खेलकुद

नवौं सागमा स्वर्ण जित्नु नै सबैभन्दा खुसीको क्षण

दीपक श्रेष्ठ दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई स्वर्ण जित्ने पहिलो नेपाली कराँते खेलाडी हुनुहुन्छ। १९९९ मा नेपालमा र २००४ मा पाकिस्तानमा आयोजना भएको क्रमशः आठौं र नवौं सागमा श्रेष्ठले स्वर्ण पदक जित्नुभएको थियो। यसपछि श्रेष्ठ नेपालकै उत्कृष्ट खेलाडीमध्येमा पर्नुभयो। कराँतेमा उहाँको स्तरमा अहिलेसम्म कोही खेलाडी आउन सकेका पनि छैनन्। त्यो समयको कराँतेको स्वर्णिम युग थियो। तर, हाल कराँते खस्किरहेको छ। यसलाई उत्थान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पदमा समेत रहनुभएका श्रेष्ठ प्रयासरत हुनुहुन्छ। नेपालमा कराँतेको विकास कमजोर बनिरहेकोमा उहाँले नयाँ खेलाडी उत्पादन गर्ने सोच बनाउनुभएको छ। खेलाडी र प्रशिक्षक करियर सँगसँगै लानुभएको उहाँले कराँतेसँग अहिलेसम्म पनि आफूलाई भिन्न राख्नुभएको छैन। उहाँ अझै पनि कराँतेलाई कसरी हुन्छ उत्थान गर्न लागिरहनुभएको छ। यस्तै कराँतेका विभिन्न विषयबारे उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले लिएको कुराकानीको सार संक्षेप ः

तपाईंको फुटबलबाट कराँतेमा कसरी करियर बन्न पुग्यो ?

त्यति बेला परिस्थितिले गर्दा मैले फुटबल छाड्नुपरेको थियो। मैले १२ वर्षको उमेरमै फुटबल खेलेको थिएँ। मलाई काकाले एउटा चिजमा लाग भन्दै थ्रीस्टार क्लबमा पुर्याउनुभएको थियो। मैले सिनियर टोलीसँग प्रशिक्षण लिएँ।

उहाँहरूले जे–जे गर्नुहुन्छ मैले पनि त्यसै गर्ने गर्थें। ३ महिना प्रशिक्षण गरें। म राम्रै खेलाडीमा गनिन्थे। तर, बीचैमा मलाई टाइफाइड भयो। यसपछि आमालाई मेरो स्वास्थ्यको चिन्ता भयो। उहाँले मलाई फुटबल खेल्नु पर्दैन भनेर खेल्न पठाउनु भएन। आमाको वचन मैले टार्न सकिनँ। यहींबाट फुटबल छाड्नुपरेको थियो र पछि कराँतेतिर लागें।

फुटबल खेलाडी शुरू–शुरूमा कराँतेमा जान कति अप्ठ्यारो भयो ?

अप्ठ्यारो त भएन। मैले थ्रीस्टारमा फुटबल खेल्ने र प्रशिक्षण लिने क्रममा सिनियर खेलाडीले कराँते पनि खेल्ने गर्नुहुन्थ्यो। म पनि उहाँहरूकै साथमा कराँते सिक्न जाने गर्थें। त्यहीं मीनकृष्ण दाइले मेरो प्रशिक्षण निहालिरहनुभएको थियो। ममा मीनकृष्ण दाइले के देख्नुभयो कुन्नि ?

मलाई उहाँले रंगशालामा कराँते सिक्न पठाउनुभएको थियो। त्यहाँ मलाई उहाँले कराँते प्रशिक्षक राजेश जोशीलाई जिम्मा लगाउनुभयो। उहाँले पनि मलाई तिम्रो ठाउँ यहाँ होइन भन्दै सिनियर खेलाडी हेरिरहनुभएका हीरासिंह डंगोलकहाँ लानुभयो। म त्यति बेला हाफ ग्रिन बेल्टमा थिएँ। हीरा गुरुसँग मैले प्रशिक्षण लिएपछि म लगनखेल डोजोका नम्बर एक खेलाडी बन्न सफल भएँ।

राष्ट्रियस्तरमा मार्सल आट्र्स जस्तो खेलमा जम्न कति सजिलो वा गाह्रो भयो ?

