ईश्वरराज ढकाल, काठमाडौं।काठमाडौं महानगरभित्रका गाईबस्तु ट्याकिङ गरी माइक्रो चिप्स जडान शुरू भएको छ। काठमाडौं महानगरपालिकाले गएको साउन २५ गतेदेखि ३२ वडाबाट चिप्स लगाउन शुरू गरेको हो।
छाडा पशुचौपायको पहिलो प्राथमिक उपचार (आफा) नेपालको प्राविधिक सहयोगमा कामपाले सबै वडामा रहेको गाई, गोरुलगायत चौपायामा चिप्स जडान शुरू गरेको हो। जर्मन प्रविधिबाट बनेको सो चिप्स गाई र गोरुको देब्रे कानमा लगाइन्छ। झट्ट हेर्दा चिप्स जडान गरेको हो वा होइन भन्ने विषयमा कसैलाई पनि जानकारी हुँदैन।
आफा नेपालकी संयोजक शोभा शाक्यले ३२ वडामा मात्र २ सय ३० चिप्स जडान गरिएको जानकारी दिनुभयो। उहाँले आज बुधबारबाट ३१ वडामा चिप्स जडान कार्य शुरू गर्ने बताउनुभयो। सबै वडामा गाई र गोरुमा चिप्स जडान गरेपछि सफ्टवेयर निर्माण गरी मोबाइल एप्समार्फत गाईबस्तुको सम्पूर्ण विवरण जानकारी लिन सकिन्छ।
गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ। कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्षभित्र सबै गाईबस्तुलाई चिप्स जडान गरिसक्ने जानकारी दिनुभयो।
कामपाले पहिलो चरणमा गाईपालक किसानको घरमा गएर गाईको विवरण संकलन गरेपछि मात्रै चिप्स लगाउने गरेको छ। पशु चिकित्सक, प्राविधिक र आफाका चार जनाको प्राविधिक टोलीले गाई र गोरुको विवरण संकलन गरी चिप्स जडान गरिरहेको छ।
आफाकी संयोजक शाक्यले चिप्स जडान गरेपछि जग्गा वा घर भाडामा लिएर गाई पालेको रहेछ भने घरधनीको नाम, गाईको उमेर, पालक र धरधनीको फोन नम्बर, बाच्छो वा बाच्छी भए उनीहरूको उमेर, दुधालु गाईको दूधको परिमाणसमेत जानकारी लिन सकिने बताउनुभयो।
छाडा गाईबस्तुका कारण सवारी दुर्घटना बढ्न थालेपछि नयाँ प्रविधि प्रयोग गर्न लागेको नगर प्रहरीप्रमुख सापकोटाले जानकारी दिनुभयो। अहिले कामपाले राजधानीको विभिन्न स्थानबाट गाई पक्रेर लिलाममा बिक्री गरिरहेको छ। अब घरमा पालिएका सबै गाई र गोरुमा चिप्स जडान गरेपछि गाईधनीले बाटोमा वा कतै गाई छाड्दा सजिलै गाईधनी पत्ता लगाएर कारबाही गर्न सकिन्छ।
कामपाका प्रवक्ता ईश्वरमान डंगोलले बाटोमा छाडा चौपाया बढेपछि गाईबस्तुलाई ट्याकिङ गरी चिप्स जडान गर्न थालेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘बूढो भएपछि बाटोमा गाईगोरु छाड्ने प्रवृत्तिलाई रोक्न महानगरभित्र पालिएका सबै गाईगोरुमा चिप्स जडान गर्न शुरू गरेका हौं।’
‘चिप्स जडान गरेपछि गाई मरेमा वा बिक्री गर्नुपरे कामपालाई जानकारी दिनुपर्छ। यदि जानकारी नै नदिई गाई हराए वा मरेमा सम्बन्धित धनीलाई कारबाही गर्नेछौं।’ –प्रहरी प्रमुख सापकोटाले स्पष्ट पार्नुभयो। गएको साउन १५ गते सम्झौता भएलगत्तै काम शुरू गरेको संस्थाले पहिलो चरणमा दुई महिनासम्म काम गर्नेछ।
त्यसलगत्तै दोस्रो चरणको काम शुरू गर्नेछ। नगर प्रहरी प्रमुख सापकोटाले अबको ६ महिनाभित्र महागरका सबै गाईमा चिप्स जडान गरिसक्ने दाबी गर्नुभयो। चिप्स जडान गरेपछि तयार हुने सफ्टवेयरमा घरधनीको नाम, कसले कहाँबाट गाईबस्तु बाटोमा छाडेको हो भन्ने विषयमा समेत सजिलै जानकारी हुनेछ।
कामपाको तथ्यांकअनुसार करिब १ हजारको हाराहारीमा घरमा पालिएका गाईबस्तु छन्। अब गाईले बच्चा जन्माएलगत्तै त्यसको जन्मदर्ता गर्ने व्यवस्थासमेत गर्न लागिएको सापकोटाले बताउनुभयो। जन्मदर्ता भएलगत्तै गाईधनीलाई जन्मदर्ता प्रमाणपत्र दिने र सोही आधारमा चिप्स जडान गरिने सापकोटाको भनाइ छ।
चिप्स जडान गरेपछि गाईको सम्पूर्ण रेकर्ड कामपासँग हुनेछ। कामपाले चिप्स जडान गरेपछि उनीहरू कुन स्थानमा कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा समेत अनुसन्धान गरिने बताइएको छ। ‘यदि गाईबस्तुको जन्मदर्ता नगरे महानगरले उपलब्ध गराउने सुविधाबाट वञ्चित गर्ने गरी कडा व्यवस्था ल्याउनेछौं।’ –सापकोटाको भनाइ छ।नेपाल समाचारपत्रबाट ।