खेलकुद

पुबुदुको नियुक्तिले शरद उत्साहित

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके एभरेष्ट प्रिमियर लिग(ईपीएल) को भैरहवा ग्ल्याडियटर्ससँग अनुबन्धित भएका छन् । पुबुदुको नियुक्तिसँगै टोलीका कप्तान शरद भेषावकरले आफू निकै उत्साहित रहेको अभिव्यक्ति दिएका छन् ।

शरदको कप्तानीमा रहेको भैरहवा पछिल्लो दुवै सिजन फाइनलमा पराजित भएको थियो । उनले पुबुदुको आगमनसँगै टोलीले अब उपाधि जित्ने आशा व्यक्त गरे । ‘ पुबुदु सरको नियुक्ति नेपाली क्रिकेटको इतिहासमा नै टर्निङ प्वाइन्ट बन्यो । नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण योगदान दिएका र म जस्ता निकै खेलाडीको करीअर बदलेका व्यक्तित्व हाम्रो साथ हुनेछन्,’ उनले थपे, ‘ हामीसँग पछिल्लो दुई सिजनको उपविजेता ट्रफी छ । अब पुबुदु सरको आगमनले नै हामीलाई फाइनल जित्दै उपाधि दिलाउनेछ ।’

भैरहवाले जारी गरेको विज्ञप्तीमा पुबुदुले भनेका छन्,’म भैरहवासँग जोडिन निकै उत्साहित छु । नेपाल सधै मेरो मुटु नजिक छ । नेपाली क्रिकेटलाई पुन हेर्ने मौका दिएकोमा धन्यवाद । मैले नेपाली क्रिकेटलाई आफ्नो स्थानबाट सक्दो प्रयास गर्नेछु’।

पुबुदुको आगमनले फे्रन्चाइज लिगमात्र नभएर सम्पूर्ण नेपाली क्रिकेटलाई योगदान पुग्ने भैरहवाका मालिक आदित्य सांघाईको विश्वास छ।’ पुबुदुका रुपमा नेपाली क्रिकेटको लेजेन्डलाई टोलीमा समावेश गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौं । हामीलाई विश्वास छ पुबुदुको आगमनले हाम्रो टोली मात्र नभएर नेपाली क्रिकेटलाई फलदायी हुनेछ । उनको आगमनले युवा प्रतिभाको पहिचान हुँदै राष्ट्रिय टोलीमा सहयोग पुग्नेछ’, सांघाईले भने ।

भैरहवाका मालिक आदित्य सांघाई
पुबुदु नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक मानिन्छन् । सन् २०११ देखी २०१५ सम्म जिम्मेवारी सम्हाल्दा उनले नेपाललाई डिभिजन ४, ३ र २ को उपाधि जित्नुका साथै पहिलो पटक सन् २०१४ मा टि२० विश्वकप पुर्याएका थिए । चौथो संस्करणको ईपीएल आगामी फेबुअरी २९ देखि मार्च १४ सम्म आयोजना हुँदैछ ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button