मैले २०५१ सालदेखि नियमित कराँते खेल्न थालेको थिएँ। म जिल्ला, क्षेत्रीय गरी राष्ट्रियस्तरको खेलाडी बनें। मसँगै कराँतेमा लागेकाहरू कोही कता कोही कता छन्। व्याकुल माइला, केदार घिमिरे मेरा समकालीन साथी हुन्।

तर, मैले प्रतियोगिता जित्दै गएपछि कराँतेमा मलाई स्थापित गरायो। सजिलो भनेर सजिलो पनि भएन। गाह्रो भनेर गाह्रो पनि भएन।

तपाईंले छिटै प्रशिक्षकको भूमिका पनि लिनुभयो त ?

पहिला त मैले जिल्ला, क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको थिएँ। यसैमा मलाई महिनाको ५ सय रुपियाँ पनि दिन थालियो। राम्रै भएर होला २०५४ सालमा मैले राष्ट्रिय खेलकुद परिषद्मा सहायक प्रशिक्षकमा नियुक्ति पाएँ।

प्रशिक्षकमा यसरी करियर बन्यो। तर, प्रशिक्षक भनेर सिकाउने मात्रै होइन मैले खेलाडी करियर पनि सँगै लगेको थिएँ। आफ्नै चेलासँग समेत मैले प्रतियोगितामा सहभागिता जनाएर पदक जितेको थिएँ।

राम्रै भएर होला २०५४ सालमा राष्ट्रिय खेलकुद परिषद्मा सहायक प्रशिक्षकमा नियुक्ति पाएँ। प्रशिक्षकमा यसरी करियर बन्यो। तर, प्रशिक्षक भनेर सिकाउने मात्रै होइन मैले खेलाडी करियर पनि सँगै लगेको थिएँ। आफ्नै चेलासँग समेत मैले प्रतियोगितामा सहभागिता जनाएर पदक जितेको थिएँ।

अन्तर्राष्ट्रिय करियर कहिलेदेखि शुरू भयो त ?

अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न मलाई धेरै समय लागेन। ५१ सालदेखि नियमित खेलेकोमा ५४ सालमा (१९९७) मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए। जुन मकाउमा भएको तेस्रो एसियाली कराँते प्रतियोगिता थियो। म पहिलो अन्तर्राष्ट्रिय खेलमा सेमिफाइनलसम्म पुगें। तर, यसले पनि मलाई कराँतेमा भिज्न ऊर्जा प्रदान गर्यो।

तपाईं १९९८ को एसियाली खेलकुदमा किन छनोट हुन सक्नुभएन ?

यसमा एउटा रोचक घटना थियो। बैंककमा भएको १९९८ एसियाली खेलकुदमा छनोट हुन मैले आफ्नै गुरु हीरासिंह डंगोललाई एक अंकले हराएर क्षेत्रीय छनोटमा पुगेको थिएँ। मैले आफ्नै गुरुलाई हराएर छनोट भएपछि मलाई पक्का विश्वास थियो कि मैले एसियाली खेलकुद खेल्नेछु।

तर, त्यस्तो भएन। मसहित तीन खेलाडीबीच राउन्ड रोबिन प्रतिस्पर्धा भयो। जसमा म समरबहादुर गोलेसँग अंकको आधारमा हार्न पुगें। म छनोट हुन सकिनँ र समरले सो एसियाली खेलकुद खेलेका थिए।

उहाँले कांस्य पदक जितेपछि तपार्इंलाई पछुतो भएन त ?

