरलाई जोगाउने काम गर्छ। तर, प्रत्यारोपण गरेको व्यक्तिमा अरु व्यक्तिको मिर्गौला हुने भएकाले एन्टिबडीले उक्त मिर्गौलालाई बाहिरी र शरीरलाई हानी गर्ने तत्वका रुपमा चिन्ने भएकाले त्यसलाई आक्रमण गर्ने काम गर्छ। त्यसकारण मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मिर्गौलालाई क्षति हुनबाट जोगाउन आजीवन औषधि खानुपर्ने हुन्छ।

मानव शरीरमा एचएलए एन्टिजिनहरू १२ वटा हुन्छन्। आमा र बुबाबाट ६/६ वटा यस्ता एन्टिजिन बच्चामा आएको हुन्छ। यस्तो एन्टिजिन दाजुभाई तथा दिदीबहिनीहरुसँग बढी मिल्छ। प्रत्यारोपण गर्ने व्यक्तिमा यी एन्टिजिन जति धेरै मिल्छ त्यति नै राम्रो मानिन्छ।

जहाँसम्म प्रधानमन्त्रीको कुरा छ। उहाँलाई प्रधानमन्त्री ओलीलाई नातामा बुहारी पर्नेले १२ वर्षअघि मिर्गौला दान दिनुभएको हो। बुहारीले मिर्गौला दिएका कारण यी एन्टिजिन थोरै मात्र मिलेको छ। त्यसकारण उहाँलाई अहिले थप उपचार गर्न लगिएको हो।

जसरी मानिसको हातमा केही चिजले काट्दा वरिपरि रातो हुने, सुन्निने समस्या हुन्छ। ठिक त्यसैगरी एन्टिबडीले मिर्गौलालाई आक्रमण गरे मिर्गौला रातो हुँने तथा सुन्निने हुन्छ। मिर्गौलाको काममा असर गरेको हुन्छ। त्यसकारण यस्तो अवस्थामा एन्टिबडी घटाउने औषधि दिइन्छ। प्रधानमन्त्रीलाई पनि अहिले त्यही उपचार गरिएको हो भन्ने अनुमान गर्न गाह्रो छैन।

शरीरमा एन्टिबडी घटाउन गरिने उपचार विधिमध्ये प्लाज्माफेरेसिस पनि एक हो। उहाँको पनि अहिले त्यही विधि अपनाइएको छ। तर, उहाँको एचएलए एन्टिजिन कति मिलेको छ, त्यसअनुसार प्लाज्माफेरेसिसले काम गर्ने नगर्ने थाहा हुन्छ।

यदि एचएलए एन्टिजिन थोरै मात्र मिलेको छ भने प्लाज्माफेरेसिसले लामो समयसम्म काम गर्न सक्दैन। प्लाज्माफेरेसिसले राम्रोसँग काम नगरे अर्को प्रत्यारोपण वा डायलाइसिसमा जान सकिन्छ।

प्रधानमन्त्री ओलीको प्लाज्माफेरेसिस उपचार विधि सफल होस् र उहाँको स्वास्थ्य राम्रो होस् भन्ने कामना छ। प्रधानमन्त्रीले आगामी दिनमा नेपालमा नै यी उपचार गराउनु भयो भने अरू मिर्गौलाका बिरामीमा थप आत्मविश्वास बढ्नुका साथै नेपालको उपचार प्रणालीमा समेत भरोसा बढ्थ्यो भन्ने लागेको छ। मिर्गौलाका बिरामीका लागि उहाँ अहिले नै आदर्श र हिरोका रुपमा चिनिनुहुन्छ। यदि उहाँले नेपालमा नै उपचार गराउने हो भने उहाँप्रतिको सम्मान थप बढ्ने निश्चित छ। प्रधानमन्त्रीज्यू! शीघ्र स्वास्थ्य लाभको कामना।

-(डा पराजुली अमेरिकाको युनिभर्सिटी अफ विसकोन्सिन स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थका एसिस्टेन्ट प्रोफेसर हुन्। उनी युनिभर्सिटीको मेडिसिन विभागअन्तर्गत नेफ्रोलोजी (मिर्गौला) प्रत्यारोपण डिभिजनमा कार्यरत छन्। विश्वचर्चित पुस्तक प्रकाशक कम्पनी स्प्रिन्जरले डा पराजुलीद्वारा सम्पादित पुस्तकसमेत प्रकाशनमा ल्याएको छ।)स्वास्थ्य खबरपत्रिका अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button