भयो नि। मैले ठूलै मौका गुमाएको मनमा भयो। समाचारमा समरले कांस्य पदक जितेको सुन्दा मलाई एक किसिमले छटपटाहट नै भएको थियो। छनोटमा मैले किन मेहनत गर्न सकिनँ।

एक किसिमले मलाई ईख पनि भयो। म भएको भए मैले पनि एसियाली खेलकुदमा पदक जित्थें होला भन्ने मनमा भयो। यहींबाट मलाई कराँतेमा अझ केही गरेर नाम कमाउने इच्छा भएको थियो। त्यसपछि निकै मेहनत गर्न थालें। नभन्दै चौथो राष्ट्रिय खेलकुदमा मैले स्वर्ण जितें।

समरलाई समेत हराएर स्वर्ण जितें। १९९९ मा नेपालमै भएको आठौं सागमा पनि मैले स्वर्ण जितें। यो मेरो लागि निकै खुसीको क्षण बन्यो। तर, सबैभन्दा खुसी त नवौं सागमा स्वर्ण जित्दा लाग्यो। यो मेरा लागि अविस्मरणीय क्षण हो।

अविस्मरणीय भन्नाले ?

नवौं साग २००४ मा पाकिस्तानमा भएको थियो। त्यहाँ नेपालले एक स्वर्ण पनि नजित्ने अवस्था सिर्जना भएको थियो। कराँतेको नौ विधामा स्वर्ण जित्ने नेपाली खेलाडी म एक्लो थिएँ। यो नै नेपालका लागि एउटै मात्र स्वर्ण पनि थियो। नेपालको इज्जत धान्न सफल भयो।

अर्को म नेपालमा चर्चित पनि बनिसकेको थिएँ। तर, यो कुरा म नेपाल आइसकेर मात्रै थाहा भयो। म त पत्रपत्रिका र टिभी सबैतिर छाइसकेको थिएँ। विमानस्थलमै मलाई न्यानो स्वागत पनि भयो। कराँतेले नेपालको इज्जत धान्न सकिएकोमा म अति खुुसी भएँ। यो मेरा लागि अविस्मरणीय क्षण बन्यो।

१०औं सागमा तपाईंको प्रदर्शनमा गिरावट आएको हो त ? तपाईंले श्रीलंकामा पदक जित्न सक्नुभएन।

श्रीलंकामा भएको १०औं साग मेरा लागि करियरमै एकदम पीडादायकको क्षण बनेको थियो। यसमा मैले स्वर्ण जितेर वैकुण्ठ दाइले झैं सागमा ह्याट्रिक गर्न सोच लिएको थिएँ। म सबै कुराबाट पोख्त थिएँ। राष्ट्रिय टोलीका कप्तान थिएँ। त्यहाँ तीन जना खेलाडीमाथि स्वर्णको आश गरिएको थियो।

तेक्वान्दो खेलाडी संगिना वैद्य, दीपक विष्ट र म। मेरो पहिलो खेल नै आयोजकसँग भएको थियो। जसमा रेफ्रीले घरेलु खेलाडीको पक्ष लिएर मलाई अंक दिएनन्। त्यहाँ मलाई रेफ्रीले जानाजान हराएका थिए।

त्यहाँ विरोध गर्नुपर्ने होइन त ?

खेलमा निकै धाँधली भएको थियो। हिर्काउँदा पनि अंक नआएपछि मैले थाहा पाएँ अब खेलेर काम छैन। मैले बीचमै खेल छाडिदिएँ। मलाई पराजित घोषित गरियो। तर, हाम्रा मेनेजरले यसमा कुनै विरोध पनि गर्नुभएन। मैले निर्णयको विरोधस्वरूप २ घन्टा म्याटमै बसिरहें। मैले अर्को खेल गर्नै दिएन। पछि मलाई कारबाही गर्छु भन्यो। आयोजकसँग म एक्लैले विरोध गरिरहें। पछि सेफ द नेसन जीवनराम दाइ आउनुभयो र एसियन गेम्स बाँकी छ भनेर मलाई मनाउनुभएको थियो।

मैले रिसमा आइस प्याकले समेत हिर्काएको थिएँ। यसपछि मलाई सुरक्षाकर्मीले समेत घेरेका थिए। त्यो क्षण पीडादायक नै भएको थियो मलाई। त्यतिखेर नै मलाई कराँतेका विश्व च्याम्पियन फ्रान्सका एन्जेलो स्पाटारोको भनाइ सम्झना भयो।

१९८४ देखि लगातार विश्व च्याम्पियन बनेका उनले कराँतेबारे यसो भनेका थिए– ‘हामी खेलाडीले जतिसुकै राम्रो खेले पनि निर्णय गर्ने त निर्णायकले नै हुन्। यो कराँते खेल फन्टुस रहेछ।’ उनले यसो भन्दै कराँते छाडेर पछि तेक्वान्दोमा पनि आफ्नो सफल करियर बनाएका थिए।

तपाईं त बिरामी अवस्थामा पनि दोहा एसियाली खेलकुद–२००६ मा खेल्नुभएको थियो। यस्तो जोखिममा किन खेल्नुभयो ?

त्यो एसियाली खेलकुदमा पदक जित्न भनेर मैले निकै मेहनत गरेको थिएँ। तर, भनेजस्तो भएन। मलाई बीचैमा जन्डिसले छोयो। जन्डिस निको भएको पनि थियो। कमजोरी त भएँ जन्डिसले गर्दा। तर पनि मैले त्यहाँ सेमिफाइनलसम्म पुगें। सेमिफाइनलमा चाइनिज ताइपेईका खेलाडीसँग २ मिनेट ३० सेकेन्डसम्म म अगाडि थिएँ।

हाम्रा टोली मैले पदक ल्याउने भएँ भनेर नाचिरहेका थिए। तर, मैले बाँकी ३० सेकेन्ड होल्ड गर्न नसक्दा खेल गुमाएँ। मलाई अहिले पनि यो क्षण सम्झ्यो भने नमज्जा लाग्छ। मैले किन ३० सेकेन्ड होल्ड गर्न सकिनँ। मैले जितेको भए फाइनल पुग्थें र पदक पक्का हुने थियो।

सरकारले नयाँ एकेडेमीको व्यवस्था गरिदिएको छ। सोही एकेडेमीमा होस्टलको व्यवस्था गरेर नयाँ खेलाडी उत्पादन गर्ने प्रस्ताव राखेको छु। वार्षिक १० जनालाई प्रशिक्षणका साथ १२ कक्षासम्म पढाएर त्यहीं खाने र बस्ने व्यवस्था गर्ने प्रस्ताव पेस गर्दै छु।

तुलना गर्दा तपाईंको पालामा र अहिलेको स्थितिमा नेपाली कराँते कहाँ छ ?

हाम्रो पालामा एउटै संघ थियो। प्रतिस्पर्धी धेरै थिए। व्यवस्थित ढंगले चल्थ्यो। एकैठाउँमा प्रशिक्षण हुन्थ्यो र सबैमा खेल भावना र समर्पण पनि थियो। यसले गर्दा खेलाडीले राम्रो नतिजा पनि ल्याउँथे। त्यसपछि केही समय राजनीतिक उथलपुथल, करिब ८–१० वर्ष दुई कराँते संघमा चल्यो।

पहुँचवालासँग सरोकार राखेर खेलाडी विदेशमा खेल्न जाने भए। यसले गर्दा प्रशिक्षण किन गर्नुपर्यो ? भन्ने नराम्रो सोच पनि विकसित भयो। जतिसुकै विकास गर्न खोजे पनि कराँते माथि उठ्न सकेन। अहिले त एउटै संघ भइसकेको छ। कराँते फेरि पुरानै लयमा आउँछ भन्ने लागेको छ।

करिब ३० वर्ष खेल जीवनमै बिताउनुभएको तपार्इंले के पाउनुभयो र के गुमाउनुभयो ?

कराँतेले मेरो जीवनको अनुहार नै फेरिदिएको छ। कराँते खेलेर जीवन निर्वाह गर्नु भनेको नेपालमा ठूलै कुरा हो। मैले जागिर पाएँ, विभिन्न पुरस्कार र सम्मान पाएँ। सागमा गोल्ड मेडल पाएर नाम चर्चित भयो। गुमाउनु भनेको पढाइ स्वाट्टै छुट्नु हो। खेलेर पढ्नु भनेको मुस्किलकै कुरा थियो त्यति बेला।

राज्यबाट तपाईंले के–के पाउनुभयो ?

जति पाउनुपर्नेत्यति पाइनँ। ५ वर्षअघि युवा प्रतिभावान् पुरस्कारमा १ लाख पाउनुबाहेक राज्यबाट मैले खासै सहयोग पाइनँ। एक निजी संस्थाले मलाई ट्रिपर दिएको थियो। मैले ट्रिपर बेचेर जग्गामा लगानी गरें र घर बनाएँ। त्यति हो।

प्रोत्साहन नहुँदा बेकारमा कराँते खेलियो भन्ने पनि लाग्यो कि ?

त्यस्तो छैन। राज्यले प्रोत्साहन नगर्दा पनि मेरा समर्थक, साथी परिवारले मलाई भरपुर सहयोग गर्नुभएको छ। यसले असन्तोष हुने ठाउँ पनि भएन।

म एक निम्नस्तर परिवारबाट आएको खेलाडी यति माथिसम्म पुग्नुलाई मैले ठूलै सफलता मानेको छु।

अर्कोतिर देश–विदेशमा खेल्न पाएँ। खेलाडी भएकै कारण मैले विभिन्न राष्ट्रमा गएर खेल्न पाएँ।

तपाईंलाई अमेरिकामै कोच बन्न प्रस्ताव पनि गरिएको थियो, तपार्इंले किन छाड्नुभयो यस्तो राम्रो प्रस्ताव ?

हो, मलाई अमेरिकामा बस्न प्रस्ताव आएको थियो। त्यो २००५ को कुरा थियो। म लास भेगासमा खेल्न जाँदा त्यहींको प्रतियोगिताका आयोजकले मलाई प्रस्ताव राखेको थियो त्यतै कोच बन्न। मलाई त्यहाँ बस्न मन लागेन।

जे गर्छु नेपालमै गर्छु भनेर त्यो प्रस्तावलाई विचार गरौंला भनेर टालिदिएँ। त्यसपछि अहिले १४ वर्ष बितिसक्दा पनि मलाई विदेशमा बस्ने कुनै मोह छैन। भविष्यमा के होला त्यो भन्न सकिँदैन।

भविष्यमा के गर्ने विचार छ ?

कराँतेलाई उत्थान गर्न मैले एउटा योजना बनाएको छु। जुन योजना सफल भएमा मेरो सपना पूरा हुनेछ। मैले एन्फाले जस्तै कराँतेको एउटा एकेडेमी खोल्ने विचार गरेको छु। सरकारले नयाँ एकेडेमीको व्यवस्था गरिदिएको छ। सोही एकेडेमीमा होस्टलको व्यवस्था गरेर नयाँ खेलाडी उत्पादन गर्ने मैले प्रस्ताव राखेको छु।

वार्षिक १० जनालाई प्रशिक्षणका साथ १२ कक्षासम्म पढाएर त्यही खाने र बस्ने व्यवस्था गर्ने प्रस्ताव पेस गर्दै छु। यसको सम्पूर्ण जिम्मा म आफैंले लिनेछु। यस्तो प्रस्तावको निवेदन पेस गरेर यदि पास भएमा मैले भविष्यमा राम्रा कराँते खेलाडी उत्पादन गर्नेछु। मलाई विश्वास छ। प्रस्ताव पास हुनेछ।नेपाल समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button